नेपाल–भारतबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड «

नेपाल–भारतबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड

लखनउ-उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतको व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएका छन् । उनले नेपाल–भारतबीच हालसम्मको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री कार्यालय लखनउमा भेट गर्दै उनले भारतले नेपाललाई समृद्ध र विकसित देख्न चाहेको बताए ।
उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको जनाउँदै हालै मात्र उनले त्यसका लागि आवश्यक निर्देशन समेत दिइसकेको बताए ।
नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइ कम गर्न आफ्नो सरकारले काम थालेको उनले बताएका छन् ।
“भैरहवा, नेपालगन्जदेखि पश्चिम गौरीफन्टासम्म म आफैं पुगेर त्यहाँ भइरहेको विकास तथा व्यपार सहजीकरणको काम अनुगमन गर्नेछु । नेपाल भारत बीच अब व्यावसायिक सम्बन्ध बढाउँदै जानुपर्छ,” नेपाली प्रतिनिधिमण्डले राखेका समस्याको जवाफ दिँदै मुख्यमन्त्री योगीले भने ।
भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी १० मिनेटभन्दा बढी रोकिन नहुने उनको भनाइ थियो । साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने पनि उनले बताए ।
नेपालको पर्यटन विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै योगीले नेपालगन्ज–कैलाश तीर्थ यात्राको विकासका लागि आवश्यक सहयोग गर्ने वचन दिए । “नेपालगन्ज–कैलाशमार्ग बलियो बनाउनुस्, आवश्यक सहयोग गर्न हामी तयार छौं,” उनले भने ।
त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पु¥याउनका लागि आवश्यक प्रवर्दन गर्ने वचन दिँदै योगीले आगामी सिजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्तासमेत स्वीकार गरे ।
नेपाल–भारतबीचको व्यावसायिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन प्रतिनिधिमण्डलको आदान–प्रदानलाई अझ घनीभूत रूपमा अगाडि बढाउनु आवश्यक रहेको उनले बताए ।
महासंघका अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उसको साथ खोजेको बताइन् । “नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ । त्यसैले दुई मुलुकबीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान–प्रदान हुन आवश्यक छ । खासगरी नेपालको मध्यतथा सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामी उत्तर प्रदेश सरकारको सहयोग अपेक्षा गरेका छौं,” उनले भनिन् ।
महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीयप्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो । प्रतिनिधिमण्डलमा महासंघका कार्यसमिति सदस्य कृष्णप्रसाद श्रेष्ठ, महासंघका सुदूर पश्चिमका अध्यक्ष शंकरबहादुर बोगटी, महासंघका प्रदेश ५ का उपाध्यक्ष दिपककुमार पौड्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, होटल संघ नेपालका कार्यकारी सदस्य अशितसमसेर जबरा महासंघका सहायक निर्देशक अरुणकुमार श्रेष्ठ तथा अन्य उद्योगीव्यवसायी र पत्रकारहरू रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्