अविरल वर्षा र बाढीपहिरोबाट जनजीवन प्रभावित «

अविरल वर्षा र बाढीपहिरोबाट जनजीवन प्रभावित

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिसकेको छ । नेपालमा पनि यसको असर दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । सुरुवाती चरणको कोरोना भाइरसभन्दा दोस्रो लहर अझै बढी खतरनाक र प्रभावित भएको प्रमाणित भइसकेको छ । स्वास्थ्य क्षेत्रबाट सुरु भएको महामारीको प्रभाव मानवीय र आर्थिक संकटमा परिणत हुँदै छ । तर, यसको नियन्त्रण र रोकथामको तयारीमा सरकार जुन रूपमा लाग्नुपर्ने थियो, त्यो हुन सकेको छैन । कोरोनाको सन्त्रास खेप्नुपरेको पीडा एकातर्फ छ भने अहिले बदलिँदो हावापानी तथा मौसम र देशभर भइरहेको अविरल वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढीपहिरो गइरहेका कारण जनताले अत्यधिक पीडा र क्षति दुवै सहनुपरिराखेको छ ।
प्रत्येक वर्षायामको समयमा पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानले गर्दा धनजनको क्षति भई हजारौँ नेपालीले दुःखद स्थिति बेहोर्नुपरेको डरलाग्दो अवस्था हाम्रोसामु छर्लङ्गै छ । विगतको वर्षभन्दा यस वर्ष वर्षा बढी हुने भनेर मौसमविद्हरूले जनाइसकेका छन् । तीन–चार दिनयता देशभर परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले विभिन्न जिल्लामा वितन्डा मच्चाएको छ । बाढीपहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी, रसुवामा भौतिक संरचनाहरूमा धेरै क्षति भएको छ । अधिकांश जिल्लामा बाढीपहिरोले सडक बगाएको छ । निरन्तरको वर्षाले तटीय क्षेत्रमा डुबान र कटान तथा उच्च भागमा पहिरोको जोखिम देखिएको छ । लगातार भइराखेको वर्षाका कारण देशका विभिन्न नदीहरू जस्तै बुटवलको तिनाउ र नारायणी नदीमा आएको बढ्दो पानीको बहावको कारण त्यस क्षेत्रको वरपरको क्षेत्र प्रभावित भएको छ । त्यस्तैगरी मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजार पूरै डुबानमा आएको र धनजनको क्षति भएको विभिन्न सामाजिक सञ्जालहरूमार्फत देख्न सकिन्छ । यसरी आएको बाढीपहिरोका कारण कैयौं मानिसले आफ्नो घर–परिवार, गाईवस्तुहरूलगायत सम्पूर्ण चिज गुमाएका छन् भने कैयौं मानिस बेपत्ता छन् । पहिरोका कारण घरहरू पुरिएर, रूखहरूले थिचेर, पहाड तथा ढिस्कोले पुरिएर र भागाभाग गर्ने क्रममा समेत कैयांै मानिस तथा गाईवस्तुहरूसमेत पुरिएर मरेको समाचारहरू पनि सुन्नमा आइराखेको छ ।
आफ्नै अाँखाअगाडि सबथोक गुमाउँदा पनि प्रकृतिको यस्तो कठोरतालाई स्विकार्नेबाहेक हामीले केही गर्न सकेका छैनौं । विगतको वर्ष पनि यस्तै भीषण बाढी र पहिरोका कारण कैयौँ नेपालीले ज्यान गुमाए । तर, सरकारले समयमा नै यसको व्यवस्थापन अझै गर्न सकेको छैन । यो वर्षायाममा सम्भावित बाढीपहिरो र डुबानबाट पीडित नागरिकलाई राख्न अहिले नै छुट्टै सेल्टरको स्थापना गरिनुपर्छ । किनभने देशभरि सरकारी तथा गैरसरकारी संघसंस्थाका भौतिक संरचना कोभिड–१९ का लागि क्वारेन्टाइनमा प्रयोग गरिएकाले प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई राख्न अस्थायी सेल्टरको छुट्टै आवश्यकता पर्छ । बाढी–पहिरो आउँदा ब्युँतिने र अन्य समयमा यसको रोकथाम र नियन्त्रणका लागि खासै पूर्वतयारी नगर्ने हाम्रो प्रवृत्तिले गर्दा पनि नेपाली जनताले बर्सेनि यस्तै नियति भोग्नुपर्ने हो ।
त्यसै त कोरोनाले थला पारेको हाम्रो देशको अर्थतन्त्र र जनता, त्यसमाथि यस्तो विपत्तिका कारण जनताले अत्यधिक सास्ती खेप्नुपरिराखेको छ । बाढीपहिरो नगएका ठाउँहरूमा पनि वर्षाका कारण दिनहुँ ज्याला–मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्ने मानिसहरूलाई काम गर्न असहज भएको छ । देशमा भूकम्प होस् या कोरोना, बाढी आओस् कि पहिरो जाओस् जुन माध्यमबाट पनि मारमा पर्ने भनेको सोझा जनता नै हुन् ।

प्रतिक्रिया दिनुहोस्