‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ सम्पन्न «

‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ सम्पन्न

काठमाडौं-गत शुक्रबार ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेको निक इलेक्ट्रो टेक–२०१८ मेला सम्पन्न भएको छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित सुरु भएको पाँचदिने मेलामा ८० हजारभन्दा धेरै जनाले अवलोकन गरेका छन् ।
मेलाको अन्तिमा दिन उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यसमिति सदस्य जय सिवाकोटी, लायन्स क्लबका लिडर ला. बालकृष्ण बुर्लाकोटीलगायत विशिष्ठ व्यक्तिहरूले अवलोकन गरेका थिए ।
मेला अवधिभरमा ऊर्जामन्त्री वर्षमान पुन, श्रीलंकाका राजदूत स्वर्णलता परेरा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङका साथै उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले अवलोकन गरे ।
नेपाल इकरात इन्जिनियरिङ (निक) ले टाइटल स्पोन्सर गरेको निक इलेक्ट्रो टेक– २०१८ मेलामा राष्ट्रिय एवं अन्तर्राट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूका नविनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यससम्बन्धी जानकारी अद्यावधिक गराउने उद्देश्यसहित सञ्चालित प्रदर्शनीमा यसपटक ७७ वटा स्टल थिए ।
मेलामा ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको थियो ।
अवार्ड वितरण तथा समापन कार्यक्रम
मेलामा सहभागिता जनाएका कम्पनीहरूलाई उत्साहा स्वरूप पुरस्कृत पनि गरिएको थियो । यसमा नेपाली उद्योग, विदेशी ब्रान्ड र स्वदेशी ब्रान्ड विदेशी उत्पादित गरी तीन विधामा पुरस्कार वितरण गरिएको थियो ।
अवार्ड वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशमै विद्युतीय सामग्रीहरूको उत्पादन गर्ने उद्योगहरू स्थापना हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विशेष अतिथि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले यस्तो मेलाले स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने बताउनु हुँदै निरन्तरता दिन आग्रह पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्