पाँचतारे होटल ‘अलफ्ट’ मार्च महिनादेखि खुल्ने

काठमाडौं-पर्यटकीय क्षेत्र ठमेलमा ‘छायाँ सेन्टर’ सपिङ कम्पलेक्स सञ्चालनमा आएको छ । तोकिएको समयभन्दा ठीक एक वर्षपछि कम्पलेक्स सञ्चालनमा आएको हो । भूकम्प र भारतीय नाकाबन्दीका कारण एक वर्ष पछाडि धकेलिएको थियो । देशकै सबैभन्दा ठूलो कम्पलेक्स दाबी गरिएको सेन्टर मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । निर्माण सुरु भएको पाँच वर्षमा सम्पन्न गरिएको हो । कम्पलेक्सको निर्माण सन् २०१३ देखि सुरु गरिएको थियो ।
नेकपा एमालेका युवा नेता योगेश भट्टराईले मंगलबार एक कार्यक्रमकाबीच कम्पलेक्सको उद्घाटन गरेका थिए । छायाँ सेन्टरको उद्घाटन गर्दै नेता भट्टराईले ठमेलको मात्र नभई समग्र नेपालको पर्यटन विकासमा यसले टेवा पु¥याउने बताए । छायाँ सेन्टरको निर्माणले ठूला प्रोजेक्ट बनाउन विदेशीको मुख ताक्नु नपर्ने उदाहरण दिएको उनले बताए ।
“नेपालमा २० लाख पर्यटक भिœयाउनु पनि थोरै हो, नेपालमा अझ धेरै पर्यटकलाई भ्रमण गर्न मिल्ने पर्यटकीय क्षेत्र छन्, तर सडक यातायात, हवाई यातायात, होटल लगायत अन्य पूर्वाधारहरू नभएकै कारण २० लाख पर्यटक व्यवस्थापन गर्न पनि नेपाललाई चुनौती भएको छ,” भट्टराईले भने ।
‘ठमेलभित्रको ठमेल’ का रूपमा छायाँ सेन्टरलाई विकास गरिएको छायाँ सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । छायाँ सेन्टरमा ठमेलभित्र पाइने सबै सेवाहरू एकै ठाउँमा पाइने भएकाले यसलाई ‘मिनी ठमेल’ भनिएको पाण्डेले दाबीसमेत गरेका छन् ।
पाँचतारे होटल अलफ्ट पनि रहेको कम्पलेक्समा तीनवटा मल्टिप्लेक्स थिएटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सिमेनार हल, रिसेप्सन हल, रेस्टुराँ, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयलगायतका सुविधा छन् । कम्पलेक्समा २ सय ५० वटा पसल छन् ।
होटल भने आगामी मार्चदेखि सञ्चालनमा आउने छायाँ सेन्टरका प्रवद्र्धक सुमन पाँडले जानकार दिए । कम्प्लेक्सको पाँचौं तलादेखि १५ औं तलासम्म क्यासिनो सहितको होटल सञ्चालनमा आउने पाँडेले जानकारी दिए ।
होटलमा १ सय ६० वटा रुम छन् । क्यासिनो समेत होटलसँगै सञ्चालनमा आउने छ । जसका लागि मकाउको कम्पनीले सञ्चालनको जिम्म लिएको पाँडेले जानकारी दिए । झन्डै पाँच अर्ब रुपैयाँ लगानी भएको समेत उनले जानकारी दिए ।
सन् २०१३ बाट निर्माण सुरु गरिएको कम्पलेक्स ५ वर्ष समय लगाएर ५ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा ३०० भन्दा बढी गाडी पार्किङ क्षमता छ ।