इजरायलमा रोजगारीको आवेदन असारभित्र पुनः खुल्ने «

इजरायलमा रोजगारीको आवेदन असारभित्र पुनः खुल्ने

सरकारले रोजगारीका लागि इजरायल जाने नेपाली युवाका लागि असारभित्र अनलाइनमार्फत आवेदन लिने भएको छ । गत फागुनमैै आवेदन माग गर्ने गरी तयारी भए पनि छनोट कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन ढिलाइ भएपछि आवेदन लिने काम रोकिएको थियो ।
कोरोना संक्रमणका कारण रोजगारीका क्षेत्र संकुचित भएपछि आर्कषक मानिएको इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडीले कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लामो समय रहेपनि अहिले स्वीकृति अन्तिम चरणमा रहेका कारण अन्य प्राविधिक काम मिलाउने काम भइरहेको बताए । “आवेदन माग, भाषा परीक्षा र छनोटका प्राविधिक कामका लागि इजरायल पक्षसँग छलफल भइरहेको छ,” महानिर्देशक दवाडीले भने, “कमसेकम यो असारभित्रै अनलाइनमार्फत आवेदन माग सक्ने गरी काम भइरहेको छ ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारी सूचारु गर्न छनोट कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको लामो समयसम्म स्वीकृत नभएपछि यसको ४ महिना ढिलो भएको छ । पहिलो चरणमा ५ सयमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ ।
विभागले स्वीकृतिको चरणमा रहेको कार्यविधिका आधारमा अनलाइनमार्पmत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर केही दिनभित्र सूचना गरी गर्ने भएको तयारी पूरा गरेको छ । अनलाइन आवेदनको लागि आवश्यक पर्ने प्राविधिक काम ९० प्रतिशत सम्पन्न भएको छ ।
इजरायल र नेपालबीच असोजमा सम्पन्न श्रम सम्झौता र माघ ८ गते रोजगार व्यवस्थापनसम्बन्धी कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै आवेदनका लागि अनलाइन सेवा विस्तारको लागि विभागले तयारी अघि बढाएको हो । विभागले फागुनको ७ गतेसम्म आनलाइन आवेदन आह्वान गरिसक्ने बताएपनि कार्यविधिका कारण केही ढिलो भएको विभागले जनाएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयनमा लैजान पूर्वमहानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले यसअघि नै हस्ताक्षर गरिसकेका छन् ।
नेपाल र इजरायल सरकारबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकलाई केयरगिभरमा रोजगारीको अवसर दिने सम्बन्धमा विभिन्न चरणमा छलफल भइसकेका कारण विगतमा जस्तो बीचमा नै रोकिने सम्भावना छैन । नेपाल र इजरायलबीच विगतमा पाइलट प्रोजेक्टको रुपमा सम्झौता भएर नेपाली श्रमिक जाने गरेकोमा यो पटक दुई देशले आन्तरिक तयारीमा लागि कानुनसमेत बनाएका छन् ।
२ देशको सम्झौता अनुसार दीर्घकालीन वा जटिल चिकित्सास्थिति भएका, शारीरिक वा मानसिक अपाङ्गता भएका इजरायली नागरिक स्याहार सुसार गर्न हेरचाह केन्द्रमा नेपालीले रोजगारी पाउने छन् । इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय (पिवा) र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागले श्रमिकको भर्ना, छनोट र अन्य काम गर्ने गरी आवदन माग गरिँदैछ । इजरायलकोे छनोट, भर्ना र अन्य प्रक्रियामा निजी क्षेत्रको संलग्नता नहुने भएकाले त्यहाँ जाने नेपालीले हवाई टिकट, कल्याणकारी कोषको रकम, स्वास्थ्य परीक्षण आफ्नै खर्चले गर्नु पर्ने छ । इजरायलले नेपालबाट २ हजार श्रमिक लैजाने जनाएपनि पहिलो चरणमा ५०० नेपाली युवालाई रोजगारी दिने गरी आवेदन आह्वान गर्ने विभागले जनाएको छ ।
आवेदन दिने नेपालीको उमेर २५ देखि ४५ वर्ष, कम्तिमा पनि १.५ मिटर उचाई र कम्तिमा पनि ४५ केजी तौल हुनुपर्ने छ । रोजगारीमा जाने नेपाली युवाले तोकिएको तालिम प्राप्त संस्थाबाट कम्तिमा पनि तीन महिना अवधिको हेरचाह सम्बन्धी तालिम वा व्यवहारिक नर्सिङ्ग तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुँडेनी सम्बन्धी तालिम लिएकोे हुनुपर्नेछ । इजरायलको सम्बन्धित निकाय र लामो अवधिको हेरचाह केन्द्रमा सञ्चार गर्नका लागि अंग्रेजी भाषामा राम्रो ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।
तीन महिनाको हेरचाह सम्बन्धी तालीम पूरा गरेका आवेदकले कक्षा १२ पास गरेको हुनुपर्ने छ । यसैगरी एसईई तहको माध्यमिक शिक्षा पूरा गरी सरकारले तोकेको सम्बन्धित निकायबाट मान्यता प्राप्त र सुवरीवेक्षण गरिएको संस्थाबाट व्यवहारिक १५ महिनाको नर्सिङ्ग तालिम वा सामुदायिक औषधोपचार सहायक तालिम वा सुँंडेनी तालिम लिएको हुनुपर्ने छ । छनोट भएका नेपाली श्रमिकले रोजगारीका लागि गएपछि इजरायलको स्वास्थ्य मन्त्रालयले तोकेको खोप लगाएपछि मात्र कार्यक्षेत्रमा जान पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्