सहकारीमा आबद्ध महिलाद्वारा खाजा खर्च बचाएर ४० लाख रुपैयाँ बचत «

सहकारीमा आबद्ध महिलाद्वारा खाजा खर्च बचाएर ४० लाख रुपैयाँ बचत

नेपालगन्ज-बाँकेको राप्तीपारीको दुर्गम क्षेत्रमा पर्ने फत्तेपुरका गृहणी महिलाले खाजा खर्च बचाएर करिब ४० लाख रुपैयाँ बचत गर्न सफल भएका छन् ।
सहकारीहरूले गाउँ–गाउँमा गएर चुलोचौकोमा सीमित महिलाहरूलाई बचत गर्न सिकाएपछि सुन्दा पत्याउनै गाह्रो लाग्ने सो क्षेत्रका महिलाहरूले आफ्नो बचतलाई आयआर्जन कार्यमा लगाई यति ठुलो रकम जम्मा गर्न सफल भएका हुन् ।
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध फत्तेपुरका ८ सय ९९ जना गृहणी महिलाले करिब ४० लाख रुपैयाँ बचत गरेका हुन् ।
सहकारीमा मासिक, दैनिक र ऐच्छिक बचत गर्दै आएका उनीहरूले ९७ वटा बाख्रा र ३ सय ४५ वटा खसी बिक्री गरेर ३९ लाख ७३ हजार ३ सय ८९ रुपैयाँ आर्जन गरेको र सोही रकम बचत स्वरुप जम्मा गरेको सहकारीका व्यवस्थापक विद्या गुरुङले जानकारी दिइन् ।
उनले महिलाहरूले खाजा खर्च बचाएर सहकारीमा जम्मा गरेको रकमलाई विभिन्न प्रकारका आय आर्जन कार्यमा लगाएर बचत बढाउँदै ४० लाखसम्म पुर्याएको जनाइन् । गुरुङका अनुसार ती महिलाहरूका उपहार समूह र स्वावलम्बी समूह छन् । उपहारमा ४२ र स्वावलम्बीमा ५० जना सदस्य रहेका छन् । महिलाले सञ्चालन गरेको उक्त सहकारीले व्यवसाय संचालनका लागि महिला सदस्यलाई ऋण प्रदान गर्ने र बजारीकरणमा सहयोग गर्दै आएको छ ।
सहकारीबाट ऋण लिएका महिलाले बाख्रा, भैँसी पालन र किराना व्यापार गर्दै आएको सहकारीका अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले जानकारी दिएकी छन् । सो सहकारीको २५ लाख २१ हजार सेयर पुँजी रहेको उनले बताइन् ।
९ लाख ७ सय ८४ रुपैयाँ जगेडा कोष छ । उद्यम सञ्चालनका लागि महिलाहरूले एक करोड तीन लाख ५७ हजार ६ सय ६९ रुपैयाँ कर्जा लिएका छन् । अध्यक्ष चन्द ठकुरीका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा सो सहकारीले सात लाख ६७ हजार ८ सय ८३ रुपैयाँ कुल आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्