सुगम जिल्लाको दुर्गम गाउँपालिका, स्थानीयलाई सास्ती «

सुगम जिल्लाको दुर्गम गाउँपालिका, स्थानीयलाई सास्ती


नदीले वर्षाै कटान गर्दै आएको भुभाग । परम्परा र सस्कृतिको धनी क्षेत्र । चारैतिर नदीले र जंगलले घेरेर बनेको गाउँपालिका । कञ्चनपुरको सदरमुकाम क्षेत्रबाट सुगममा हेरिए पनि वास्तविक रूपमा दुर्गम गाउँपालिका हो लालझाडी गाउँपालिका ।

सडक सञ्जालसँग जोडिएको भए पनि दुर्गम छ । विकासका पूर्वाधारबाट निकै टाढा छन् यहाँका नागरिक । गाउँपालिका आवातजावत गर्न पक्की पुल निर्माण हुन नसक्दा गाउँपालिका जान नदी तरेर जानुपर्ने बाध्यता छ । पक्की पुल निर्माण नहुँदा झोलुंगे पुलको सहाराले स्थानीय आवतजावत गर्दै आएका छन् ।


“गाउँपालिका क्षेत्रबाट बाहिर जान नदी तरेर जानुपर्ने बाध्यता छ, झन् वर्षायामको समयमा घर बाहिर निस्कन पनि गाह्रो हुन्छ ।” लालझाडी गाउँपालिका–१ का स्थानीय रामसिंश रानाले भने, “पालिकाको क्षेत्रवरिपरि नदीले घेरेको छ, गाउँपालिकाको पश्चिमतर्फ भएर आवतजावत गर्न सहज हुने भए पनि विकटका कारण सम्भव हुँदैन ।” सामान्य बिरामी भएको समयमा अस्पताल जानुप¥यो भने पनि एम्बुलेन्स बोलाउन बाटोसमेत छैन ।

नदीको टापु बनेको गाउँपालिका जोड्ने पक्की पुल नबन्दा समस्या हुने गरेको रानाले बताए । गाउँपालिका ओहोरदोहोर गर्नका लागि झोलुंगे पुलमात्रै निर्माण गरिएका कारण यहाँका नागरिकलाई दशर्काैदेखि समस्या झेल्दै आएका छन् । पालिकाको क्षेत्रभित्रबाट बगेको दोदा नदीले वर्षेनी वर्षायाममा कटान गर्ने समस्या गरेको छ । नदीले कटानसँगै गाउँपालिका पनि जोखिममा परेको स्थानीयको बुझाइ छ ।


“तीन ठाउँबाट गाउँपालिकालाई नदीले घेरेको हुँदा पनि गाउँपालिका कटानको उच्च जोखिममा छ, वर्षायामको बेला नदी किनारमा किसानले गरेको खेतीसमेत नदीले कटान गरेर बगाउने गरेको छ ।” उनले भने, “गाउँपालिकाको अरु भेगभन्दा ३ र ४ वडामा बढी नदी कटानको समस्या छ, नदीमा बाढी आएपछि यहाँका गाउँ पूरै डुबानमा पर्छन्, बाढी गाउँ पसेको वर्षदेखि किसानको जमिनको ठूलो हिस्सा अहिले नदीले कटान गरिदिएको अवस्था हो ।” दोदा नदीले अहिलेसम्म सयौ विघा जमिनको कटान गरिसकेको रानाले बताए । २०६४/६५ सालमा दोदा नदीमा ठूलो वाढी आउँदा दोदा नदी किनारमा पर्ने कुलिया पट्टी गाउँ पनि विस्थापित भएको दशक बितिसकेको छ ।

तर अहिलेसम्म नदी नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि मूर्तरूप लिन नसक्दा दिनप्रतिदिन नदी कटानको समस्या बढ्दो छ । बाढीबाट विस्थापित भएका मानिसको पनि उचित व्यवस्थापन भएको छैन । बाढी विस्थापित अहिले जंगल किनारमा बसोबास गर्दै आएका छन् ।
यसैगरि लालझाडी गाउँपालिका–४ का भजना रानाले गाउँपालिका क्षेत्र भएर बग्ने नदीमा पक्की पुल नबन्दा स्थानीयले सहज रूपमा सदरमुकामसँग जोडिन नपाएको गुनासो गर्छन् । उनका अनुसार पक्की पुलकै अभाव भएपछि पालिका क्षेत्रमा सार्वजनिक सवारीसमेत गुड्दैनन् ।


“भौगोलिक रूपमा तराई क्षेत्र भएकाले बाहिरबाट हेरिने नजर सुगम हुनुपर्छ भन्ने हुन्छ, भित्री रूपमा आधारभूत आवश्यकताको सामान्य पहुँच पनि हुन सकेको छैन ।” स्थानीय भजना रानाले भने, “पालिका भए पनि सार्वजनिक सवारी साधन गुड्दैन, पुल निर्माण गर्ने भनेर दोदा नदीमा ठेक्का लागेको पुलको निर्माण पनि अलपत्र छ, सार्वजनिक सवारी नआउँदा दैनिक जसो स्थानीयले समस्या भोगिरहन्छन् ।” आकस्मिक रूपमा कोही बिरामी भयो भने पनि तत्काललाई एम्बुलेन्सको पहुँच सदरमुकामसँग जोड्न सम्भव हुँदैन ।

नदीमा पक्की पुल छैन । पुल नभएकै कारण एम्बुलेन्ससँग पनि बिरामीलाई जोड्न समस्या हुने उनले बताए । यहाँका विभिन्न स्थानीयले घरघरमा दुई पांग्रे निजी सवारी साधन किनेर राख्ने गर्दछन् । अकस्मात कसैलाई बिरामी भयो भने मोटरसाइकलमै हालेर अस्पताल ल्याउने पु¥याउने गर्दै आएका छन् ।


सदरमुकाम क्षेत्र पनि निकै टाढा भएका कारण झन् समस्या थपिने गरेको छ । अस्पतालसँगै यस क्षेत्रमा नेटवर्कको पनि समस्या हुँदै आएको स्थानीय रानाले बताए । शिक्षा, स्वास्थ्य, विद्युत्, सडक, यातायात, खानेपानी, सञ्चारलगायत विभिन्न पूर्वाधार जोड्न सजिलै सकिने भए पनि नदीमा पुल नबनेको र बन्न लागेको पुल पनि अलपत्र अवस्थामा भएकाले समस्या हुँदै आएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा आवतजावत गर्न गरिएको डल्लपको दृष्य । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्