बाढीले अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पुल भत्कायो «

बाढीले अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पुल भत्कायो

अर्घाखाँचीको च्याउरेखोला र प्युठानको माझिदमार जोड्नका लागि बनाउदै गरेको पुल भत्किएको छ ।


ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो । लगातारको अविरल वर्षाका कारण झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हो ।


चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए ।

बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भई भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।


३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत केसीले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिदै छ । अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् ।

संघीय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र ७० मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्