वीरगन्ज महानगरपालिकाद्वारा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान «

वीरगन्ज महानगरपालिकाद्वारा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान


वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाइटी पर्सा शाखाबीच बिहीकार सम्झौता भएको हो ।


महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको उपस्थितमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलबीच रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्ने सम्झौता भएको छ । वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिाकाको मिति २०७७ माघ १३ गते भएको निर्णयबमोजिम कित्ता नम्बर २१ र ५६ को खाली जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्रको भवन स्थापना गरी प्रयोग गर्न जग्गा उपलब्ध गराएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।


सम्झौतामा भवन निर्माण गर्दा वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, भवन निर्माणका लागि लाग्ने खर्च रेडक्रस सोसाइटी आपैmले स्रोत जुटाउनुपर्ने, भवन निर्माण गर्दा भुइँतल्लाको पूरै भाग सवारी पार्किङ्गका लागि राख्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै पार्किङ्ग शुल्क पहिलो पक्ष महानगर र दोस्रो पक्ष नेपाल रेडक्रसबीचको सहमतिमा निर्धारण गर्ने, पार्किङ्ग शुल्क बापत उठेको रकम पार्किङ्ग व्यावस्थापन, रक्तसञ्चारको व्यावस्थापन तथा सामाजिक कार्यमा लगाउनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।


त्यसैगरी भवन निर्माणपछि रक्तसञ्चार केन्द्रको प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि महानगरपालिकाको सहमति बिना लगाउन नपाइने, यदि त्यस्तो गरेको पाइएमा महानगरपालिकाले रेडक्रस सोसाइटीलाई जानकारी गराई सम्झौता रद्द गर्न सक्ने पनि व्यावस्था राखिएको छ । रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रको भवन निर्माण प्रयोजन समाप्त भएमा वा अन्यत्र सरेर गएमा उक्त भवन महानगरपालिकाको स्वामित्वमा स्वतः हस्तान्तरण हुने पनि सम्झौतामा भनिएको छ ।


रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सूर्य नेपाल प्रालिले गत वर्ष नै १० लाख उपलब्ध गराइसकेको रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्रराज कँडेलले बताए । उनका अनुसार रेडक्रस सोसाइटी केन्द्रले पनि केही रकम दिने आश्वासन दिएको बताउँदै पर्सा, बाराका स्थानीय तहहरूले पनि रक्तसञ्चार केन्द्र भवन निर्माणका लागि आग्रह गरिने बताए । प्रदेश २ मा अहिलेसम्म प्रादेशिक रक्तसञ्चार केन्द्र समेत स्थापना नभएको अवस्थामा निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनलाई नै प्रादेशिक स्तरको रक्तसञ्चार केन्द्र बनाउने पहल गरिने र प्रदेश सरकारसँग पनि भवन निर्माणका लागि सहयोग माग गरिएको बताए ।


वीरगन्ज औद्योगिक र आर्थिक नगरी भएकोले यहाँका उद्योगी व्यवसायीहरूसँग पनि धेर थोर सहयोग माग गर्ने बताउदै रक्तसञ्चार जस्तो मावनीय सेवा प्रवाह गर्ने भवन निर्माणका लागि सहयोग रकम जुट्नेमा आशावादी रहेको पनि सभापति कँडेलले बताए । रक्तसञ्चार केन्द्रको भवन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डमा नै ख श्रेणी अन्तर्गतको बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्