बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना «

बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना


गोरखाको बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना भएको छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको सहयोग एवं स्थानीय वीरबहादुर घलेको अगुवाइमा बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रीतेश देव नेतृत्वको टोलीले बिहीबार बारपाक सुलिकोट गाउँपालिका–२ का अध्यक्ष लालबहादुर गुरुङ र बारपाक स्वास्थ्य चौकीका प्रमुख अमरेन्द्रकुमार शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरे ।


बारपाक स्वास्थ्यचौकी नजिकै रहेको महिला समूहको भवनमा आविष्कार केन्द्रका ८ जना प्राविधिकको टोलीले अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएका हुन् । सोही भवनमा निर्माण गरिएको १२ बेड आइसोलेसनमा अक्सिजन जोडिएको छ । प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुने स्वास्थ्य चौकी प्रमुख शाहले बताए ।


प्लान्ट स्थापनाका लागि आवश्यक उपकरण तथा प्राविधिक सहयोग आविष्कार केन्द्रले गरेको गाउँमा अक्सिजन प्लान्ट निर्माणका लागि अगुवाइ गर्ने घलेले बताए । करिब २० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना भएको उनको भनाइ छ । आविष्कार केन्द्रले उपलब्ध गराएको उपकरण ढुवानी र प्राविधिकहरूको बारपाक बसाइ खर्च बारपाक सुलिकोट गाउँपालिकाले बेहोरेको घलेले जानकारी दिए ।


भौगोलिक कारणले सिलिन्डरमा अक्सिजन भरेर पुर्याउन समस्या हुने भएकाले गाउँमा नै अक्सिजन प्लान्ट स्थापना गरेको घलेले बताए । हाल कोभिडका बिरामीलाई लक्षित गरी प्लान्ट स्थापना गरिएको हो । प्लान्ट स्थापना भएपछि शरीरमा अक्सिजनको कमी भएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता नरहने स्वास्थ्य चौकी प्रमुख शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्