११ वर्षमा बन्योे सिंगटी–लामोसाँघु प्रसारणलाइन «

११ वर्षमा बन्योे सिंगटी–लामोसाँघु प्रसारणलाइन



एक दशक बढी लागेको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन पूरा भएको छ । आयोजनाले सिंगल सर्किट लाइन तान्ने काम पूरा भएसँगै केही जलविद्युत् आयोजना पूरा भएर पनि सञ्चालन हुन नपाएका आयोजना सञ्चालनमा आउने भएका छन् ।


आयोजना प्रमुख राजन ढुंगेलले आयोजनाका सबै टावर उठाएर सिंगल सर्किट तार तान्ने काम पूरा भएको जानकारी दिए । सिंगल सर्किट तार तान्ने काम सकिई अहिले सबस्टेसनबीच डाटा पठाउने तार (ओपीडीडब्लू) तान्ने काम भइरहेको उनको भनाइ छ । ओपीडीडब्लू तान्ने काम पनि दोलखा जिल्लाभित्र सकिएको तथा सिन्धुपाल्चोक जिल्लामा करिब ९ किलोमिटर जतिमात्र तान्न बाँकी रहेको आयोजनाले बताएको छ ।

कतिपय टावरमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको छ भने इन्सुलेसन टेस्टिङको काम भइरहेको आयोजनाको भनाइ छ । केही ठाउँमा लाइन क्लियर गर्ने समस्या रहेकाले जतिसक्दो चाँडो लाइन चार्ज गर्नका लागि प्राधिकरणको व्यवस्थापन तहसँग छलफल भइरहेको उनले जानकारी दिए ।
लामोसाँघुको सबस्टेसनमा सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान कार्य समाप्त भई परीक्षणको क्रममा छ । तर सिँगटी सबस्टेसनमा भने अहिले १३२ केभीमा जलविद्युत् केन्द्रबाट आएको विद्युत् पठाउन सक्ने संरचना तयार भए पनि ३३ केभीको लाइनबाट आउने विद्युत् भने प्रसारण गर्ने संरचना तयार भइनसकेको आयोजना प्रमुख ढुंगेलले बताए ।


सुरुवाती वर्षमा ठेकेदारले काम नगर्दा समयमै पूरा हुन नसकेको आयोजना पछिल्लो समय स्थानीयको अवरोध, जग्गा विवादलगायतका कारणले समयमा काम पूरा हुन सकेन । टावर ठड्याउने ठाउँमा स्थानीयले रुट सार्न माग गर्दै अवरोध गरेपछि आयोजनाको काम समयमा पूरा हुन सकेको छैन । अवरुद्ध केही स्थानमा सुरक्षाकर्मीको उपस्थितिमा समेत काम भएको छ ।


४० किलोमिटर लामो प्रसारण लाइनमा १२४ वटा टावर उठेका छन् । सिंगल सर्किट पूरा भएकाले प्राविधिक परीक्षण पूरा भएपछि तत्काल विद्युत् प्रसारण गर्न मिल्छ । अधिकाँश ठाउँमा डबल सर्किटको काम पनि पूरा भइसकेको छ । बाँकी काम लाइन सिंगल सर्किट चार्ज भए पनि काम गर्न मिल्ने उनले बताए ।


सिंगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजी क्षेत्रका निर्माण भएको जलविद्युत् आयोजनाहरू यही प्रसारणलाइन कुरेर बसेका छन् । प्रसारणलाइन पूरा नहुँदा आयोजनासमेत समयमा निर्माण पूरा गर्न सकेका छैनन् । १० मेगावाटको सिप्रिङ, ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोलाको विद्युत् खेर गइरहेको छ । २५ मेगावाटको सिंगटी खोलाले पनि आयोजना पूरा सबै प्राविधिक परीक्षण गरेर विद्युत्गृह बन्द गरेर बसेको छ । सिंगटी खोलाको आयोजना व्यवस्थापनले पनि प्रसारणलाइन चाँडै पूरा गराउन ४ महिनादेखि सघाउँदै आएको छ ।
३० मेगावाटको खानी खोला र ४० मेगावाटको खानी खोला १ आयोजनाले काम अन्तिम चरणमा पुगेर पनि विद्युत् उत्पादन गर्न सकेका छैनन् । यसले आयोजनाका लागत बढाइरहेका छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सबस्टेसन समेत निर्माण गर्ने रहेको थियो ।
सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो ।

ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्कविहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।
सुरुवाती चरणमा आफ्नो आयोजनाको विद्युत् चाँडै आउने भएपछि अरावलीको काम लिएर चाँडै प्रसारण लाइनको काम गर्ने गरी अग्रसर भएको ग्रिन लाइफ पछिल्लो समय आफ्नै आयोजना समस्या भएपछि प्रसारण लाइनको काम सुस्त बनायो ।

प्रतिक्रिया दिनुहोस्