मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा «

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा


असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो ।
गएको बुधबार हेलम्बुबाट बग्ने इन्द्रावती नदी र पाँचपोखरी मुहान भई बग्ने इन्द्रावती नदीबाट एकै साथ बाढी झरेको थियो । अविरल बर्षाका कारण आएको बाढीले मेलम्चीलाई गहिरो धक्का दिएको छ । बाढीले मेलम्ची बजारका मात्रै करिब दुई सय घर तथा टहरामा रहेका व्यापारिक पसलमा क्षति पु¥याउँदा कारोबार ठप्प प्रायः हुँदा यो अवस्था आएको हो । बजार आसपास सामान्य पसल पनि त्रासका भरमा कामचलाउ सञ्चालित छ ।
बाढीले व्यापारिक केन्द्र मेलम्ची बजारको करिब आधा भाग बगाएको छ । बाँकी घर टहरालाई बाढीले कटान गर्ने क्रम अझै रोकिएको छैन । तीन दिनदेखिको बाढीले खोला किनारको क्रमैसँग दायाँ र बाँया कटान गरिरहेको छ । बाढीले कति घरटहरा र कति व्यापारिक पसल बगायो भन्नेबारे अझै एकिन तथ्यांक आउन सकेको छैन ।
मेलम्ची बजार हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङ्गपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक संगम हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ । लामो समयदेखि मेलम्ची बजारमा व्यवसाय गर्दै आएका मेलम्ची क्याफे इन एण्ड थकाली भान्सा घरका प्रोपाइटर सागर श्रेष्ठले मुख्य मेलम्ची बजारको कारोबार बाढीका कारण शून्यमा झरेको बताए । होटल व्यवसायी मात्रै नभई समाजसेवीसमेत रहेका श्रेष्ठले ३५ करोड रुपैयाँमा लगानी गरेको क्याफे अहिले बाढीको डुबानमा छ । दैनिक हजारौ व्यापार गर्ने श्रेष्ठले सिन्धुपाल्चोकमै पहिलोपटक लिफ्ट प्रयोग गरेर तीन तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका थिए । तर, उद्घाटन पहिल्यै बाढीको वितण्डाले उनको सपनामा बादलले छोपिदिएको हो ।
“बाढीले व्यापारिक चहलपहललाई तहसनहस बनाइदियो,” उनले भने, “अब पहिलाकै अवस्थाका कारोबार फर्काउन झण्डै ३० वर्ष लाग्ने अनुमान छ ।” सयौं व्यापारी अहिले घर छाडेर नगरपालिकाले स्थापना गरेको अस्थायी सेल्टरमा छन् । “उनीहरूलाई बैंकको ऋणले पिरोलेको छ,” श्रेष्ठले भने ।
मेम्लची बजारमा सामान्य चिया पसलदेखि दैनिक डेढ, दुई लाख रुपैयाँको कारोबार गर्ने पसल थिए । अहिले त्यो कथाजस्तै बनेको छ । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्टहरू यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् । व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल स्थान हो । लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्रीको खपतसमेत उल्लेख्य हुने गरेको व्यवसायी बताउँछन् ।
बजारमा बाढी पसेपछि स्थानीयमात्रै नभई व्यापारीहरू त्रसित छन् । अधिकांश पसल बगाएको व्यापारीको आफ्नै आँखाले देखेका छन् । बाढीले कटान गर्नै लागेको कुनै पनि पसल जोगाउन सक्ने अवस्था छैन । कतिबेला खोला बढ्छ भन्ने अनुमान लगाउन नसक्दा यो अवस्था आएको हो । मेलम्ची बजारमा लाखौ लगानी गरेर मोबाइल पसल सञ्चालन गरेका शेरबहादुर तामाङ बैंकको ऋण कसरी तिर्ने भन्ने अन्योलमा छन् । “बजार पुरानो अवस्थामा फर्कन सक्ने अवस्था छैन, कसरी ऋण तिर्ने भन्नेबारे सोचेकै छैन,” बजारमा भेटिएका शेबहादुरले दुःखेसो पोखे, “पसल सञ्चालन हुँदा ब्याज तिर्ने समस्या थिएन, अब खान लगाउन पनि दुःख हुने भयो ।”
मेलम्ची बजारमा आसपासका मात्रै नभई सदरमुकाम चौतारा, लामोसाँघु, छिमेकी जिल्ला काभ्रे, काठमाडौंदेखिका बासिन्दाले व्यापार गर्ने गर्दथे । दैनिक मेला जस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य मात्रै नभई ज्यान बचाउने त्रासमा स्थानीय छन् । “व्यापारिक दृष्टिले झण्डै १५ वर्ष अघिदेखि स्थिर रहेको यो बजारमा यस्तो अवस्था आउला भन्ने कल्पना नै थिएन, कारोबार ठप्प हुने गीर विपद् हुने अवस्था छ जस्तो कसैलाई थिएन,” सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य प्रकाश दाहालले भने, “ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा छन् ।” यहाँबाट सामग्री निर्यात हुने तीन गाउँपालिकासँग सडक सञ्जार, विद्युत् र सञ्चार सम्बन्ध टुटेकाले व्यापारले गति लिन समय लाग्ने उनको ठम्याइ छ । “मेलम्ची बजारमा व्यापार गर्ने व्यापारीले २० करोड रुपैयाँसम्म बैंकबाट ऋण लिएर व्यापार गरिरहेका थिए,” सदस्य दाहालले भने, “उहाँहरूको भोलिको अवस्था के होला भन्न सकिन्न, घरजग्ग लिलामीको अवस्थामा पुग्न सक्छ ।”
विपद्पछिको खोज उद्धार, राहत तथा पुनःस्थापना जरुरी रहेको व्यापारीहरूको भनाइ छ । त्यसपछि अर्थतन्त्रको पाटोलाई दीर्घकालीन सोचका साथ स्थानीय सरकारले अगाडि बढाउनुपर्ने माग व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्