पूर्वतयारी हुनुपर्नेमा जोड «

पूर्वतयारी हुनुपर्नेमा जोड


गैरसरकारी संस्था महासंघ नेपालले बाढी, पहिरो र डुबान जस्ता मनसुनको समयमा आइपर्ने विपद्लाई न्यूनीकरण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा बुधबार विभिन्न संघ–संस्थासँग छलफल आयोजना गर्यो ।


यस कार्यक्रममा सरकारको तर्फबाट भइरहेको तयारी, बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपको सम्भावना, समाज कल्याण परिषद्को संघ–संस्था सहजीकरणको तयारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको तयारी, संघ–संस्थाको भूमिकाको समीक्षा र आगामी दिनको तयारी विषयमा छलफल गरिएको थियो ।


देशमा मंगलबार मात्रै एक दर्जन बढीले ज्यान गुमाइसकेका छन् । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले धेरै जनधनको क्षति भइसकेको छ । कोभिड–१९ ले आक्रान्त पारेको समयमा मनसुन चाँडै सक्रिय भएर धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेकोमा सरकार तथा गैरसरकारी संस्था, सामाजिक संस्थाको ध्यानाकर्षण र पूर्वतयारी हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।


कार्यक्रममा जल तथा मौसम विज्ञ डा. धर्म उप्रेतीले यो वर्ष अघिल्लो वर्षभन्दा दुई दिनअघि नै मनसुन सक्रिय भएको बताए । उनका अनुसार ९० देखि १२० दिनको बिचमा धेरै पानी पर्ने जोखिम छ । ५ दिनमा केन्द्रीय नेपालमा विषेशगरी बाग्मती प्रदेशमा सबैभन्दा बढी पानी परेको उनले तथ्यांकमा देखाएका थिए ।


“यो अवस्थामा हामी सचेत हुन जरुरी छ । अहिलेको प्रमुख आवश्यकता भनेकै सूचनाको पहुँच र जोखिम नियन्त्रणको पूर्व तयारी हो,”उनले भने । एनटीसी एनसेलजस्ता सूचना प्रवाह गर्ने संस्थाले एसएमएस पठाउने तर त्यो सूचनाको पहुँच सबै ठाउँमा नहुने उनको भनाइ थियो । विपद्का बेला कसरी जोगिने भन्नका लागि नागरिकले समयमा नै सूचना प्राप्त गर्न आवश्यक रहेको उनले बताए ।
यसका लागि एसएमएस अलर्टलाई धेरै ठाउँमा पु¥याउन र जारी गराउन जरुरी रहेको उनको भनाइ छ ।


विपद् व्यवस्थापनमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । अहिले नेपालका धेरै स्थानहरुमा बस्ती बढिरहेको छ । नदी कटान, बाढी पहिरो, डुबान र कोभिड संकटलाई सरकारको ध्यानाकर्षण रहेको विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव वेदनिधि खनाले जानकारी दिए । वर्षा याममा पनि सडक बनिरहेका छन्, खोला नजिक घर बनिरहेको छ । अव्यवस्थित बस्ती, प्लटिङ बढी रहेको छ ।


यो वर्ष डढेलोले पनि धेरै दुःख दियो । त्यसले गर्दा यो अवस्था आएको उनले बताए । सरकारले खुला स्थान कहाँ छ पहिचान गरी प्रणालीमा राखेको, पीडितलाई घर बनाइदिने तयारी पनि भइरहेको, हेलिप्याड, बारुण यन्त्र पनि प्रणालीमा ल्याउने तयारी गरिरहेको उनले बताए । सरकारले पूर्व तयारी हरेक वर्ष गर्दै आएको तर यसका बाबजुत पनि नागरिक सचेतना कार्यक्रमको कमी भएकाले यस्तो विकराल परिस्थिति निम्तिने गरेको उनले बताए ।


जोखिम न्यूनीकरणमा सामाजिक संस्थाको प्रमुख भूमिका रहन्छ । प्रत्येक वर्ष प्राकृतिक प्रकोपबाट ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । विपद्का कारण हरेक वर्ष ६ लाख ४० हजार व्यक्ति प्रभावित हुने गरेका छन् । अन्तरराष्ट्रिय गैरसरकारी संस्था पनि विपद व्यवस्थापन समिति र स्थानीयसँगको सहकार्यमा लाग्ने विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सरोकारवालाहरुले बताए ।

जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा विपद्को सम्भावना भन्दा पहिला सूचना पु¥याउन सके जोखिम केही हदसम्म नियन्त्रण हुन सक्ने पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । सबै मिडियाकर्मीहरूले आफूलाई सुरक्षित राखेर समाचार सङ्कलन गर्न उनले अनुरोध गरे ।
यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघ–संस्थाको ‘र्यापिड रेस्पोन्स डेस्क’ खडा गर्न पर्ने उनले औल्याए । सङ्कटको बेला सूचना पाए मात्र राहत कहाँ–कहाँ गर्ने थाहा हुन्छ । पत्रकार महासंघको भूमिका के हुन्छ प्रष्ट हुनु जरुरी छ । विपद् आउने अवस्था नदिन सक्दैनौं तर नियन्त्रण र जोखिमबाट कसरी बच्ने र उद्धार गर्ने भन्ने सहकार्य गर्न अतिआवश्यक रहेको उनको भनाइ थियो ।


त्यस्तै अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माका अनुसार राज्यले र अन्य निकायले पनि अपांगता भएका व्यक्तिको सुरक्षालाई ध्यान दिँदै विपद्का बेलामा विशेष योजना बनाउन पर्ने माग गरेका छन् । अपांगता भएका व्यक्ति विपद्मा धेरै नै प्रभावित हुन्छन् । योजना र नीति बनाउँदा अपाङ्गता भएका व्यक्तिको ख्याल राख्नुपर्नेमा उनले जोड दिए । “नेपालमा त्यो अभ्यास भएको छैन ।

विपदमा चामल टेन्टका कुरा गरेका हुन्छौँ । तर, अपाङ्गता भएका व्यक्तिका लागि धेरै सामग्री चाहिन्छ तर त्यसको कुरा गरिएको हुँदैन” उनले भने ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सबैले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । व्यापारी र भू–माफियाले गरिरहेको कार्यलाई सरकारले रोक्न आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता गैसस महासंघ नेपालका अध्यक्ष जितराम लामाले गरे ।

प्रतिक्रिया दिनुहोस्