श्रमिक पार्क अझै निर्माण हुन सकेन «

श्रमिक पार्क अझै निर्माण हुन सकेन

उदयपुर-उदयपुर सदरमुकाम गाईघाटस्थित भगवती मन्दिर परिषरमा निर्माण सुरु गरिएको श्रमिक पार्कको निर्माणकार्य अझै सम्पन्न हुन सकेको छैन । पुराना तथा मौलिक प्रविधिको संरक्षण र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १५ वर्षअघि पार्क निर्माण गर्न थालिएको थियो । उदयपुर सदरमुकाम गाईघाटलाई चिनाउने मुख्य क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको यो पार्क आर्थिक अभावका कारण निर्माण सम्पन्न हुन नसकेको हो ।
“आर्थिक अभावका कारण निर्माणकार्यले गति लिन नसकेपछि यतिबेला पार्कमा निर्माण गरिएका महत्वपूर्ण मूर्तिहरू अलपत्र भएका छन्,” अगुवा कौशल चेम्जोङले भने, “उचित रेखदेख र संरक्षण हुन नसक्दा कतिपय मूर्तिमा लेउ लागिसकेको छ ।” कतिपय भगवानका मूर्ति टुटफुट र जीर्ण बनेको र कतिपय निर्माण हुँदाहुँदै काम रोकिएर अलपत्र भएको उनले बताए ।
पार्कमा मुख्य आकर्षकको रूपमा श्रमिक बुद्धको ठूलो मूर्ति निर्माण गरिएको छ । बुद्धले आफ्नो मूर्ति आफैँ खोप्दै गरेको झलक दिने यो मूर्तिबाट श्रम र ज्ञान एक साथ भएमात्र हरेक कुराले पूर्णता पाउने चेतना मिल्ने अर्का अभियान्ता भरत खड्काको भनाइ छ । “तर आर्थिक अभावका कारण यो मूर्ति पनि पूर्णरूपमा तयार हुन सकेको छैन,” खड्काले भने, “दिनभरिको गर्मी, धुवाँ–धूलोबाट पीडित सिर्जनशील युवायुवती, प्रौढ र वृद्धाका लागि जोस जाँगर र हौसला थप्ने उद्देश्य राखेर विभिन्न परम्परागत प्रविधियुक्त मूर्ति, बौद्ध स्तुपा, सेल्फी पुल, बुद्धको मूर्तिलगायत निर्माणकार्य थालिएको थियो ।” तीमध्ये केहीको निर्माणकार्य सकिए पनि आर्थिक अभावका कारण बाँकी काम पूरा नहुँदा पार्क प्रयोगमा आउन नसकेको उनले बताए ।
उदयपुर सदरमुकाम गाईघाटको मुटुमा रहेको यो श्रमिक पार्कलाई ब्यवस्थित गरी नमुना पार्क बनाउने हो भने आन्तिरक तथा बाह्य पर्यटक भित्रिनेमा कुनै शंका नरहेको स्थानीय त्रियुगा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास विष्ट बताउँछन् । स्थानीय तहको आम्दानीको स्रोतसमेत हुने भएकाले पार्क निमार्णमा स्थानीय तह तथा सबै सरोकारवाला निकायले ध्यान दिनु जरुरी रहेको विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्