दूध बिक्री नभएपछि पर्वतका कृषक चिन्तित «

दूध बिक्री नभएपछि पर्वतका कृषक चिन्तित


पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् ।


फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध बिक्री गरेर जिविका चलाउँदै आएका किसान बिक्री नहुँदा समस्यामा परेका बताउँछन् ।


फलेवासको संकलन केन्द्रमा दैनिक दैनिक १०० देखि २०० लिटरसम्म दूध संकलन हुन्छ । दूध बिक्री नभएमा दूधबाट अन्य परिकार बनाउने उपकरण छैन । उपकरण भएको भए मिल्क होलिडेमा अन्य परिकार बनाएर बिक्री गर्न सके घाटा पूर्ति गर्न सकिने किसानहरु बताउँछन् । ऋण खोजेर चर्को मूल्यमा गाई भैंसी खरीद गरी दूध बेचेर गुजारा चलाउँदै आएका किसानहरुलाई दूधले बजार नपाएपछि ठूलो समस्या भएको फलेवास दुग्ध सहकारी संस्थाका पूर्व अध्यक्ष भरत श्रेष्ठको भनाइ छ । उक्त शहकारीमार्फत यहाँ वरपरका स्थानीय किसानहरुले दूध संकलन गरी पोखराको लवकुश डेरी उद्योगमा लगेर बिक्री गर्दै आएको श्रेष्ठले बताए ।


निषेधाज्ञाका कारण उक्त डेरीले बजार बन्द भएर दूध बिक्री वितरण गर्न नसकेको बताएपछि दूध संकलन अभियान बन्द गरिएको छ । यस्तै देवीस्थानको कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा पनि दैनिक २ हजार ५ सय लिटर दूध संकलन हुँदै आएको संस्थाका सचिव बुद्धिराज गौडेलले जानकारी दिए ।। यो संस्थाले पोखराको लव कुश डेरीमा दूध बिक्री गर्दै आएको र बजार बन्द भएसँगै बिक्री वितरणमा समस्या आएको गौडेले बताए ।


दूधको माग घटेका कारण १ दिन विराएर दूध बजार पठाउने गरिएको सहकारीले जनाएको छ । चिर्दिखोलाकोे चिसापानी दुग्ध सहकारी संस्थामा पनि दूध संकलन गने काम बन्द रहेको छ । सहकारीका व्यवस्थापक यज्ञप्रसाद शर्माले किसानलाई कोरोनाका कारण गरिएको निषेधाज्ञाले समस्या पारेको शर्माले बताए ।


यो सहकारीले पनि दैनिक तीन सय लिटर दूध बजार पठाउने गरेको छ । यो सहकारीले निषेधाज्ञा जारी भएयता किसानको दूध लिन छोडेको छ । किसानहरु दूध नबिकेर समस्यामा परिरहँदा सहजीकरणमा कुनै निकायले भूमिका खेलेका छैनन् । ढुवानीमा जिल्ला प्रशासनले खुल्ला गरेपनि बजारमा बिक्री गर्ने पसलहरु बन्द हुँदा किसानको दूध उपभोग हुन नसकेको हो । बजारमा बिक्न छोडेपछि सहकारीले दूध लिन मानेका छैनन् । यसका कारण किसानहरु प्रत्यक्ष मारमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्