गाँउ कुर्दै महिला , पुरुष धन कमाउन ‘कालापहाड’ «

गाँउ कुर्दै महिला , पुरुष धन कमाउन ‘कालापहाड’

जुम्ला-जुम्लाको कोइरेली गाँउका युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पुरै गाउँको रेखदेख गर्न थालेका छन् । मर्दा मलामी जाने पुरुष पनि छैनन् । उसो त भत्ता खाने वृद्ध पनि भारत गएका छन् ।
अशक्त बुढापाका तथा महिलामात्रै सिंजा क्षेत्रका गाउँबस्ती छन् । गाउँका सबै महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा, मेलापात संकलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका महिलाले सिंगो गाउँ नै रेखदेख गर्ने गरेको स्थानीय महिला राजी रोकायाले बताइन् । “पुरुषजति कालापहाड गएपछि गाउँ शून्य छ, कोही मर्दा मलामी र पर्दा पछाडि हिँड्ने लोग्नेमान्छे छैन,” उनले भनिन्, “जिल्लामा हिंसाका घटना बढिरहेका छन्, यो बेला हाम्रो गाउँमा कुनै अप्रिय घटना नघटोस् भनेर हामी गाउँ कुर्न थालेका हौ ।”
महिलाकै अगुवाइमा कोइरेली गाउँ मानव अधिकारमैत्री, छाउपढी, बालविवाह र मद्यपान, धुम्रपानमुक्त समाज घोषणा भइसकेको छ । तर पुरुषलाई भने, कालापहाडकै बाटो तय गर्ने गर्दछन् । स्थानीय सरकार आएपछि रोजगारमूलक कार्यक्रम होलान्, आफ्नै ठाउँमा कमाउँला भन्ने सोचेका स्थानीयका दुःख भने फेरिएका छैनन् ।
गाउँ नै पुरुषविहीन
सिंजा गाउँपालिका–२ मा पर्ने ५० घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकामभन्दा ४० कोस टाढा पर्छ । गरिबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ, भन्ने यस गाउँका पुरुषको सोचाइ छ । झण्डै, ५० घर धुरधुरी रहेको उक्त गाउँमा सानादेखि वृद्धसम्म कालपहाड गएका छन् । गाउनै पुरषविहीन बनेका छन् । गाउँका पुरुषमध्ये एक युवक नेपाल आर्मी छन्, भने अन्य सबै युवा बेरोजगार छन् । मंसिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् । यसरी पुरुष एकमुष्ट कालापहाड निस्केने कोइरेली जिल्लाको प्रतिनिधि गाउँमात्रै हो, तर सिंजा क्षेत्रका अधिकांश गाउँ यतिखेर पुरुषविहीन छ । सिंजा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुष मंसिरदेखि चैत महिनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् । यो समय जुम्लामा घरायासी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यँहाका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् । हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग एकिन तथ्यांक नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ ।
“गाँउमा पैसा कमाउने कुनै विकल्प छैन, पैसा नभएर भोको पेट भरिँदैन,” कोइरेलीका पदम रोकायाले भने, “पुर्खादेखि कालापहाडका दुःख हटेका छैनन्, त्यसैले धन कमाउनकै लागि कालापहाड जान बाध्य छौं ।” गाउँगाउँमा आएको सिंहदरबारमा बस्ने सिंह नअघाउन्जेल गरिब दुःखीलाई रोजगारी नमिल्ने भन्दै उनले दुःखेसो पोखे । स्थानीय पदमकला रोकायाले घरायासी समस्याका कारण बाध्य भएर श्रीमान्लाई कालापहाड पठाउनु परेको बताइन् ।

व्यावसायिक ऋण खोइ ?
जुम्लाका आठै स्थानीय तहले आफ्नै गाउँठाउँमा व्यवसायी कृषि गर्नेलाई १० लाखसम्मको निरब्याजी ऋण दिने व्यवस्था गरेका छन् । नीति तथा कार्यक्रमबाट पनि पास गरिसकेका छन् । बजेट विनियोजन गरेर, फ्रिज जाने अर्कोतर्फ, बर्सेनि युवा कालापहाड जान्छन्, कसरी समृद्धि हुन्छ ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, “नाममात्रको व्यवसायी ऋणले रोजगारी दिएन, कुनै पनि स्थानीय तहले रोजगार सिर्जनाका विषयमा चासो नदिएको उनको भनाइ छ । न सीपमूलक कार्यक्रम नत, कुनै रोजगारी सिर्जनामात्रै जनतालाई आश्वासनले भोका बनाएको युवा लोकबहादुर दमाईले बताए ।
उनले भने, इच्छा भएकाले ऋण पाएनन्, प्रक्रिया पनि नबुझ्दा कालापहाड जानुपर्ने बाध्यता टरेको छैन । तातोपानी गाउँपालिका अध्यक्षले आफ्नो गाउँपालिकाबाट १० लाख निब्र्याजी ऋणको व्यवस्था गर्दा पनि कोही नआएको बताए । आफ्नै ठाउँमा इलम गर्ने जोशजाँगर ल्याउन चेतनामूलक र सीपमूलक कार्यक्रममा जोड दिइने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्