सरकारका लागि लकडाउन सत्ता जोगाउने कवचमात्रै बन्यो : कांग्रेस «

सरकारका लागि लकडाउन सत्ता जोगाउने कवचमात्रै बन्यो : कांग्रेस


सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ ।


बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए ।


यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए । उनले भने, ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तुष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भएको छ ।’ बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए ।


महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशिल सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशिल सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए । उनले भने, ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ ।

गुनासाहरु आएका छन् । भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ ।’
बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्