धितोपत्र बोर्डको अध्ययन र निष्कर्ष «

धितोपत्र बोर्डको अध्ययन र निष्कर्ष

धितोपत्र बोर्डले अध्ययन गर्नु एकदम सकारात्मक कुरा हो । यो जम्मा ५१ कम्पनीको मात्र नभएर नेप्सेमा कारोबार हुने सम्पूर्ण कम्पनीको हुनुपर्छ भन्ने हामी साधारण लगानीकर्ताको जोडदार माग छ ।
धितोपत्र बोर्डले हालै सार्वजनिक गरेको रिपोर्ट दुइटा मितिबीचको मूल्य तुलनाभन्दा बढी केही पनि होइन । यहाँ ५१ कम्पनीको देखाइएको छ, जसमध्ये धेरै आयोजना निर्माण चरणमा रहेको जलविद्युत् कम्पनी कम्पनीसमेत रहेको छ, जुन ईपीएस नेगेटिभ भएको कारणले मात्र परेको जस्तो देखिन्छ । हामी नेप्सेमा सूचीकृत कम्पनीको प्रत्येक दिन योभन्दा बढी जानकारीसहितको रिपोर्ट बनाइरहेका हुन्छौं र यो सामान्य ‘एक्सेल’ ज्ञान भएको मान्छेले बढीमा एक घण्टाभित्रै यस्तो रिपोर्ट तयार गर्न सक्छ ।
यदि कानुनी दायराभन्दा बाहिर गएर कुनै कम्पनी र कारोबारीले कारोबार गरेको भए नियमअनुसार कारबाही गर्ने र सो कारोबारको दैनिक सूक्ष्म अध्ययन गर्ने जिम्मेवारी नियामक निकायको हो र यो दायित्वबाट धितोपत्र बोर्ड पनि भाग्न मिल्दैन । यो अध्ययन कसैले उजुरी गर्दा मात्र हैन, नियामक भएकाले दैनिक रूपमा गर्नुपर्छ र यसको विज्ञापन गरिरहनु आवश्यक हुँदैन ।
पहिलो कुरा त नेप्से इन्डेक्स १२२१.३१ हुँदा र ३०२५.८३ हुँदा जेठ ३१, २०७८ को मूल्य लिइएको छ, जसमा दिइएको ईपीएस र नेटवर्थ कहिलेको हो, खुलाइएको छैन । यदि यो जेठ ३१ को ईपीएस र नेटवर्थ नभएर चैतको हो भने सामान्य लगानीकर्तालाई सजग गराउँदा धितोपत्र बोर्ड आफैं चुकेको देखिन्छ, किनकि सम्पूर्ण कम्पनीको चैतको आम्दानी र जेठसम्मको आम्दानी फरक भइसकेको हुन्छ । यस्तो अवस्थामा धितोपत्रले कहिलेको डाटा लिएको हो, स्पष्ट खुलाउनुपर्छ । नत्र यो पीई रेसियो गलत हुन पुग्छ र वास्तविक अवस्था चित्रण गर्दैन अनि कसैलाई देखाउन मात्र गरेको जस्तो आभास हुन्छ । यति सामान्य विषयमा समेत नियामक निकाय जानकार नहुनु कस्तो अवस्था हो, आफंै मनन गरौं ।
कुनै कम्पनीको मूल्य १२२१.३१ हुँदा यति थियो, ३०२५.८३ हुँदा यति छ भनेर तुलना गर्नु न्यायोचित हँुदैन । किनभने यो अवधिमा ती कम्पनीहरूले धेरै प्रगति गरिसकेका छन् र अर्को कुरा, सम्पूर्ण बजार माग र आपूर्तिको आधारमा निर्धारण हुने कुरा जगजाहेर छ । नेप्से १२२१.३१ बाट ३०२५.८३ हुँदा समानुपातिक रूपमा सबै कम्पनी बढ्नुपर्ने बुझाइ हो भने समानुपातिकभन्दा कम बढ्ने कम्पनीको चिन्ता कसले लियो यहाँ ?
त्यसैले नियामक निकाय नियमनमा केन्द्रित हुनुपर्ने र लगानीकर्ता आफैं सजग भई लगानी गर्ने हो । यदि लगानी नयाँ तथा ज्ञान कम भएको लगानीकर्ताको साँच्चिकै धितोपत्र बोर्डलाई चिन्ता हो भने निश्चित अवधिको सेयर आधारभूत तालिम लिएकोलाई मात्र कारोबार गर्न पाउने व्यवस्था सरोकारवाला निकायले गर्नुपर्छ । नेप्सेको घटबढलाई नियामक निकायले यति र यस्तो नै हुनपर्छ भन्ने हो भने प्रत्येक कम्पनीको क्याप र फ्लोर तोकौं । यसो गर्दा सबैको रिस्क कम हुन्छ, हैन भने दैनिक २० अर्ब कारोबार हुने बजारलाई केटाकेटी पारामा यो अथवा त्यो बहानामा कम्तीमा नियामक निकायले नेप्सेको स्वचालित गतिलाई नबिगारौं, लगानीकर्तालाई आतंकित नबनाऊँ, बरु लगानीकर्तालाई अझै प्रविधिमत्री बनाउँदै अझ प्रभावकारी भूमिकामा धितोपत्रबोर्ड उभिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्