विदेश जाने मोह त्याग्दै पशुपालनमा «

विदेश जाने मोह त्याग्दै पशुपालनमा

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–२ पखटोलका ईश्वर खत्री र वाग्लुङ नगरपालिका–४ बाग्लुङका विपिन हमालले पर्वतको जलजला गाउँपालिका–२ फोर्सेमा व्यावसायिक गाईभैंसीपालन सुरु गरेका छन् । अध्ययन सकेर विदेश जाने मोह त्याग्दै विकसित मुलुकमा रोजगारको लागि लाग्ने खर्च स्वदेशमै लगानी गर्दै दुई युवाले सर्वोसिद्धि पशुपति फर्मको नामबाट गत असारदेखि व्यावसायिक गाईभैंसी पालन सुरु गरेका हुन् ।
करिब २५ लाख रूपैयाँको लगानीमा दुई युवाले प्रविधिको प्रयोग गर्दै फार्म सञ्चालन गरेका छन् । उनीहरूको फार्ममा ६ वटा भैंसी र एउटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुने गरेको उनीहरूले बताए । फार्म सञ्चालक ईश्वर खत्रीले उत्पादन गरेको दूध बाग्लुङ र म्याग्दीको सदरमुकाममा लगेर बेच्दै आएका छन् । विहानको ३० लिटर दूध पर्वत हुँदै म्याग्दीको बेनीमा पु-याएर बिक्री गर्ने गरेको उनले बताए । बेलुकाको दूध भने बाग्लुङ लगेर बेच्दै आएका छन् ।
केही समय जागिरमा बिताएका खत्रीले अहिले फार्म सञ्चालन गरी दुईजनालाई रोजगारीसमेत दिएका छन् । दुःख भए पनि मेहनतअनुसारको आम्दानी हुने उनको दुई महिनाको अनुभव छ । दैनिक खर्च कटाएर मासिक ५० हजार रूपैयाँ आम्दानी हुने गरेको खत्रीले बताए ।
दैनिक रूपमा उत्पादित दूध खपतको समस्या नभए पनि व्यावसायिक गाईपालनलाई गुणात्मक रूपमा वृद्धि गर्ने पोसिलो घाँसको अभाव, दानापानी महंगो र जीवन बिमा र सरकारी अनुदानको अभावनमा लगानी बढाउन नसकेको उनले बताए ।
स्वदेशमा लगानी गरी व्यवसाय गरेका युवालाई प्राविधिक सुविधा र बैंकिङ सहुलियत ब्याजदरमा ऋण भने पनि त्यो सहज रूपमा पाउन नसकेको उनले बताए । सर्वोसिद्धि पशुपति फर्म सुरु गरेका दुई युवाले मलको सदुपयोग गर्न तरकारी खेती र कुखुरा फार्म पनि विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्