ऊर्जा उत्पादकको आपत्ति «

ऊर्जा उत्पादकको आपत्ति


स्वतन्त्र उर्जा उत्पाकदहरुको संस्था, नेपाल (इपान) ले धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।
इपानले विज्ञप्ति जारी गर्दै आफैंले सेयर निष्काशनको अनुमति दिएर सूचीकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा दुःख व्यक्त गरेको हो । जलविद्युत कम्पनी बैंक तथा वित्तीय संस्थाजस्तो छिटो नाफा कमाउने संस्था नभएकाले प्रतिसेयर मूल्य आम्दानी, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कम हुनु स्वाभाविक भएको जनाएको छ ।
सेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्नुपर्नेमा कम्पनीको नाम निकाल्नु आफैंमा लज्जास्पद भन्दै बोर्डको कदमबारे गम्भीर अध्ययन गरेर कर्मचारीहरुको मिलेमतो देखिएमा कारवाही गर्न माग गरेको छ ।
जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरु भएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिसेयर मूल्य आम्दानी, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ वृद्धि हुने उल्लेख गर्दै इप्पानले धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैंक तथा वित्तीय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर गरेको मूल्यांकन अन्यायपूर्ण रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्