सेयर कारोबार रकममा गिरावट «

सेयर कारोबार रकममा गिरावट


नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेपछि कारोबार रकममा भारी गिरावट आएको छ । बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुन थालेकोमा बिहीबार करिब ११ अर्बमा मात्र सीमित भएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने १.२९ अंकले घटेर २९६८.४३ अंकमा झरेको छ । बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत भएर लगानी गर्दा सचेत हुन आग्रह गरेको थियो । जसको प्रभावस्वरुप बुधबार पनि सेयर बजारमा ७२.४१ अंकले करेक्सन भएको थियो ।
बिहीबार नेप्सेसँगै ७ वटा उपसमूह घटेका छन् भने ६ वटा उपसमूह बढेका छन् । यसदिन बैंकिङ १०.६, व्यापार १४.६७, जलविद्युत् २.९५, उत्पादन ११.८४, माइक्रोफाइनान्स ६७.७४, म्युचुअल फण्ड ०.०४ र इनभेष्टमेन्ट ०.२१ अंकले घटेका छन् । यसैगरी होटल तथा टुरिजम ३६.६, विकास बैंक ९४.२५, फाइनान्स ३३.६६, निर्जीवन बिमा ५२.९८, जीवन बिमा १५.०५ र अन्य समूह २६.७२ अंकले बढेको छ ।
बिहीबार २२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन् । ११३ कम्पनीको सेयर मूल्य घट्यो भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार भएकामध्ये बाँकी १२ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएका छन् ।
बोर्डले लगानीकर्तालाई देशको आर्थिक परिदृश्य, सूचीकृत कम्पनीका प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात, कम्पनीको संस्थागत सुशासन आदिलाई विश्लेषण गरेर मात्र सेयर किन्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्