लगानी सम्मेलनका सार्थकता «

लगानी सम्मेलनका सार्थकता

लगानी सम्मेलनहरूमा निकै ठूलो लगानी प्रतिबद्धता आएको प्रचारप्रसार गरिन्छ, यथार्थमा त्यसको एक अंश पनि लगानी प्रवाह भएकै हुँदैन ।
विगत केही वर्षयता नेपालमा ‘लगानी सम्मेलन’को लहर चलेको छ, कहिले जलविद्युत्का नाममा त कहिले उद्योगसहित समग्र पूर्वाधारका नाममा आयोजना हुने यस्ता सम्मेलनले के कति उपलब्धि दिए वा विनियोजित बजेट सक्नेमात्र उद्देश्यले यस्ता कार्यक्रम हुने गरेका छन् भन्ने बृहत् समीक्षा हुनु जरुरी छ । सामान्यतया नयाँ सरकार बदलिँदा कर्मचारीतन्त्रका उपल्लो पंक्तिले आफ्नो काम देखाउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसमक्ष पहिला यस्ता सभा–सम्मेलनका कार्ययोजना पेस गर्ने गर्छन् र तिनको औचित्य पुष्टि गर्नका लागि अनेकन् कथा बुन्छन् । विगतमा आयोजना भएका समान किसिमका कार्यक्रमहरूबाट के–कस्तो उपलब्धि हासिल भयो भन्ने वास्तविक चित्र भने प्रस्तुत गरिँदैनन् । लगानी सम्मेलनहरूमा निकै ठूलो लगानी प्रतिबद्धता आएको प्रचारप्रसार गरिन्छ, यथार्थमा त्यसको एक अंश पनि लगानी प्रवाह भएकै हुँदैन । निजी लगानीकर्ताहरू सहभागी भएका सम्मेलनमा मात्र होइन, सरकारले अन्तर्राष्ट्रिय स्तरका दातृ निकायका प्रतिनिधिहरू राखेर आयोजना गर्ने दातृ सम्मेलनको पनि उस्तै नाजुक अवस्था छ । तीन वर्षअघि भूकम्पलगतै सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा दाताहरूले कबुल गरेअनुसार सहयोग नै प्रवाह नगरेको स्वयं पुनर्निर्माण प्राधिकरणको विवरणले नै देखाउँछ । भारतले त आफूले प्रतिबद्धता जनाएको सहयोग राशि प्रदान गर्नका लागि यति धेरै सर्त अगाडि सा¥यो कि सरकार त्यो रकम लिनुभन्दा नलिनु नै उपयुक्त हुने निष्कर्षमा पुग्यो । यस्तै अन्य केही दाता पनि फरक–फरक बहाना देखाएर सम्पर्कमा नै आउन चाहेनन् ।
नेपालजस्तो विकासको भोको मुलुकका लागि लगानी अपरिहार्य हो । लगानीका लागि मुख्य स्रोत हुन्– आन्तरिक वा बाह्य लगानी, सरकारी वा निजी लगानी । औपचारिक विकास सहयोग (ओडीए) र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बाह्य लगानीका स्रोतहरू हुन् । औपचारिक विकास सहयोग सरकारी तहबाट प्रवाह हुने लगानीको स्रोत हो भने वैदेशिक लगानी सरकारी वा निजी दुवै तबरबाट प्रवाहित हुनसक्छ । निजी लगानी पनि विगतमा एकल रूपमा बढी प्रवाहित हुने गरेकोमा हालैका वर्षहरूमा संगठित वा भेन्चर लगानीका रूपमा प्रवाह हुने क्रम बढेको छ । अंकट्याडद्वारा हरेक वर्ष प्रकाशित गरिने विश्वव्यापी लगानी प्रवाहसम्बन्धी प्रतिवेदन– ‘वल्र्ड इन्भेस्टमेन्ट रिपोर्ट’ हेर्ने हो भने लगानीका मुख्य स्रोत देशहरूको भूमिका नै बदलिँदै गएको देखिन्छ भने वैदेशिक लगानी प्रवाहमा पनि परम्परागत गतव्यहरूभन्दा नयाँ देशको उपस्थिति बाक्लिँदो छ ।
त्यसैले विश्वव्यापी लगानी प्रवाहको धारको सही ढंगले मूल्यांकन र विश्लेषण नगरीकन आयोजना हुने कुनै पनि किसिमका लगानी सम्मेलनले सही मार्गदर्शन प्रदान गर्न सक्दैन । विदेशी लगानीकर्ताहरूलाई ‘नेपाल आऊ, लगानी गर, किनकि नेपाल लगानीको स्वर्ग हो’ भनेका भरमा उनीहरू ग्वारग्वार्ती नेपाल आउँदैनन् र लगानी पनि गरिहाल्दैनन् । विश्व बैंकले प्रकाशित गर्ने ‘डुइङ बिजनेस’ प्रतिवेदनदेखि सुशासनसम्बन्धी अन्य विश्वसनीय प्रतिवेदनहरू हेरेर त्यसकै आधारमा लगानीको मनस्थिति बनाउँछन् र यतिखेर डुइङ बिजनेस सूचकांकमा नेपालको स्थिति खस्किएको अवस्था छ । अर्थमन्त्रीले सूचकांक सुधार्न विश्व बैंकसँग अनुरोध गरे पनि लगानीको वातावरणमा सुधार नभएको अवस्थामा बैंकले सूचकांकलाई यथास्थितिमा राखेको छ । यस्तो पृष्ठभूमिमा लगानी बोर्ड नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलन0000…………………………………1मा खासखास आयोजनाहरूलाई लगानीयोग्य भनेर प्रदर्शनमा राख्ने तयारी छ । आयोजना प्रोफाइल तयार पार्नु महŒवपूर्ण होइन, ती आयोजनाका लागि सम्भाव्य लगानीकर्ताको पहिचान गरी लक्षित समूहमा मात्र केन्द्रित गर्न सके यस्ता कार्यक्रमका सार्थकता ठहर्छ । नभए, यस वर्षको लगानी सम्मेलनमा पनि उही बिरालो बाँधेर गरिने सराद्ध मात्र बन्ने सम्भावना रहन्छ ।.

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्