बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन निराकारले गर्ने «

बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन निराकारले गर्ने


झापाको बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं कागेश्वरी नगरपालिका–८ मनोहरास्थित निराकार सरसफाइ सेवा प्रालिलाई दिएको छ ।


नगरपालिका र निराकारबीच सम्झौता भएपछि निराकारले फोहोर व्यवस्थापन गर्न थालेको छ । निराकारले १० लाख धरौटी राखेर काम गर्ने जिम्मेवारी लिएको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

निराकारले तीन वर्षका लागि सो जिम्मेवारी पाएको हो । नगरपालिकाले कार्यविधि र ऐन बनाएर स्वच्छ र सफा बनाउने जिम्मेवारी निराकारलाई दिएको हो । उनले निराकार कार्यविधि बाहिर गए कारबाही गर्ने चेतावनी दिए । तोकेको मापदण्ड पूरा गरेपछि निराकार छनोट भएको जनाइएको छ ।
फोहोर व्यवस्थापन सहमतिपत्र आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले नगरबासीलाई फोहोर नगरलाई दिन आग्रह गरे । शिवाकोटीले फोहोरको व्यवस्थापन नगरपालिकाले गर्ने बताउँदै यसका लागि सहयोग गर्न नगरबासीलाई आग्रह गरेका हुन् ।


नगरपालिकाको फोहोर व्यवस्थापनमा अहिले प्रयोग गरिरहेको चार वटा ट्याक्टर निराकारलाई भाडामा उपलब्ध गराइएको नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । “फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च निराकरको हुनेछ” प्रमुख प्रशासकीय अधिकृत दाहालले भने, “व्यवस्थापनमा खटिने कर्मचारीको मासिक तलब भुक्तानी गर्ने दायित्व पनि निराकारको हुनेछ ।” नगरपालिकाले हाललाई डम्पिङ स्थलका रुपमा डोमालाल रंगशाला पश्चिमको खाली जमिनलाई लिएको छ । यसअघि पनि नगरले सोही स्थानमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । “दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौं” दाहालले भने, “यस विषयमा अर्जुनधारा नगरपालिकासँग छलफल भइरहेको छ ।”

निराकारले फोहोरमैला व्यवस्थापन गरेबापत नगरबासीसँग सरसफाइ मासिक शुल्क लिने जनाइएको छ । अढाइ तलासम्म घर भएको एक परिवारले मासिक १९० रुपैयाँ तिर्नुपर्नेछ । अढाइ तला बढी भए प्रतितला थप ५० रुपैयाँ तिर्नु पर्नेछ । सबैभन्दा बढी सिनेमा हल र वधशालासहितको मासु पसलले प्रति ट्रक २५ सयसम्म तिर्नु पर्नेछ । पार्टी प्यालेस, भोज आयोजना स्थललले प्रति ट्रक २९ सयसम्म तिर्नु पर्ने नियम बनाइएको छ । नगरबासीले अनिवार्य सदस्य बन्नु पर्ने, सदस्य नबन्ने व्यक्ति वा संस्थाले उत्सर्जन गरेको फोहोर निराकारले व्यवस्थापन नगर्ने जनाइएको छ ।


बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले फोहोर व्यवस्थापन गाह«ो काम भएको बताउँदै सम्पूर्ण व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता जनाए । “फोहोर व्यवस्थापनका विषयमा हामी सबै व्यवसायीलाई बुझाउने छौं, स्वच्छ बिर्तामोड निर्माणका लागि हाम्रो पनि भूमिका रहने छ ।” बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले स्वच्छ नगर निर्माणको चुनौती सम्पूर्ण जनप्रतिनिधिलाई रहेको बताउँदै फोहोर व्यवस्थापनमा नगर सफल हुने विश्वास व्यक्त गरे । निराकारका प्रमुख रविन भट्टराईले बिर्तामोडको फोहोर व्यवस्थापनको कार्यलाई पाइलट प्रोजेक्टका रूपमा व्याख्या गरे ।

प्रतिक्रिया दिनुहोस्