पसलहरुमा चहल–पहल बढ्यो «

पसलहरुमा चहल–पहल बढ्यो

काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ ।


उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल कायम गरिएको छ । परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो ।


यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो । असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरु पुर्याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशीले बताए । सरकारले परिस्थितिको मूल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनी बताउँछन् ।


ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउँछन् । हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि ताम्राकारले आग्रह गरे ।
काठमाडौं उपत्यकामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्