तीन दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध «

तीन दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध


पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड खुलाउन सकस परेको छ ।


वर्षा नरोकिएका कारण विगत तीन दिनदेखि अवरुद्ध बनेको सडक खुलाउन समस्या भएको हो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।


बुधबार दिउँसो केही बेर खुले पनि फेरि बन्द भएको हो । दिउँसो केही समय खुलेको मध्यहापडी लोकमार्गको पर्वत–बागलुङ खण्ड पुनः बन्द भएको छ प्रहरी निरिक्षक प्रदिप पौडेलले भने, “निरन्तर पहिरो झरेकाले डोजर र सुरक्षाकर्मीलाई समेत जोखिम भएको छ ।” पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुल्नेबित्तिकै बन्द हुने गरेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।

उनका अनुसार सोमबार राती २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्ग अझै पूर्णरूपमा खुलाउन नसकिएको हो । बुधबार दिउँसो खुलेलगत्तै केही सवारी सञ्चालन वारपार गरे पनि एउटा ट्याक्सी पुनः पहिरोले पुरिएपछि अवरुद्ध भएको थियो । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् ।

तर ठूला सवारी साधन भने तीन दिनदेखि सडकमै अलपत्र परेका छन् । साना सवारी भने सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावन हुन थालेका छन् । अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक खण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधबार दिनभर खुलाउने प्रयास भए पनि सम्भव नभएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा बागल्ङ र म्याग्दीका बिरामी स्टे«चरमा बोकेर वारपार गराइएको थियो । सडक अवरुद्ध भएपछि बागलुङ, म्याग्दी र मुस्ताङमा औषधि, ग्याँस तथा खाद्यान्न र तरकारी, फलफूल आपूर्तिमा समस्या परेको छ । वर्षा नरोकिएसम्म सडक खुलाउने प्रयास सफल हुन नसक्ने प्रहरी निरिक्षक पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्