दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति «

दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति

अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन चारवटै जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले निर्माणाधिन जलविद्युत् आयोजनाहरुमा करिब एक अर्बको क्षति पुगेको प्रारम्भीक अनुमान गरीएको छ ।


बाढीका कारण दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधिन बाँध क्षेत्र सँगै पावर हाउसमा समेत क्षति पुगेको छ ।


दुईवटा हेड वक्र्स रहेको सो आयोजनाको दुवै संरचनामा क्षति पुगेको छ । आयोजनाको अडिट टनेल, मुख्य टनेल लगायतका संरचनाहरुमा बाढी पसेपछि अधिक क्षति भएको हो । बाढीले आयोजनाको संरचनामा क्षति पुग्नुका साथै एक्साभेटर, विद्युतिय उपकरण सहितका करोडौ मूल्य बरावरका सामग्री बगाएको आयोजना प्रवद्र्धक कम्पनीका अध्यक्ष इजन बरालले बताए । अध्यक्ष बरालका अनुसार आयोजनाको संरचना सँगै निर्माणधिन १३२ राष्टिय प्रशारण लाइन पनि प्रभावित भएको छ । प्रशारण लाईनका चारवटा पोल ढलेको अध्यक्ष बरालले बताए ।
यसैगरी दोर्दी खोलामा आएको बाढीका कारण लिवर्टी इनजी प्रालिद्धारा निार्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ए आयोजनामा पनि क्षति पुगेको छ । माथिल्लो दोर्दी ए आयोजनाको मात्रै हेडवक्र्स, इन्टेक र डिसेन्डरमा क्षति पुगेको र केहि उपकरण बाढीले बगाएको अयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । लमजुङ विद्युत विकास कम्पनीद्धारा निर्माणाधिन बाढीका कारण सो आयोजनाको पावरहाउनमा क्षति पुगेको र क्षतिको एकिन विवरण आईनसकेको आयोजनाले जनाएको छ ।


दोर्दी खोलामा आएको बाढीको कारण दोर्दी खोलामै निर्माण सम्पन्नको चरणमा रहेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत अयोजनामा पनि क्षति पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको सो आयोजनाको पनि बाँध क्षेत्रमा ठूलो क्षति पुगेको छ भने मस्र्याङदी नदिमा आएको बाढीका कारण पावरहाउसको बाहिरी संरचनामा क्षती पुगेको आयोजना प्रमुख गुरुराज ढकालले जानकारी दिए ।


जलविद्युत आयोजनासँगै दोर्दी खोलामा आएको बाढीले केहि साता अघिमात्रै निर्माण सम्पन्न १३२ केभी राष्टिय प्रशारण लाईनको चारवटा पोल पूर्ण रुपमा क्षति पुगेको छ । दोर्दी ८ बन्सार हिलेमा राखिएका चारवटा पोल बाढीका कारण पूर्ण रुपमा ढलेका छन् भने अन्य केहि पोलहरु उच्च जोखिममा रहेको आयोजना प्रमुख रमेश पौडेलले बताए ।


अत्याधिक पानीको बहावसँगै आएको बाढीले दोर्दी गाउँपालिका अन्तर्गत खोला वारपार गर्ने सडकहरू बगाएको छ । दोर्दीमा दुईवर्ष अघि पनि ठूलो बाढी आउँदा निर्माणाधिन जलविद्युत आयोजनाहरु प्रभावित भएका थिए । हाल निर्माण सम्पन्नको चरणमा पुगेका तिनवटा आयोजनाहरुमा पुनः बाढीको प्रभाव परेपछि निर्माण अवधी र खर्च समेत बढ्ने निश्चित भएको छ ।


अविरल वर्षा सँगै दोर्दी खोलमा आएको बाढीले बन्सारका १५ घर बगाएको छ । दोर्दी ८ बन्सार, हिले दोर्दी किनारमा रहेका १५ घर बगाएको हो । स्थानिय केदार बोहोराका अनुसार दोदी ८ बन्सारका आईते दमै, कन्या तामाङ, गंगा गुरुङ, अमृता विक, राम विक, मैत गुरुङ, चतुरे भनिने व्यक्ती लगायतको घर बगाएको हो । बाढीकै कारण खोला आसपास बस्दै आएका ६० घर विस्थापित समेत भएका छन ।


प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाईटी, आरसिडिसीको सहयोगमा नेपाली सेनाले राहात पु¥याउने प्रयास गरिरहेको छ । खोलामा पानीको बहाव केहि कम भएपनि सडक पहुँच नहुँदा अहिले प्रभावित क्षेत्रमा जानसक्ने अवस्था नभएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले बताए ।


मनाङमा दुई बैंकसहित गाउँपालिका र प्रहरी कार्यालय बगायो
हिमाली जिल्ला मनाङमा अविरल वर्षा सँगै मस्र्याङदी नदिमा आएको बाढीले दुईवटा वित्तिय संस्था सहित गाउँपालिका प्रशासकिय भवन र प्रहरी कार्यालयको भवन बगाएको छ । नदिमा आएको बाढीले बुधबार विहान मनाङको धारापानीमा रहेको नासोँ गाउँपालिकाको प्रशासकिय भवन, इलाका प्रहरी कार्यालय धारापानीको भवन, प्रभु बैक र कैलास बैक रहेको दुईवटा घर बगाएको हो ।
नदिमा पानीको बहाव बढेको र घरहरु समेत बगाउन थालेपछि स्थानियहरु भागेर डाँडा तथा ओढारमा पुगेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेका अनुसार प्रभावित क्षेत्रहरुमा पुग्ने पैदल मार्ग समेत नहुँदा तत्कालै उद्धार तथा राहतको टोलि पठाउन सकिएको छैन ।
सदरमुकाम चामे देखि नासो गाउँपालिकाको धारापानी तथा डुवानमा परेको ताल गाउँसम्म पुग्ने बाटोमा ठाउँठाउँमा पहिरो गएको छ । त्यो विचमा रहेका दर्जनौ खोलाहरुमा ठूलो बाढी आएको र त्यहाँ रहेका पुलहरुमा समेत बाढीले क्षति पुगेकोले प्रभावित क्षेत्रमा पुग्न सम्भावना नरहेको प्रजिअ लामीछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्