धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।
समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा आइसकेकाले पनि आपूर्ति सहज हुने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले पर्याप्त मात्रामा मलको मौज्दात भएकाले पनि यो वर्ष अभाव नहुने बताए । “धान रोप्ने बेला आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि समयमै मल आयात गरेका छांै,” उनले भने, “अहिले नियमितरूपमा मलको वितरण भइरहेकाले किसानले अभाव खेप्नु पदैन ।” धान लगाउने किसानलाई जेठ र असारमा ७० हजार टनभन्दा बढी युरिया वितरण गर्ने सरकारको लक्ष्य छ । धान सिजनका लागि करिब १ लाख टन युरिया आवश्यक पर्छ । एक साताअघि कोभिडको कारणले ट्रकलाई सामान ढुवानीमा सामान्य अवरोध भए पनि अहिले आपूर्तिमा कुनै समस्या नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । अहिले दैनिक २ देखि २५ सय मेट्रिक टन मल सहकारीमार्फत वितरण भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अहिले १९ हजार ८९ मेट्रिक टन युरिया, ३२ हजार २ सय १९ डीएपी, ३५ सय ६० पोटास मौज्दात रहेकाले अभाव नहुने बताए । यस्तै ५० हजार मेट्रिक टन युरिया बाटोमा रहेकाले आउनेक्रममा रहेको कम्पनीले जानकारी दिएको छ । यसमध्येको ३० हजार टेन्डरबाट र २० हजार मेट्रिक टन बंगलादशबाट भित्रन लागेको कम्पनीले जानकारी दिएको छ । धानखेतीका लागि ७० हजार युरिया मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । धानका लागि युरिया र डीएपी मल बढी प्रयोग हुने गर्छ । कम्पनीका अनुसार धानका लागि मात्र ८० हजार मेट्रिक टन युरिया आवश्यक पर्छ । “जुन वर्ष मलको अभाव नभएको देखिएको छ, त्यो वर्षको तथ्यांकलाई हेर्दा सरकारीस्तरबाट कुल मागको आधा परिमाणमात्रै पूर्ति भएको देखिन्छ,” प्रवक्ता पोखरेलले भने, “त्यसैले यो वर्ष पनि माग धान्न सक्ने गरी आपूर्ति भएकाले किसानले अभाव खेप्नु पर्दैन ।”
थप ब्लक (ढिक्का)मा युरिया पनि आयात गर्न लागिएको र कोलकाता बन्दरगाहमा खसालेर बोरामा प्याक गर्ने र रेलका सहायताले मल नेपाल ल्याइने योजना रहेको कम्पनीले जनाएको छ । “असार महिनाभर यो मल पनि नेपाल आइपुग्छ,”)उनले भने । कम्पनीले असार अन्तिमसम्ममा कुल ६७ हजार टन युरिया किसानलाई वितरण गर्ने लक्ष्य राखेको छ । कम्पनीसँग पर्याप्त मल मौज्दात रहेकाले अभाव नहुने उनको भनाइ छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले भने किसानले अझै पनि सहजरूपमा मल पाउन नसकेको बताउँछन् ।
सरकाले आगामी वर्षका लागि बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेर करिब ६ लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय मूल्य ३ सय डलर प्रतिटन आसपास रहे पनि सरकारी लक्ष्यअनुसार नै खरिद गर्न सकिन्छ । तर, अहिले युरियाको मूल्य बढेर ४ सय डलर प्रतिटन नाघेको छ । एक साताअघि युरियाको मूल्य ४ सय २० डलर प्रतिटन थियो । अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य कायम हुने हो भने १२ अर्बले २ लाख ८५ हजार टनदेखि बढीमा ३ लाख टनमात्रै मल ल्याउन सकिन्छ । यो वर्ष ११ अर्ब रुपैयाँ अनुदान हुँदा साढे ४ लाख टन मल भित्रिएको छ ।
कृषि सामग्रीका अनुसार वार्षिक रूपमा ८ लाख टन मलको आवश्यकता पर्छ । सरकारी कोटामै मल वितरण गर्ने जिम्मेवारी लिएको साल्ट ट्रेडिङसँग भने अहिले मल छैन । साल्ट ट्रेडिङले कोटामा प्राप्त सबै मल ल्याएर वितरण गरिसकेको जनाएको छ । तर, आगामी आव ०७८÷७९ को कोटाबाट ५० हजार टन युरिया आयातको प्रक्रिया सुरु गरेको छ । यो मल भदौमा ल्याउने गरी टेन्डर प्रक्रिया अघि बढाएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । यसरी बाटोमा रहेको १ लाख टन मलले आपूर्ति सहज बनाउन सहयोग मिल्ने मन्त्रालयको अपेक्षा छ ।