सवारी र नयाँ प्रविधिमा दर्शकको आकर्षण «

सवारी र नयाँ प्रविधिमा दर्शकको आकर्षण

विराटनगर-काठमाडौंभन्दा बाहिरको सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको विराट ट्रेड एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार भएको छ ।
एक्स्पोमा आइतबारसम्म तीन दिनमा ७ करोडको कारोबार भएको आयोजक मोरङ व्यापार संघका महासचिव नविन रिजालले बताए । तीन दिनमा ४० हजार दर्शकले एक्स्पोको प्रत्यक्ष अवलोकन गरेका छन् । “मौसमले पनि साथ दिएर होला दर्शकको भीड यति धेरै बढेको छ कि थाम्नै गाह्रो भइरहेको छ,” रिजालले भने, “हरेक दिन दर्शकको चाप बढिरहेको छ ।” विराटनगर–२ शंकरपुरस्थित खाली जमिनमा आयोजना गरिएको एक्स्पोमा २ सय ५० स्टल समावेश गरिएको छ । उनका अनुसार सवारी साधन र नयाँ प्रविधिमा दर्शकको आकर्षण देखिएको छ । चार वटा गाडी र १७ वटा मोटरसाइकल बिक्री भइसकेको छ मेलास्थलबाटै । “बुकिङ पनि त्यसकै अनुपातमा भइरहेको छ,” उनले भने । त्यसपछि खाद्यन्नमा भन्दा लत्ताकपडामा बढी भीड देखिन्छ दर्शकको । मेलामा जुम्लाको स्याउदेखि इलामको चियासम्म राखिएको छ ।
भोजपुरको खुकुरीदेखि पाल्पाको करुवासम्म अवलोकनकर्ताले खरिद गर्न पाउनेछन् एक्स्पोमा । अर्गानिक उत्पादन पनि ग्राहकको चाप छ । अर्गानिक चिया, दाल, चामल, तरकारी, अल्लोको कपडा, जुत्ताचप्पलको पनि उत्साहजनक कारोबार भइरहेको आयोजक समितिका संयोजक अनुपम राठीले जनाए । “नयाँ–नयाँ उत्पादनमा ग्राहकको औधी रुचि देखियो,” राठीले भने, “सामान खरिद गर्ने मात्रै होइन होटल र रेष्टुरेन्टमा खानाका पारखीको भीड पनि उत्तिकै बाक्लो छ ।” एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट पनि २५ वटा स्टल समावेश गरिएको छ ।
सेल्फी जोनमा राखिएको डायनोसरको दुईवटा प्रतिमाले पनि दर्शकलाई निकै तानेको छ । अटोमोबाइल्स, आइटी, बैंक, निर्माण सामग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पल, स्वास्थ्य, पर्यटनसहित दैनिक उपभोग्य सामग्रीहरू प्रदर्शन गरिएका छन् । बालबालिकाका लागि छुट्टै मनोरञ्जनस्थल छुट्याएर विभिन्न खेल सामग्री राखिएको छ । मेलामा आउने दर्शकका लागि मनोरञ्जन र किनमेलबाट सन्तुष्ट भएर फर्किने वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । यसबाहेक फेसन शो पनि हुने गरेको छ । ९ दिने मेलामा साढे २ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्