निक इलेक्ट्रो टेक ७५ हजार जनाद्वारा अवलोकन «

निक इलेक्ट्रो टेक ७५ हजार जनाद्वारा अवलोकन

‘नवौं निक इलेक्ट्रो टेक–२०१८’

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित राजधानीको भृकुटीमण्डपमा जारी निक इलेक्ट्रो टेक–२०१८ को सोमबार चौथो दिनसम्म आइपुग्दा पनि अवलोकनकर्ताहरूको चासो र सहभागिता उल्लेख्य रहेको पाइएको छ । मेलाको अवलोकन गर्न पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको भीड लागेको थियो ।
चौथो दिन सोमबार १५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । मेला सुरु भएको दिनदेखि सोमबारसम्म ७५ हजार जनाले प्रदर्शनीको अवलोकन गरिसकेका छन् । सोमबार नेपालका लागि श्रीलंकाका राजदूत स्वर्णलता परेराले पनि मेलाको अवलोकन गरे । मेला अवलोकन गर्दै उनले नेपालमा पनि यस्तो प्रदर्शनी आयोजना हुने रहेछ भनेर खुसी व्यक्त गरिन् ।
मेलामा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएका छन् ।
राष्ट्रिय एवं अन्तर्राट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूका नविनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तावर्गलाई यससम्बन्धी जानकारी अद्यावधिक गराउने उद्देश्यसहित सञ्चालित प्रदर्शनीमा ७७ वटा स्टल छन् ।
गत शुक्रबार ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेको मेला आज (मंगलबार) सम्पन्न हुँदैछ ।
ऊर्जा सम्बन्धी गोष्ठी
मेलाको सोमबार चौथो दिन ऊर्जासम्बन्धी गोष्ठी आयोजना गरियो । गोष्ठीमा इन्जिनियर डा. अमृतमान नकर्मीले ऊर्जाको महत्व र प्रयोगको बारेमा प्रस्तुतीकरण दिए । उनले नेपालमा विद्युतीय सामग्रीहरूको प्रयोगको अवस्थाको बारेमा जानकारी दिए । पेट्रोलियम पर्दाथबाट चल्ने सवारीसाधनहरूको सट्टा इलेक्ट्रिक भेहिकलहरूको प्रयोगमा ध्यान दिनुपर्ने बताउँदै उनले सरकारले नै विद्युतीय विकासलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए ।
त्यसैगरी उनले इन्धनका नाममा ठूलो धनराशी बाहिरिरहेको बताउँदै विद्युत् विकासलाई प्राथमिकतामा राख्न सके उक्त धनराशी नेपालमै सदुपयोग हुने बताए । नवीकरणीय ऊर्जाहरूको विकास गर्न सके विद्युतीय सामग्रीहरूको उत्पादनमा लगानी भित्रिने बताउँदै उनँले विद्युतीय सामग्रीको प्रयोगले वायु प्रदूषणसमेत रोक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्