बाढी पहिरो विपद्को फितलो व्यवस्थापन «

बाढी पहिरो विपद्को फितलो व्यवस्थापन


कोरोना भाइरसको संक्रमणका कारण आहत भइरहेका बेला मौसम विज्ञहरूले यस वर्षको मनसुनी वर्षा अघिल्ला वर्षको तुलनामा अत्यधिक बढी हुने चेतावनी दिएका छन् । तर, बाढी तथा पहिरोको सम्भावित विपद्को जोखिम न्यूनीकरण र प्रकोप उद्धारको व्यवस्थापनमा जिल्लाका स्थानीय पालिकाहरूको भने अर्थपूर्ण प्रयास हुन सकेको छैन ।


विपद् व्यवस्थापनको पूर्वसूचना प्रणाली, प्रकोपमा परेकाहरूको सहज रूपमा व्यवस्थापनका तयारीलगायत जोखिममा रहेका बस्तीलाई सम्भावित क्षेत्रबाट स्थानान्तरण गर्ने प्रयास स्थानीय पालिकाहरूले गर्न सकेका छैनन् । मौसम विज्ञहरूको चेतावनीसँगै राष्ट्रिय विपद् प्राधिकरणले देशभर सबै पालिकालाई अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा भिषण बाढी र पहिरोको सम्भावन रहेको भन्दै त्यसमा उच्च सतर्कता अपनाउन तथा क्षति न्यूनीकरणका अधित्तम प्रयास थाल्न निर्देशन दिए पनि स्थानीय पालिका भने यसतर्फ गम्भीर बन्न सकेका छैनन् । जिल्लाका पालिकाहरूमा विपद् व्यवस्थापनका लागि पूर्वतयारीको अवस्था फितलो देखिएको छ । जुुन बेला विपद् आइलाग्छ त्यति नै बेला तयारी थाल्ने परम्परा नै बसिसकेको छ । यसले गर्दा कुनै ठूलो विपद् आइपरेमा ठूलो धनजनको क्षति हुने सम्भावना बढेको छ ।

छिट्टै बैठक बस्छौं
तुलसीपुर उपमहानगरपालिकामा निर्देशन आएसँगै अब एक÷दुई दिनमै समन्वयात्मक बैठक बसेर तयारी गर्ने उपमहानगरपालिकाले जानकारी दिएको छ । सुरक्षा निकाय, सम्बन्धित सरोकारवालासँग बैठक बसेर विपद् व्यवस्थापनको तयारी थाल्ने उपमहानगरपालिकाले बताएको छ । आइपर्ने विपद्लाई कसरी व्यवस्थाापन गर्ने र त्यसमा कसको भूमिका के भन्ने विषयमा छलफल पछि टुंगोमा पुग्ने विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिएका छन् ।

उनले पूर्वसूचना प्रणालीअन्तर्गत वेबसाइटमा जानकारी दिने, लिने, यसअघि पूर्वअभ्यासहरू गरिएको र त्यसका लागि टिम गठन गर्ने र मोबाइल एसएमएसमार्फत् तत्काल जानकारी दिने बताए । त्यस्तै तयार नेपालले उद्धार सामग्रीसमेत गत वर्ष उपलब्ध गराएको र उमहानगरपालिका पनि सामग्री रहेको डाँगीले जानकारी दिए । विपद् पीडितलाई व्यवस्थापन गर्न विपद् प्रकोप उद्धार कोषको व्यवस्थापनका लागि बजेटको व्यस्थापन गरेको र त्यसका लागि कति रकम छुट्याउने भने विषयमा छलफल हुने डाँगीले जानकारी दिए । न्यूनतम उद्धार सामग्री र उद्धार टिमको व्यवस्थापनका विषयमा सुरक्षा निकायसँग समन्वय गरी अगाडि बढ्ने उनले बताए । “हामी एक्लैले केही गर्न सक्ने अवस्था छैन्, हामीले सबै व्यवस्थापन मिलाउने हो, यसका लागि सुरक्षा निकायकै सहयोग माग्नु पर्ने हुन्छ,” उनले भने । उनले उद्धार टिम गठन गर्ने, उद्धारका लागि आवश्यक पर्ने सामग्री जस्तै जेसीबी, टिपर र गाडीहरू तयारी अवस्थामा राखेको बताए । प्रमुख डाँगीले सचेतनाका लागि सार्वजनिक सूचना तयार गरी प्रचारप्रसारका लागि तयारी गरेको बताए ।

हामी तयारी अवस्थामा छौं
त्यस्तै विपद् व्यवस्थापन शाखा दंगीशरण गाउँपालिकाले पूर्वसूचना प्रणालीका अभ्यास खासै नभएको जनाएको छ । विपद् शाखा प्रमुख बालकृष्ण भण्डारीले विपद् प्रकोप उद्धार कोष भने व्यवस्थापन पहिलेदेखि नै रहेको जानकारी दिए । उनले विपद्मा परेकालाई तत्कालका लागि खाद्यान्नदेखि विभिन्न सहयोग र पीडितलाई व्यवस्थाका लागि सबै तयारी रहेको बताए । उनले उद्धार सामग्री स्टक रहेका अन्य सामग्री किन्ने तयारीमा गाउँपालिमा रहेको जानकारी दिए । भण्डारीले जिल्ला प्रशासन कार्यालयले भने विपद्का लागि आवश्यक सामग्री तयारी गर्न भने परिपत्र गरेको बताए ।

त्यससँगै पालिकाले एम्बुलेन्स, डोजरलगायत उद्धारका सामग्री तयारी अवस्थामा राखेको जानकारी दिए । सम्भावित जोखिममा रहेका नागरिकलाई अस्थायी रूपमा विद्यालयमा स्थानान्तरण गर्ने उनको भनाइ छ । उनले पूर्वसूचना प्रणालीअन्तर्गत फोनको माध्यमबाट सूचना आदान–प्रदान गर्दै आएको बताए । “विपद् व्यवस्थापनका लागि छुट्टै टिम गठन भएको छैन, जनप्रतिनिधि, सुरक्षा निकायले नै यसको व्यवस्थापन गर्ने काम यसअघि भएका थिए,” प्रमुख भण्डारीले भने ।


यसैगरी लमही नगरपालिकाले बाढीजन्य विपद्को तयारीमा रहेको जनाएको छ । लमही नगरपालिकाको राप्ती नदी क्षेत्रमा बाढीको जोखिम रहेको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए । “हामी हाम्रो तर्फबाट तयारी गरिराखेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने । बाढी आइहाले उद्धार सामग्री रहेको र यसलाई थप गर्ने योजनासमेत रहेको उनको भनाइ छ । पूर्वसूचना प्रणालीसमेत रहेको प्रमुख शासकीय अधिकृत डाँगी बताउँछन् । नदीमा बाढीको मात्रा मापन गरेर जानकारी गराउने काम हुने उनी बताउँछन् । “यस सूचना प्रणालीले नागरिकलाई सुरक्षित राख्न सहयोग पु¥याउने छ,” प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने । नगरपालिकाले छिट्टै बैठक बसेर थप कार्य अगाडि बढाउने लमही नगरपालिकाले जनाएको छ ।

बाढी आए पनि समस्या छैन
गढवा गाउपालिकामा बाढी उच्चखोजिम नरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा केही स्थानमा डुबानको समस्या भए पनि बाढीले बगाउने समस्या नभएको गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले बताए । बाढीजन्य विपद्का बारेमा आफूहरू तयारी अवस्थामा रहेको बताए । गाउँपालिकाको केही दिनमा बैठकले थप योजना निर्माण गरेर अगाडि बढ्ने अध्यक्ष अहिरले बताए । यसैगरी राजपुर गाउँपालिका पनि बाढीजन्य विपद्को जोखिम क्षेत्र रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नो तर्फबाट तयारी गरिराखेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले जानकारी दिए ।

गाउँपालिकासँग उद्धार सामग्रीसमेत तयारी अवस्थामा रहेको उनले बताए । गाउँपालिकाका खोज उद्धार समिति वडासम्म गठन भएको र त्यसलाई सक्रिय बनाइने उनको भनाइ छ । विभिन्न सामाजिक संघसंस्थाले सामग्री तथा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको छिट्टै बस्ने बैठकले निर्णय गरेर अगाडि बढ्ने सूचना अधिकारी थापाले बताए ।


त्यस्तै बबई गाउँपालिकाले पूर्वसूचना प्रणालीअन्तर्गत तालिम दिनेदेखि विभिन्न समूह तयार पारिएको अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिएका छन् । नेपाल रेडक्रससँगको सहकार्यमा आवश्यक उद्धार सामग्रीको समेत व्यवस्थापन गरिएको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलले जानकारी दिए । उनले बाढी आउन साथ जानकारी हुने र एमएस जडान गरेकाले साइरन बज्ने र सतर्कता अपनाउन सूचना दिने बताए । उनले २०७१ सालमा आएको बाढीले धेरैको धनजन र ७ जनाको मृत्यु भएको भन्दै त्यससँगै आफूहरू जहिले पनि तयारी अवस्थामा रहने गरेको बताए । “अब वर्षात् सुरु हुन लाग्यो, बाढीपहिरोले धनजनको क्षति नहोस् भनेर हामी तयारी अवस्थमा हुन्छौँ, हाम्रो तयारी अहिले पनि छ,” अध्यक्ष पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्