श्रम तथा रोजगार पत्रकारिता पुरस्कार घोषणा «

श्रम तथा रोजगार पत्रकारिता पुरस्कार घोषणा


श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो ।


पुरस्कार छनोटका लागि २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिने समूहका अध्यक्ष सुनिल न्यौपानेले बताए । घोषणा गरिएको प्रथम पुरस्कारको राशी ३० हजार, दोस्रो हुनेलाई २० हजार तथा तेस्रो हुनेलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने समूहले जनाएको छ ।


प्रतिस्पर्धामा सहभागी हुन इच्छुक श्रम रोजगार विधामा क्रियाशील सञ्चारकर्मीले तोकिएको समयभित्र कुनै पनि सार्वजनिक सञ्चारमाध्यम (पत्रिपत्रिका÷अनलाइन÷रेडियो÷टिभी) मा नेपाली वा अंग्र्रेजी भाषामा प्रकाशित वा प्रशारित सामग्री हुनुपर्नेछ । उक्त सामग्री यही असार ३१ गते अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्ने समूहले जनाएको छ । निर्धारित समयावधिभित्र प्राप्त हुने आवेदनलाई मात्र मान्यता दिइने जनाइएको छ ।


पुरस्कारका लागि प्राप्त सामग्रीको मूल्यांकनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने र सो समितिमा श्रम आप्रवासनसम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मीलगायत संलग्न रहने अध्यक्ष न्यौपानेले जानकारी दिए । नेपाल वा विश्वका जुनसुकै मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मी यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सिर्जनशील ढंगबाट प्रस्तुत गरिएको हुनुपर्नेछ ।

वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान समस्याको गहन विश्लेषण तथा समस्या समाधानको उपायसमेत समेटिएको सामग्रीलाई प्राथमिकता दिइने, यस्ता सामग्री प्राथमिक स्रोतमार्फत संकलन गरिएका सूचना, जानकारीमा आधारित हुनुपर्नेछ । कुनै प्रकाशित, प्रशारित सामग्रीलाई द्वितीय स्रोतको रूपमा सामग्रीमा प्रयोग गरिएको खण्डमा सोको बारेमा सम्बन्धित सामग्रीमा स्पष्टसँग खुलाइएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।


उक्त सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतरालाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रक्रियाप्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तु समेटिएको हुनुपर्ने समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्