Logo

खोप लगाउने सहमतिपछि ट्यांकर चालकको आन्दोलन फिर्ता

कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूको आन्दोलन फिर्ता भएको छ ।


नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो । खोप लगाउने भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । “बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,” संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


संघका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सयजना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।


यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४ सय चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको संघले जानकारी दिएको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति दिएको छ ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्