बाढी पहिरोले हाइड्रोका निर्माण सामग्री बगायो «

बाढी पहिरोले हाइड्रोका निर्माण सामग्री बगायो


कास्कीको मादी गाउँपालिका–४ मा निर्माण हुँदै गरेको सुपर मादी हाइड्रोपावरमा वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पु¥याएको छ ।


करिब २०६० साल पछि लेदोसहितको ठूुलो बाढी आउँदा सुपर मादी हाइड्रो निर्माण गर्न प्रयोग गर्ने निर्माण सामग्रीदेखि निर्माणमा प्रयोग हुने हेभि सवारीसाधन समेत बाढीले बगाएको सुपर मादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

दुई दिनदेखि वर्षा भए पनि गएराति ठूलो पानी परेको हुँदा अन्नपूर्ण २ र लमजुङ हिमालदेखि आएको बाढी पहिरोले हाइड्रोपावरमा रहेका २ वटा स्काभेटर, एउटा टिपर, एउटा क्रसर मेसिन, ट्रान्सफर्मर, ढुंगा गिटी र बालुवा तथा रडलगायतका निर्माण सामग्री बगाएको ढुंगानाले जनाए ।

उनले भने, “करिब १८ वर्षपछि मादीमा ठूलो बाढी आएको हो, यसपालि हामीले पहिलेदेखि पूर्वसावधानी अपनाएका कारण हालसम्म मानवीय क्षति भने भएको छैन, पहिला हामी मानवीय क्षति नहुनेतर्फ केन्द्रित भएका छौं ।” माथिबाट लेदोसहित पानीको ठूलो बहाव निरन्तर आएकाले विभिन्न ठाउँमा पहिरो गएको हुनसक्ने उनले जनाए ।


प्रारम्भिक अध्ययन अनुसार हालसम्म बाढीका कारण करिब २० करोड मूल्य बराबरको क्षति पुगेको उनको दाबी छ । उक्त हाइड्रोपावरको फाउण्डेसनको करिब ८० प्रतिशत निर्माणकार्य सकिएको बताएका उनले यस वर्षको बाढीले केही असर पु¥याएकाले निर्माणकार्यमा केही ढिलाइ हुने आशंका व्यक्त गरे । हालसम्म हाइड्रोपावरको भवनसहितको क्षेत्रमा भने बाढीको खतरा कम भएको उनले जनाए । गत वर्षको बाढीभन्दा यस वर्ष करिब दोब्बरले बढी ठूलो बाढी आएको स्थानीयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्