बाढीले स्याङ्जाका ८ घर बगायो «

बाढीले स्याङ्जाका ८ घर बगायो

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणी बजारमा बाढी पस्दा ८ घर पूर्णरूपमा क्षति भएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीको बाढी घरहरूभित्र पस्दा ८ घर पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।
नदीको पानी घरभित्र पसे पनि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि र रेडक्रसको सहकार्यमा उद्धार गर्दा मानवीय र चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार गल्याङ–५ सेतीवेणी बस्ने केशबहादुर क्षेत्री, केशवराज न्यौपाने, ठाकुरप्रसाद श्रेष्ठ, रेशमराज न्यौपाने, लक्ष्मी पति न्यौपाने, गुरु बहादुर क्षेत्री, तेजराम काफ्ले र त्रिविक्रम हेजुको घर पुर्ण रुपमा क्षति भएको छ । ८ घरपरिवारका २४ जनालार्ई उद्धार गरी पालहरू वितरण गरिएको प्रहरीले बताएको छ ।

त्यसैगरी बजारसँगै रहेको विश्वकै ठूलो मानिएको शिला शालिग्राम आधाभन्दा बढी डुबानमा परेका छन् । स्याङ्जा, पर्वत र गुल्मीको स्थलमा रहेको सतीवेणीका झण्डै ३५ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष विष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिए ।

मुलुककै ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत उत्पादन केन्द्रको बाँधका कारण वर्षातका समयमा सधैँजसो सेतीवेणी प्रभावित हुन्छ । सेतीवणी स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको पुरानो ब्यापारिक केन्द्र हो । तर, अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएसँगै यो बजार केही छायाँमा परेको छ ।

विश्वकै ठूलो शिला शालीग्रामको दर्शन, जलयात्रा (स्टिमर) सेवा सञ्चालन र कालीगण्डकी नदीको स्नानका कारण बर्षेनी हजारौँ हिन्दुधर्मालम्बीहरू दर्जनका लागि र अवलोकनका लागि पनि यहाँ आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्