बालसिकाइमा वातावरणको भूमिका «

बालसिकाइमा वातावरणको भूमिका

मानव वृद्धि र विकासका विभिन्न अवस्थामा गर्नुपर्ने कार्यहरू बालकले नगरेसम्म त्यसको नकारात्मक प्रभाव पूरै मानवजीवमा पर्न सक्छ ।

मानवको जन्मपश्चात् उसको आफ्नो शारीरिक तथा मानसिक विकासमा उचित रेखदेख भएन भने बाल्यकालदेखि नै विविध समस्या र अवरोधको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ बालक जम्मेदेखि नै उसको राम्रो हेरचाह खानपान र दुई वर्षपश्चात् सामान्य सिकाइका चरणहरूप्रति आकर्षित गर्नुपर्छ । मानव विकासका सबैभन्दा पहिला विकासका चरणहरूमध्ये शैशव अवस्थालाई वास्तविक आधारशिलाको अवस्था मानिन्छ, किनभने यसै समयमा बालकका व्यावहारिक क्रियाकलाप व्यावहारिक ढाँचाहरू संवेगात्मक अभिव्यक्तिहरू निर्धारण गर्छन् । मनोवैज्ञानिक विश्लेषणका आधारमा बालकको पहिलो दुई वर्ष निकै महत्वपूर्ण हुन्छ, किनभने यस उमेरमा बालकले आफ्नो भावी जीवनको व्यवहारको रेखांकन गर्छ । बालकहरूमा विश्वास र अविश्वासको विकास यसै बेला हुने गर्छ । त्यति मात्र नभई बालकले आफूलाई स्वतन्त्र ढंगले क्रियाशीलसमेत बनाउँछ । त्यसैले यस बेला बालकलाई असल व्यवहारको ज्ञान र पूर्ण सामाजिक व्यवहार दिन सके उसको मानसिक विकास राम्रोसँग हुन्छ ।
बालकले सबैभन्दा पहिले घर त्यो पनि आमाबाटै धेरै कुरा सिक्छ, किनकि आमासँगै बढी समय बालक रहने भएकाले बालकका लागि पहिलो पाठशाला घर र शिक्षक स्वयं आफैं नै हुन्छिन । मानव वृद्धि र विकासका विभिन्न अवस्थामा गर्नुपर्ने कार्यहरू बालकले नगरेसम्म त्यसको नकारात्मक प्रभाव पूरै मानवजीवमा पर्न सक्छ । दृष्टान्तका लागि बालक जन्मनेबित्तिकै यदि रोएन भने उसको श्वासप्रश्वास क्रिया सञ्चालन हुन सक्दैन । त्यस्तै बालकको शारीरिक र मानसिक विकासका लागि पर्याप्त मात्रामा सुत्नुपर्छ । यदि बालक नसुतेमा बालक रुन्चे, ख्याउटे र रोगीजस्तो हुन्छ । शैशव अवस्थामा बालका विकासात्मक कार्यहरूमा ठोस खान सुरु गर्नु, सामान्य तथा सजिला शब्दहरूद्धारा बोल्न सक्नु, हिँड्न सक्नु, भोक–निद्राजस्ता आवश्यकताहरूमा स्थिरता कायम गर्नु शारीरिक क्रियाकलापमा सामान्य नियन्त्रण राख्नु, दिसा–पिसाब गर्ने कार्य आंशिक नियन्त्रण गर्न जान्नु, परिवारका सदस्यसँग संवेगात्मक सम्बन्ध कायम गर्नु जस्ता कार्यहरू गर्छन् ।
बालबालिकामा व्यक्तिगत भिन्नता ल्याउने दुई तत्वहरू हुन्छन्— बाह्य र आन्तरिक । बाह्य भन्नाले समाज धार्मिक तत्व सामाजिक–संस्कृतिक तत्व रहनसहन आदि हुने भने आन्तरिक तत्व भन्नाले वंशाणुगत गुण हो । गर्भधारणदेखि किशोरावस्थासम्म देखिने शारीरिक, सामाजिक एवम् संवेगात्मक परिवर्तन तथा बौद्धिक क्रियालाई बालविकास भनिन्छ । मूलतः बालविकासका सन्दर्भलाई दृष्टिगत गर्दा शैशव अवस्था बढी महत्वपूर्ण मानिन्छ । यस अवस्थाका बालबालिकामा शारीरिक विकास, तौल र उचाइको विकास शरीरका अंगहरूको अनुपातिक विकास, हाड र दातको विकास, स्नायु प्रणालीको विकास, उत्सुकता, हर्ष, स्नेहको विकास, सामाजिक संयोजनका कार्यहरूको विकास र पारिवारिक सम्बन्ध तथा व्यक्तित्वका विकास हुने गर्छ । यी सबै प्रकारका विकासलाई शैशव अवस्थाका विशेषता भनेर बुझ्न सकिन्छ ।
बालबालिकाहरूको उमेरअनुसार विभिन्न चरणमा विभक्त गरिएका छन्, जसअनुसार पूर्ववाल्यवस्था भन्नाले बालबालिकाहरूको दुई वर्ष देखि ६ वर्षसम्मको उमेरलाई जनाउँछ । यस समयका बालबालिका घरायसी वातावरणमा थुप्रै कुरा सिकेर विद्यालय जाने उमेर भएको हुन्छ । यस बेलाको उमेरलाई समस्याको उमेर नक्कल गर्ने उमेर जिज्ञासु उमेर भनेर पनि भनिन्छ, परिवारको वातावरणबाट विद्यालयको वातावरणमा जानुपर्ने भएकाले मानव बुद्धि र विकासका दृष्टिकोणले ज्यादै महत्वपूर्ण र सामाजिकीकरणका हिसाबले संवेदनशील मानिन्छ । त्यसैगरी ६ वर्षको उमेरदेखि यौन परिपक्वता हासिल नगरुन्जेलसम्मको उमेरलाई उत्तरबाल्यवस्था भनेर चिनिन्छ, मानव वृद्धि र विकासका दृष्टिले हेर्दा यस अवस्था परिपक्वतामा जाने पूर्वाधारको अवस्था हो ।
सामान्यतया बालबालिकाहरूको ६ वर्षको उमेरदेखि परिपक्वता हासिल नगरुञ्जेलसम्मको उमेरलाई हामी उत्तरबाल्यवस्था भनेर चिन्छौं । मानवको वृद्धि र विकासका दृष्टिले यो परिपक्वतामा जाने आधारको महत्वपूर्ण अवस्था हो । केटा र केटीहरूमा यौन परिपक्वता हासिल गर्ने उमेर अलग–अलग भएकाले यस अवस्थामा केही भिन्नता पनि देखिन्छ । सामान्यतया केटीमा १३ वर्ष र केटामा १४ वर्षमा यौनिक परिपक्वता आउँछ । यस समूहका केटाकेटीहरूलाई दुःख दिने उमेर, फोहरी उमेर, झगडालु उमेर भनिन्छ, तर शिक्षाविद्हरूले विद्यालय जाने उमेर भनेर परिभाषित गरेका छन् । यसै उमेरका बालबालिकाहरूलाई मनोवैज्ञानिकहरू बालसमूहको उमेर रचनात्मक उमेर र खेल खेल्ने उमेर भनेर परिभाषा गर्छन् । यस समयमा बालबालिकामा सामाजिकीकरणको प्रक्रिया तीव्र हुन्छ । नैतिक दायित्वको बोध हुने चञ्चले उमेर भएकाले मानव वृद्धि विकासका दृष्टिले यस अवस्थालाई महत्वपूर्ण मानिन्छ ।
बालबालिका जब १० वर्षदेखि १४ वर्षसम्मका हुन्छन्, त्यस बेलामा उनीहरूलाई यौवनावस्थाको उमेर चिनिन्छ । यस अवस्थालाई पूर्वकिशोरावस्था पनि भनिन्छ । यस समयमा विशेष केटीहरूमा धैर्यता नहुने, चिडाचिडाहट हुने, तुरुन्त उत्तेजनामा आउने र अरूको सहायताको आवश्यकता पर्ने हुन्छ, यसैले दार्शनिक, मनोवैज्ञानिक आमाबाबु, शिक्षक सबैले परिवर्तनको अवस्था भन्ने वास्तविकतालाई मानेका छन् । यस समयमा बालबालिकालाई उचित र प्रभावकारी रेखदेखको खाँचो रहन्छ । सही निर्देशन र रेखदेख नभएमा उनीहरू गलत मार्गमा पुग्ने खतरा रहने भएकाले यसबेला बालबालिकालाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । बालबालिकामा बोलीको विकास हुनुलाई सञ्चार माध्यमको विकास भनिन्छ ।
सञ्चारको विकास भनेको बोली वा भाषाको विकास हो । यस उमेरका बालबालिका कुरौटे स्वभावका हुन्छन् । बालबालिकाको शारीरिक–मानसिक विकाससँगै बोलीको पनि विकास हुन्छ । उनीहरूमा शब्दभण्डारको विकास नभएसम्म हाउभाउ, संकेत वा संवेगात्मक अभिव्यक्तिहरू गर्छन् । बिस्तारै उनीहरूमा शब्द उच्चारण, शब्द निर्माण र वाक्य निर्माणको कार्य अगाडि बढ्दै जान्छ । तीन–चार वर्षको उमेरसम्म बालबालिकाहरू राम्रो उच्चारण गर्न नसक्ने हुन्छन् । त्यसबेला उनीहरू मामा, चाचा, बाबाजस्ता सरल शब्द उच्चारण गर्न सक्षम हुन्छन् ।
बालबालिकाहरू अर्काको बोलीलाई जस्ताको तस्तै नक्कल गर्ने गर्छन् । यस किसिमको बानीले पनि उनीहरूमा बोलीको विकास हुन्छ । सामान्यतया बालबालिकालाई जति अभ्यास गराउन सक्यो त्यति नै राम्रो र स्पष्टसँग भाषिक विकास हुन्छ । बालबालिकाको बोलीको विकास वाचनयन्त्र रचनामा आएको परिपक्वता, मस्तिष्कमा आएको परिपक्वता, क्रियात्मक सीप विकास अध्यास नक्कल र उचित प्रकारको पथप्रदर्शनमा भर पर्ने भएकाले बालसिकाइमा बढी ध्यान दिनु जरुरी हुन्छ । बालबालिकाले डुबाउने माया, प्रेम, स्नेह, क्रोधमय बालबालिबालाई हामी बोलीचालीको भाषामा काँचो माटो भनेर तुलनासमेत गर्छौं । किनभने काँचो माटोलाई जस्तो आकार कुमालेले दिन चाह्यो त्यस्तै बन्छ ।
बालबालिकालाई घर–परिवारबाटै असल बानी–व्यवहार, बोली, शिष्टताको संस्कार सिकाउन सकियो भने उसको स्वभाव पनि त्यस्तै बन्छ, त्यसैले सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै बालकलाई घरमा उचित रेखदेखको खाँचो रहन्छ । त्यसपछि विद्यालय हो, जहाँ ऊ करिब पाँच–छ घण्टासम्म रहन्छ, बालबालिकालाई रमाइलो वातावरणमा सिकाइको क्रियाकलप गर्नुपर्छ । उनीहरूको उमेर भनेको खेल्दै सिक्ने उमेर भएकाले कक्षाकोठामा बालमैत्री खेलौना र कक्षाको व्यवस्थापन भएको हुनुपर्छ । बालबालिकालाई सामाजिकीरण गराउने तत्वहरू भनेको भाषा, प्रेम, स्नेह तथा समाजिक अन्तत्र्रिmयालाई मानिन्छ । त्यसैगरी परिवार, साथी, समूह, विद्यालय, समुदाय, संघसंस्था, धार्मिक समूह, सञ्चारमाध्यमजस्ता सामाजिकीकरणका निकायहरूसँग बालबालिकाहरू अन्तत्र्रिmया गर्ने हुँदा पनि यस अवस्थालाई महत्वपूर्ण मानिन्छ ।
यसबेला घरपरिवारले आफ्ना बालबालिकालाई चनाखो भएर ध्यान पु-याउनुपर्छ । यस समयमा दर्शनात्मक भन्दा स्विकारात्मक सामाजिकीकरण प्रक्रियामा संलग्न गराउनुपर्छ । बालबालिकामा नैतिक विकासको महत्वपूर्ण अवस्था भनेको पूर्वबाल्यावस्था हो । यस बेला उनीहरूले ठीक–बेठिक नछुट्याउने अवस्था भए पनि चेतनाको विकास भैसकेको अवस्था भएकाले आफूहरू पूर्ण रूपले अनुशासनमा हुन्छन् । त्यस्ता नियम, कानुन र परम्परा जसले मान्छ त्यसलाई नै नैतिकवान् भनिन्छ । यसबेला बालबालिकाहरूको सिकाइको स्तर भनेको अनुशासनको पाठ हो । बालबालिकालाई सामान्य स्वतन्त्र र प्रजातान्त्रिक ढंगले मात्रै अनुशासन राख्ने गर्नुपर्छ, जसले गर्दा उनीहरू स्वतःस्फूर्त रूपले सिक्न प्रेरित हुन्छन् । स्वतन्त्र र प्रजातान्त्रिक अनुशासनमा हुर्केका बालबालिकाहरूलाई विभिन्न अभ्यासद्वारा आफैँले बुझ्ने गरी कार्य लगाउने हुनाले यसमा शैक्षिक स्तर राम्रो र नैतिकताको पनि उच्च रूपमा विकास भएको हुन्छ ।
बालबालिकालाई नैतिक विकासमा प्रभाव पार्ने अर्को महत्वपूर्ण तत्व भनेको समझदारी हो । उनीहरूले आफ्नो दैनिक तथा नियमित क्रियाकलापमा कस्तो धारणा बनाउँछन्, त्यसअनुसारका व्यवहारहरू देखाउने गर्छन् । यस समयमा धारणा राम्रो नभएको वा समझदारी नभएको कारणले औंला चुस्ने, ओछ्यानमा पिसाब फेर्ने, झूटो बोल्ने, ठग्ने जस्ता व्यवहारहरू प्रदर्शन गर्छन् । बालबालिकाहरू आफूले गरेको कामले उपलब्धि प्राप्त ग-यो भने खुसी हुन्छन् । यसबाट उनीहरू ठूलो र आत्मसम्मान पाएको अनुुभूति गर्छन । त्यसैले बालबालिकाले गरेका कार्यहरू राम्रो भनेर सन्तुष्टि दिने प्रयास पनि हामीले गर्नुपर्छ । सकारात्मक र सामान्य ढंगले उनीहरूको बानीलाई नम्र, स्वाभाविक र सहयोगी बनाउँदै लैजानुपर्छ । मूलतः बालबालिकाका लागि घरको प्रभाव बढी पर्ने भएकाले उसलाई त्यहाँ नै उचित बानी व्यवहार र सिकाइको वातावरण तयार गर्नुपर्छ ।
कक्षा कोठाको व्यवस्थापन पनि बालविकासको अर्को महत्वपूर्ण पाटो भएकाले यसमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । खेल्ने उमेर समूहका बालबालिका भएकै कारण उनीहरूलाई खेलाउँदै सीप र सिकाइमा अभ्यस्त बनाउने गर्नुपर्छ । पछिल्ला समयमा विशेष गरी निजी विद्यालयमा साना बालबालिकालाई झन्डै आफ्नो तौल, सहरको किताबका भारी बोकाउने गरिन्छ, जुन राम्रो होइन । सानो मस्तिष्क र अपूर्ण शारीरिक तथा मानसिक अवस्थामा धेरै बालबालिकालाई गृहकार्य दिई दिक्क बनाउनु हुँदैन ।
खानपानमा ध्यान, खेलकुदप्रति विशेष चासो, बोलीचालीमा शिष्टभाषाको प्रयोग, आफूभन्दा ठूलालाई आदर, सानालाई माया, झूटो नबोल्ने जस्ता सामान्य पक्षमा चनाखो भएर बालविकासको सन्दर्भलाई घरदेखि विद्यालयसम्म विशेष ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्