प्रदेश–२ को बजेट ३३ अर्ब ७९ करोड «

प्रदेश–२ को बजेट ३३ अर्ब ७९ करोड



चालू आर्थिक वर्षको २५ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश–२ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि चालू आर्थिक वर्षको भन्दा केही बढीको बजेट ल्याएको छ । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मंगलबार प्रदेशसभामा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षको ल्याएको बजेट मध्ये चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार विनियोजन गरेको छ । वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च व्यहोर्ने मध्ये राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, १३ अर्ब ९० करोड ३४ लाख, संघ सरकारबाट अनुदान, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको विनियोजनको बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार व्यहोर्दा १ अर्ब न्यून हुने र यसको पूर्तिका लागि आन्तरिक ऋण परिचालन गरिने आर्थिक मामिला तथा योजना मन्त्री यादवले बजेटमा उल्लेख गरेका छन् ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राख्दै कोभिड महामारी संक्रमण नियन्त्रण तथा रोकथाम नियन्त्रण तथा उपचारका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, रिएजेण्ट किट खरिदका लागि २० करोड विनियोजन गरिएको छ । प्रदेशभित्र विभिन्न अस्पतालहरुमा मृगौला रोगीहरुको उपचार सेवाका लागि डायलासिस मेशिन खरिदमा १२ करोड, जनकपुरधाम उपमहानगरपालिकाको मुझेलिया स्थित मणीपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्ययन, अनुसन्धान गरी विकास गर्न चालू आर्थिक वर्षमा ९ करोड उपलब्ध गराइसकेको र आगामी आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र विकासका लागि २ अर्ब ३५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख, उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, मधेसी मुस्लिम तथा मधेस आन्दोलनमा घाइते भएका र सहिद परिवालाई छात्रवृत्तिको लागि २ करोड विनियोजन गरेको छ । वीरगन्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको मन्त्री यादवले जनाएका छन् ।
युवा स्वरोजगार कार्यक्रमका लागि १५ करोड, व्यावसायिक शिक्षा तथा तालिम संघ सरकारसँग सहकार्यमा तालिम सञ्चालन गर्ने, प्रदेश २ को लोकप्रिय तथा लोपोन्मुख खेलहरुलाई संरक्षण गर्न मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने जनाएको छ । विभिन्न सांस्कृतिक संग्राहालय र प्रदेश भाषा तथा संस्कृतिक प्रतिष्ठान स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने । चुरे संरक्षणका लागि आवश्यक कार्यक्रम गरी पर्यावरण संरक्षणका लागि १८ करोड ३६ लाख छुट्याएको छ ।
कूल ग्राहस्थ उत्पादनमा वित्तीय क्षेत्रको योगदान १०.९ प्रतिशत र सेवा क्षेत्रले कूल ग्राहस्थ ५०.२ प्रतिशत योगदान दिने प्रराम्भिक अनुमान, आर्थिक वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरेको प्रदेश सरकारले कोरोना महामारीका कारण पर्यटक आवागमन कमी र वित्तीय सेवा क्षेत्रको आय घट्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षका लागि अपुग १ अर्ब ऋण लिने भनिएपनि ऋण नलिएको जनाएको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सम्पूर्ण स्रोत साधनको परिचालन गरि नागरिकको रक्षा गर्ने, कृषि उपादन तथा उत्पादकत्व वृद्धि गरि खाद्य सुरक्षाको प्रत्याभूति गरिने, आर्थिक तथा सामाजिक रुपमा विपन्नहरुको मूलप्रवाहीकरण गर्ने, प्राथमिकता आवश्यक खोप उपलब्ध गराउने, सामुदायिक विद्यालयहरको भौतिक पूर्वाधारको सुधार, कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको स्थापना र रोजगारी सृजना गरिने सरकारको उद्देश्य लिएको छ ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले खर्च कूल बजेटको एक चौथाई मात्रै खर्च गर्न सकेको छ । संघीयताको संरचनामा गएपछि प्रदेश सरकारले ल्याएको बजेट मध्य २५.७० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँ विनियोजन भएको थियो ।
त्यसमध्ये चालू खर्चतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रादेशिक लेखा नियन्त्रण कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको बजेट ३२ अर्ब ८२ करोड ३६ लाख ६४ हजार बजेट मध्ये ८ अर्ब ४३ करोड ६९ लाख ८२ हजार मात्रै खर्च भएको छ ।
चालू आर्थिक वर्षमा आन्तरिक श्रोतको राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार उठ्ने अनुमान गरेको थियो । २०७६/०७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार विनियोजन गरेको थियो । विनियोजित बजेट मध्य चालू खर्चतर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड विनियोजन गरिएको थियो ।
विनियोजित बजेटमा १३ अर्ब ५४ करोड ३१ लख ६९ हजार अनुमान गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये चालू खर्चतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार तथा पुँजीगत खर्चतर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार विनियोजन गरेको थियो । त्यसमध्ये कूल बजेटको १० अर्ब ४८ करोड ९७ लाख ३८ हजार आन्तरिक स्रोतबाट उठाउने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्