Logo

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ । दुग्ध डेरी बन्द पनि भइसकेका छन् । अहिले उपत्यकामा दूधको खपत ह्वात्तै घटेको छ । सामान्य अवस्थामा दैनिक १ लाख २० हजार लिटर दूध खपत हुने गरेकोमा अहिले ९० हजार लिटरमात्र खपत हुने गरेको दुग्ध विकास संस्थान (डीडीसी) ले जनाएको छ । पछिल्लो एक महिनायता दूधको खपत ६० प्रतिशतले घटेर ४० प्रतिशतमा झरेको उद्योगी–व्यवसायीको भनाइ छ । दूध बिक्री नहुँदा किसानले दूध खेर फाल्नुपरेको छ । बिक्री भएको दूधको रकम पनि पाउन नसक्दा किसान प्रत्यक्ष मारमा परेका छन् । उद्योगीका अनुसार दैनिक १८ लाख लिटर दूध बिक्री नभएर खेर गएको छ । अहिले १३ लाख लिटर दूध मात्र खपत भइरहेको उद्योगीको भनाइ छ । कोभिडको कारणले गर्दा उद्योगी र किसान मारमा परेकाले यस व्यवसायलाई माथि उठाउनका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने उद्योगी–व्यवसायीको भनाइ छ । कोभिडका कारणले दुग्ध क्षेत्रमा परेको प्रभाव, व्यवसायको अवस्था कस्तो छ र यसलाई माथि उठाउनका लागि सरकारले के गर्नुपर्छ भनी कारोबारले सरोकारवाला व्यक्तिसँग गरेको कुराकानीको सार :

दुग्धजन्य पदार्थको आपूर्ति सहज पार्न सहजीकरण गरिरहेका छौं
डा. श्रीराम घिमिरे
प्रवक्ता-सहसचिव
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको निषेधाज्ञाको बीचमा पनि कृषिजन्य सामग्रीको ढुवानीलाई सहजीकरण गरेकै छौं । कोरोनाको दोस्रो वेभ फैलिएको बेला उपत्यकामा कडाइ गर्दा थोरै अवरोध भएको थियो । अहिले दुग्धजन्य पदार्थ, मासुजन्य उत्पादन, तरकारी, फलफूल, बीउबिजनमा आपूर्तिमा कुनै पनि रोकावट छैन । हामीले ढुवानीमा सहजीकरण गरे पनि पनि वितरणमा समस्या त परेकै छ । दूध बिक्री नहुँदा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ । दुग्ध क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा नोक्सान बेहोर्नुपरेको छ । ढुवानी गर्ने साधनले आउँदा एउटा चिज लिएर आउने, फर्किंदा अर्काे चिज लिएर जाने गरेको एउटा-दुइटालाई प्रहरीले फेला परेपछि सबैलाई कडाइ गर्ने गर्छ । यसका लागि सहजीकरण गर्ने काम पनि गरेका छौं । १ असारदेखि अलि खुकुलो गरेर निषेधाज्ञा हुन लागेको छ । कृषि उत्पादनको ढुवानीलाई पहिलाभन्दा पनि धेरै सुविधा प्रदान गरिएको छ । अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध नगर्ने भनिएको थियो, तर कहींकतै अवरोध भएको थियो । उत्पादनका आधारमा किसानलाई अनुदान दिने बर्सेनि हुने अभ्यास हो । उत्पादन गर्ने किसान र किसानले उत्पादन गरेको वस्तुलाई बीचका बिचौलियालाई मार्जिन बढी भयो भन्ने गुनासो छ । किसानलाई अनुदान कसरी बढाएर दिन सकिन्छ भनेर छलफल भइरहेको छ । निषेधाज्ञाको बेला कति क्षति भयो भनेर अध्ययन गर्ने भनिएको त थियो, तर स्थानीय र प्रदेशबाट सबै तथ्यांक आउनुपर्ने भएकाले अहिलेसम्म हुन सकेको छैन । निषेधाज्ञाका कारणले गर्दा दूध बिक्री हुन नसकेको किसानको गुनासो पनि आएको छ । बजारमा दूधको बिक्री नहुँदा डीडीसीले दूधको भुक्तानी गर्न सकेको छैन । यसका लागि सहजीकरण गरिरहेका छौं । दुग्धक्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा निषेधाज्ञाको असर परेकाले किसानले पनि धैर्य गर्नुपर्ने अवस्था आएको छ । डीडीसीलाई जतिसक्दो किसानको दूधको बाँकी रहेको रकम भुक्तानी गर्नका लागि निर्देशन दिएका छौं । दूधमा दुई वर्षमा आत्मनिर्भर हुने गरी मन्त्रालयले उत्पादन बढाउने कार्यक्रमसमेत अगाडि सारेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा हाल ७८ लिटर प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध रहेको छ । दुई वर्षभित्रमा दूधमा आत्मनिर्भर हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

दूध बिक्री घटेकाले किसानको रकम भुक्तानी गर्न सकेका छैनौं
रुद्रप्रसाद पौडेल
महाप्रबन्धक
दुग्ध विकास संस्थान (डीडीसी)

उपत्यकामा अहिले दैनिक ७१ देखि ७२ हजार लिटर प्रशोधित दूध वितरण भइरहेको छ । निषेधाज्ञाको अवधिमा घटेर प्रतिलिटर ६७ हजार लिटर बिक्री भएको थियो । पछिल्लो समय दूधको बिक्रीमा थोरै वृद्धि भएकोे छ ।
निषेधाज्ञा हुनुअघि दैनिक ८० हजार लिटर प्रशोधित दूध वितरण भइरहेको थियो । निषेधाज्ञाको कारणले गर्दा धेरै होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द भएकाले बजारमा दूधको खपत पनि घटेको छ । दैनिक १५ सयदेखि २ हजार लिटरसम्म दही बिक्री हुने गरेको छ । मुलुकभर दैनिक ९० हजार लिटर दूध बिक्री भएको छ । अहिले ताजा दूध दैनिक १ लाख १० देखि २० हजार लिटर संकलन भइरहेको छ । ५ हजार लिटर दही बिक्री हुने गरेको छ । बिक्री नभएको बाँकी २५ देखि ३० हजार लिटर दूध पाउडर बनाइरहेका छौं । पहिला निजी क्षेत्रका डेरी उद्योगले पाउडर बनाउँदै गरेका थिए । अहिले हामीले मात्र पाउडर दूध उत्पादन गरिरहेका छौं ।
दूध बिक्री नभएपछि किसानको रकम पनि भुक्तानी गर्न सक्दैन । दैनिक किसानलाई १ करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । दूध बिक्री नभएर चार महिनादेखिको किसानको रकम भुक्तानी गर्न सकेका छैनौं । दूध बिक्री नभएपछि पाउडर बनाएका छौं । अहिले ९ सय मेट्रिक टन पाउडर दूध स्टक रहेको छ । बटर ४ सय मेट्रिक टन स्टक छ । सफ्ट ऋणको पनि प्रक्रियामा रहेको छ । ऋण पाएपछि जतिसक्दो छिटो किसानको रकम भुक्तानी गर्छौं । निषेधाज्ञाको बेला दूध बिक्री नभएपछि किसानलाई राहत दिनका लागि मन्त्रालयमा सिफारिस गरेको छ । उत्पादन आधारित लिटरमा २ रुपैयाँ अनुदान लिने भनेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरेका छौं । पाउडरमा परिवर्तन गरेवापत प्रतिटिलर ५ रुपैयाँ लिएपछि किसानलाई रकम भुक्तानी गर्न सहज हुन्छ । यसका लागि हामीले र दुग्ध विकास बोर्डले पनि प्रस्ताव पठाएको छ । एक लिटर दूधको पाउडर बनाउनका लागि १५ रुपैयाँ खर्च लाग्ने गर्छ । एक केजी पाउडर बनाउनका लागि १२ लिटर दूध लाग्ने गर्छ । पाउडर दूधको १८ महिनासम्म प्रयोग गर्नुपर्ने म्याद हुन्छ । त्यसको सेड्युल बनाएर प्रयोग गरिरहेका छौं । हामीले किसानबाट दूध संकलन गरेर बजारमा गुणस्तरयुक्त दूध बिक्री गर्दै आएका छौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाबाट बजारमा खपत पनि घटेको छ । उपभोग कम भएकाले बिक्री कम भएको छ । दूध बिक्री हुन नसकेपछि समयमा किसानको रकम भुक्तानी गर्न सकिएको छैन । गत फागुन महिनादेखि नै किसानको रकम भुक्तानी गर्न बाँकी छ । सफ्ट ऋण लिएर भए पनि किसानको रकम भुक्तानी गर्ने तयारीमा छौं । दूध, दही, घिउ, पनिर, बटर, पाउडर दूध उत्पादन गरेर बजारमा वितरण गर्दै आएका छौं । अहिले दूध उत्पादनको पिक सिजन नभए पनि बिक्री नहुँदा किसानलाई समयमै रकम भुक्तानी गर्न सकिएको छैन ।

अहिले दैनिक १८ लाख लिटर दूध खेर गइरहेको छ
प्रल्हाद दाहाल
महासचिव
नेपाल डेरी एसोसिएसन

कोभिड–१९ ले समग्र संसार नै तहसनहस पारेको बेला नेपाल पनि अछुतो रहन सकेको छैन । लकडाउनका कारण दूध बिक्री नभएर दैनिक करोडौं रुपैयाँ सहरबाट गाउँमा जान रोकिएको छ । गाउँघरमा मुख्य आम्दानीको स्रोत भनेकै दूध हो । अहिले देशभरि ६२ लाख लिटर दूध उत्पादन हुन्छ भने त्यसको ५० प्रतिशत मात्र बजारमा आउँथ्यो अनि अर्को ५० प्रतिशत किसान आफैंले उपभोग गर्थे । तर, आज कोभिडका कारण जम्मा ४० प्रतिशत अर्थात् जम्मा १३ लाख लिटरमात्र दूध बजारमा खपत भएको छ । यसरी हेर्दा आज दैनिक १८ लाख लिटर दूध दैनिक बजार नपाएर खेर गइरहेको छ । यसको रकम करिब दैनिक १० करोड रुपैयाँबराबर हुन आउँछ । लकडाउन अवधिको मात्र खेर गएको दूधको हिसाब गर्दा आजसम्म झन्डै ३० अर्बजति हुन आउँछ । हाम्रो देशको निजी डेरीमा अहिलेसम्म जम्मा ३० अर्बको लगानी रहेको छ भने ३० अर्बबराबरकै दूध नोक्सान भएपछि अब यो क्षेत्र कसरी टिक्ला भन्ने चिन्ता आम सरोकारवाला सबैमा बढेको छ । अझ गत वर्षदेखिको करिब ३ अर्बभन्दा बढीको धूलो दूध र बटर अहिलेसम्म पनि लकडाउनका कारण बिक्री हुन नसकेर स्टोरमा थन्किएर बसेको छ । यसले गर्दा सबै डेरी उद्योगीको चालू पुँजी अड्किएर दैनिकी चल्नै गा-हो भएको छ । धूलो दूध कारखानाबाट क्यास नभएका कारण दूध र बटर उठाउन सकेका छैनन् । यसरी उद्योगले धूलो दूध र बटर उठाउन नसक्दा गोदामको अभावले धूलो दूध कारखाना नै बन्द भएका छन् । उद्योगले आजसम्म पनि किसानको पूरा भुक्तानी दिन सकेका छैनन्, जसका कारण किसान ठूलो मारमा परेका छन् । गाईभैंसीको दूध बिक्री नभए पनि दैनिक खुवाउनुपर्ने नै हुन्छ । अहिले आर्थिक अभावका कारण त्यो दैनिक खुवाउन नै समस्या भएको छ । कैयौं किसानले पशुपालन व्यवसाय नै छोड्नुपर्ने बाध्यता छ । यसरी छोड्नुपर्ने बाध्यता नहटाउने हो भने अब विस्तारै मानिस यो पेसाबाट पलायन हुने निश्चित नै छ । यी समस्या हल गर्नका लागि सबैभन्दा पहिला त स्टक सामानलाई धितो मानेर कर्जा दिने व्यवस्था मिलाउनुप¥यो अनि मात्र केही समस्या हल हुनसक्छ । अन्यथा समस्या हल हुन कठिन छ । अब यत्रो रोजगारी दिएको क्षेत्रलाई कसरी टेवा दिने भनेर सोच्नुपर्ने समय आएको छ । डेरी उद्योगतर्फ ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब ५ लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् । अझ अप्रत्यक्ष रूपमा अन्य लाखौं जनाले रोजगारी पाएका छन् । अब सरकारले यो क्षेत्र टिकाउनका लागि समस्यामा परेका आमकिसान र उद्योगीका लागि बैंकको किस्ता तिर्न म्याद थप, कर्जामा सहुलियत, बिजुलीमा ५० प्रतिशत छुट, आन्तरिक बजारको खोजी गर्ने, आयातित दूध तथा दुग्ध पदार्थ बन्द गर्ने, स्वदेशी उत्पादन उपभोग बढाउने जस्ता कार्य तत्काल गर्न आवश्यक देखिन्छ । यी यस्ता तत्काल गर्ने कार्य भए भने दीर्घकालीन रूपमा भने गुणस्तर कायम गरी दूध उत्पादन लागत घटाउने र व्यवसायमूलक पशुपालनमा जोड दिनपर्ने देखिन्छ । अर्को कुरा, ५० प्रतिशत दूध अझ पनि बजारसम्म आउन सकिरहेको छैन । त्यो दूध बजारसम्म ल्याउन लागिपर्नुपर्नेछ ।

चार महिनादेखि दूध बेचेको पैसा पाएको छैन
रामेश्वर दाहाल
किसान

काभ्रेको पाँच खालमा मेरो गाई फार्म छ । पाँचवटा गाई पालेको छु । दैनिक ४५ देखि ५० लिटर दूध उत्पादन हुने गर्छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले गर्दा सहज तरिकाले बजारमा दूध वितरण पनि हुन सकेको छैन । १५÷१५ दिनमा भुक्तानी पाउने एउटा फारम हुन्छ । हप्तामा चार दिन दूध बिक्री गर्छौं । बाँकी दूध घरमै खाने गर्छौं । घरमा खान नसकेपछि फ्याँक्ने गर्छौं । बिक्री नभएको दूध घिउ बनाउनका लागि किसानको घरमा सामान नभएकाले बनाउन सकेका छैनौं । सामान्य अवस्थामा दूध बिक्री गरेर दैनिक २ हजार रुपैयाँ आम्दानी हुने गरेकोमा अहिले बिक्री नभएर धेरै नै घाटा लागेको छ । एक महिनाको अवधिमा १० दिनजति दूध बिक्री गर्न पाएनौं । बिक्री नभएर दूध खान सक्ने खाने र बढी भएको दूध खेर नै जाने गर्छ । मेरो मात्र नभएर अधिकांश किसानको समस्या यही रहेको छ । दूधको मूल्य समयमा नपाउँदाखेरि व्यवसाय गर्ने कि छोड्ने भन्ने अवस्थामा पुगेका छौं । हामीले डेरी, उद्योग र डीडीसीलाई दूध बिक्री गर्ने गर्छाैं । दूध बिक्री गरेर डीडीसीबाट गत फागुन महिनादेखिको रकम भुक्तानी पाउन सकेका छैनौं । चार महिनादेखिको रकम पाउन बाँकी छ । प्रतिलिटर दूधवापत ५० देखि ५५ रुपैयाँ पाउने गर्छौं । त्यही पैसा पनि समयमा पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न नै कठिन भएको छ । सरकारले दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने भनेको छ । एक वर्षपछि पशुपालन गर्ने मानिस नै हुँदैन । पशुपालनबाट नाफा नभएपछि धेरै किसान अन्य व्यवसायतिर लागिसकेका छन् । पशुलाई खुवाउने आहार खरिद गर्नुपर्छ । दाना, चोकर, ढुटो सबैको मूल्य बढेको छ । अहिले भनेको बेला हामीले सामान खोजेर किनेर ल्याएर खुवाउन सक्ने अवस्था छैन । यसले गर्दा वार्षिक रूपमा दूधको उत्पादन २० देखि ३० प्रतिशत घटिरहेको छ । दूध बेचेको रकम पनि समयमा नआएकाले गर्दा व्यवसाय गर्ने कि छोड्ने भन्ने दोधारमा छौं । बेला–बेला बन्द हुन्छ, यसले किसानलाई धेरै नै समस्या पार्छ । पशुका लागि चाहिने आहार पहिला ४० देखि ४५ रुपैयाँ प्रतिकेजी पाउने गरेकोमा अहिले त्यसको मूल्य बढेर ५० देखि ५५ पुगेको छ । त्यही पनि भनेको बेला नपाउँदा कालोबजारीमा खरिद गरेर ल्याउनुपर्ने अवस्था छ । एउटा वस्तुलाई दैनिक ६ किलो आहार खुवाउनुपर्छ । सन्तुलित आहार खुवाउन नसकेको कारणले दूधको उत्पादन घटेको छ । उत्पादन भएको सामानलाई समयमा बजारमा पु-याउन नसक्नु, दूधको भुक्तानी नपाउनुजस्ता समस्या किसानले भोग्नुपर्छ । हामीले वितरण गरेको दूध डीडीसीले एक÷दुई दिनमै उपभोक्ताबाट रकम संकलन गरिसकेको हुन्छ, तर हामीलाई चार महिना पुग्दा पनि दिँदैन । पहिला–पहिला कारोबार नियमित हुँदा केही समस्या थिएन । अहिले त पैसा नभई पशुलाई आवश्यक पर्ने सामान खरिद गर्न सकिँदैन । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाउँदा व्यवसाय गर्न नै किसानलाई धेरै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्