कोरोना कहरमा मौलाउँदै कालोबजारी «

कोरोना कहरमा मौलाउँदै कालोबजारी

कोभिड–१९ अर्थात् कोरोना महामारीको यस्तो सङ्कटको समयमा हरेक क्षेत्रमा दिनप्रतिदिन कालोबजारी बढ्दै गइरहेको छ । कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छटपटाइरहेको यस्तो सङ्कटको समयमा समेत कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरू सक्रिय रूपमा लागिपरेका छन् ।
कोरोना महामारीले ज्यान जोगाउनसमेत धौधौ परेको समयमा मानवता हराएका, मानवीय संवेदना हराएकाहरूको असली रूप हाल बजारमा प्रस्ट रूपमा देखा पर्न थालेको छ । सरकारले देशव्यापी निषेधाज्ञा घोषणा गरेसँगै सम्पूर्ण पसल र बजार बन्द रहेको र कतै सीमित समय मात्र खुल्ने भएकाले व्यवसायीले उपभोग्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न थालेका छन् । अत्यावश्यक खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरूमा मनोमानी मूल्यवृद्धि भएको छ । महामारीको यस्तो सङ्कटको समयमा उपभोक्ताहरू दोब्बर मूल्य तिरेर सामान किन्न बाध्य भएका छन् । महामारीमा ज्यान जोगाउनका लागि उपचार खोज्दै अस्पताल पुगेका निरीह नागरिकहरू औषधी उपचार सेवामा समेत ठगिने गरेका छन् । मुख छोप्ने मास्कदेखि भोक मेटाउने चामल र तरकारीमा समेत नागरिकहरू ठगिएका छन् । रोगसँगै भोकबाट जोगिन खोज्दासमेत नागरिकहरू ठगिनुपरेको छ ।
हाल नेपालका सबै निकायको ध्यान कोरोना महामारी नियन्त्रणमा रहेकाले अनुगमन गर्ने संयन्त्रमा कसैको ध्यान जान सकेको छैन । कोरोनाकै कारण अनुगमन गर्ने कार्यमा जनशक्तिको अभाव रहेको देखिन्छ । केही जिल्लाका पसल र बजारमा अनुगमन भए पनि नियमित हुन सकेको छैन । दैनिक उपभोग्य वस्तुको अनुगमन गर्ने संयन्त्र निषेधाज्ञाको बहानामा सुस्ताएको छ । अनुगमनकै अभावका कारण कालोबजारी बढ्दै गएको छ । कालोबजारी बढेसँगै उपभोक्तामा आर्थिक भार थपिँदै जान थालेको छ ।
कोरोना महामारीका कारण अहिले काम गर्नका लागि बाहिर निस्कने अवस्था छैन । अहिले गरिब, ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरू भोकभोकै बसिरहेका छन् । महामारीको असरले भोकभोकै बसिरहेका निरीह नागरिकलाई राहत दिने र अत्यावश्यकीय वस्तुको सुलभ पूर्ति गर्ने विषयमा सरकार, कुनै पनि राजनीतिक दल र अधिकारकर्मीको ध्यानाकर्षण हुन सकेको छैन । यही बेलामा ‘मौकामा चौका’ हान्नेहरूको ठूलो जमात बजारमा व्याप्त छ ।
फलस्वरूप दिनप्रतिदिन बजारमा कालोबजारी मौलाउँदै गइरहेको छ । यसलाई समयमै नियन्त्रण गर्न नसके बजारमा कालोबजारी तीव्र रूपमा बढ्नेछ र उपभोक्ताहरू मूल्य ठगीको मारमा पर्नेछन् । कालोबजारी नियन्त्रण गर्नका लागि कालोबजारी गर्ने जुनसुकै निकाय, संस्था र व्यक्तिलाई कुनै कसर बाँकी नराखी कारबाहीको दायरामा ल्याउनुपर्छ । नियामक निकाय चनाखो र उपभोक्ता सचेत बन्नुपर्छ । आपूर्ति असहज भएर बजारमा वस्तुको अभाव भए त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ । कालोबजारी भ्रष्टाचारजन्य कुरीति हो । हामी सबैै मिली यसको नियन्त्रण गरौैँ ।

प्रतिक्रिया दिनुहोस्