सीएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर «

सीएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर

खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै द्विविधा नरहे पनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छन् ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील पत्रकारको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्य ः दिगो विकास लक्ष्य’ विषयक अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताएकी हुन् ।
“ठेकेदार कम्पनी सीएमसीसँग काम गर्न कुनै द्विविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ,” उनले भनिन्, “सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ, पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबने पनि मन्त्रालयले उच्चस्तरमा समस्याको समाधान खोजिरहेको छ ।”
सीमएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको मगरकोे भनाइ छ । खानेपानीमन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार गम्भीर रहेको पनि उल्लेख गरिन् । “मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर छु,” उनले भनिन्, “हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं, मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिइयोस् भन्नका लागि सरकार गम्भीर भएर लागिरहेको छ ।”
कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजना समेटेर योजना बुक तयार गरेको जानकारी दिइन् । घण्टौं घण्टासम्म पानीका लागि हिँड्नुपर्ने समस्या हल गर्न थप योजना ल्याउन लागिएको उनको भनाइ छ । मगरले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिएकी छन् । मन्त्री मगरका अनुसार खानेपानी आपूर्तिसँगै ढल व्यवस्थापन गर्नसमेत ढल नीति पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्