११ महिनामा पुँजीगत खर्च ४०% मात्र «

११ महिनामा पुँजीगत खर्च ४०% मात्र

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल ४०.५४ अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गरेका थिए तर आर्थिक बर्षको ११ महिना पार गर्दा लक्ष्यभन्दा ३१ प्रतिशत कम खर्च छ ।
अर्थविद् तथा पूर्व अर्थसचिव शान्तराज सुवेदी अहिलेसम्मको खर्चको अवस्था निकै नै कमजोर रहेको बताउँछन् । तर, असारमा बजेटको ठूलो हिस्सा खर्च हुने गरेको उनको तर्क छ । उनका अनुसार, विगतका वर्षहरुमा वर्षभरी भएको पुँजीगत खर्चको ४० प्रतिशत खर्च त असार महिनामा मात्र हुने गरेको छ । त्यस्तै कुल बजेटको २४ प्रतिशत खर्च असार महिनामा हुने गरेको उनले बताए । ‘गत वर्ष कुल बजेटको २ खर्ब ८ अर्ब रुपैयाँ असार महिनामा मात्र भएको थियो,’ उनले भने, ‘जसमा ६२ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको तथ्यांक छ ।’
यस वर्ष अवस्था उस्तै भएकाले पुँजीगत खर्चमा १० अर्बकै बढावा भए पनि असारमा ७२ अर्ब खर्च भई कुल १ खर्ब १५ अर्ब रुपैयाँ पुँजीगत खर्च हुने उनको अनुमान छ । त्यस्तै कुल बजेट पनि अघिल्लो वर्षको भन्दा धेरै नै खर्च भए पनि असारमा २ खर्ब २० अर्ब भन्दा नहुने उनको अनुमान छ । जसले ११ खर्ब २५ अर्बको आसपासमा कुल बजेट खर्च जाने उनको तर्क छ ।
अन्तिममा खर्च गर्दा विभिन्न समस्या देखिने गरेको उनी बताउँछन्। ‘अन्तिममा खर्च गर्दा कामको गुणस्तर राम्रो हुँदैन, रकमान्तर तथा आर्थिक अनुशासनमा पनि समस्या देखिने गरेको छ,’ उनी भन्छन्, ‘चालु वर्षको फागुनसम्म बजेट कार्यान्वयन गर्न निकै सहज वातावरण थियो, सरकारले चाहेको भए समयमा बजेट कार्यान्वयन गर्न सकिन्थ्यो । तर, चासो नदेखाउँदा समस्या देखियो ।’ सरकारले समयमै ठूला आयोजना कार्यान्वयन गर्न अनुगमनलाई प्रभावकारी बनाएको भए असारमा बजेट खर्च गर्न चाप नपर्ने उनको तर्क छ ।
असार लागेपछि खर्चको प्रगति देखाउनुपर्ने भएकाले त्यसको प्रतिफल नआउने गरेको उनको तर्क छ । असारमा धेरै खर्च गर्दा त्यसको गुणास्तरमा पनि प्रश्न उठ्ने उनी बताउँछन् । जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्च नहुने र खर्च नै नगर्नुपर्ने ठाउँमा खर्च हुने गरेको उनको तर्क छ ।
त्यस्तै चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा ७३.८३ प्रतिशत चालु बजेट खर्च भएको छ । सरकारले यस वर्ष ९ खर्ब ४८ अर्ब चालु खर्च गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्षको ११ औँ महिना सम्ममा जम्मा ७ खर्ब मात्र खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालु भने धेरै नै खर्च भएको हो । साथै सरकारले चालु वर्षको जेठ मसान्त सम्ममा ७३ अर्ब अर्थात् ४२.३४ प्रतिशत खर्च वित्तिय व्यवस्थापनमा गरेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा ८०.२९ अर्थात् ८ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जसमा ७ खर्ब ५८ अर्ब कर राजश्व संकलन भएको छ भने झण्डै ५४ अर्ब गैर कर राजस्व संकलन भएको छ । सरकारले यस वर्ष १० खर्ब ११ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
सरकारको चालु वर्षको राजस्व पनि लक्ष्य अनुसार उठेको छैन । तर, स्रोत व्यवस्थापनमा भने समस्या नहुने सुवेदी बताउँछन् । ‘खर्च पनि कम नै भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसमाथि आन्तरिक ऋणहरु पनि उठाउन बाँकी नै छ, खासै समस्या हुने देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्