किन हुन्छ सवारी फिर्ता ? «

किन हुन्छ सवारी फिर्ता ?

सवारी उत्पादक कम्पनीहरुले उत्पादन गरेका सवारी सुरक्षा विशेषतामा समस्या देखिएपछि फिर्ता लिने गरेका छन् । भारतीय बजारमा २०१८ मा यसरी फिर्ता लिइएका सवारीको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको छ ।
कम्पनीहरुले सवारी फिर्ता लिन पर्नुमा सफ्टवेयर, विद्युतीय प्रणाली र सवारीमा प्रयोग गरिएका मल्टिपल मोडलाई विज्ञहरुले मुख्य कारण मानेका छन् । उत्पादकले यस्ता गाडीले परीक्षणको समयमा उत्कृष्ट पर्फर्मेन्स दिएपनि पछि विभिन्न समस्या उत्पन्न हुने गरेको छ । त्यसको फलस्वरुप उपभोक्ताले उत्साहपूर्ण रुपमा खरिद गरेका गाडीलाई कम्पनीले फिर्ता लिने गरेको छ ।
सवारी विज्ञका अनुसार कम्पनीले लागत कम गर्नका लागि एकै प्रकारको इलेक्ट्रोनिक र सफ्टवेयर पार्टस्लाई विभिन्न मोडलमा प्रयोग गर्ने गर्छन् । जसका कारणमा गाडीको सञ्चालनमा विद्युतीय लगायत अन्य समस्या देखिने हुँदा फिर्ता नै गर्नुुपर्ने अवस्था आउँछ । भारतीय अनलाइन साइट इटीअटोले गरेको एक अध्ययन अनुसार भारतको मुख्य दुईपांग्रे तथा चारपांग्रे सवारी उत्पादक कम्पनीमध्येको एक होन्डाले २०१८ मा करिब १ लाख ६२ हजार ८ सय ६९ सवारी फिर्ता लिएको हो । गत वर्ष होन्डाले ८० हजार ५ सय ३१ सवारीमात्र फिर्ता बोलाएको थियो ।
आईसीआरएका कर्पाेरेट रेटिङ भाइस प्रेसिडेन्ट समर दिवान आधुनिक गाडीमा समावेश सबै इलेक्ट्रोनिक डिभाइस रियल लाइफमा नचल्ने बताउँछन् । “कम्पनीले लागत कम गर्ने उद्देश्यले एउटा प्लाटफर्म विभिन्न मोडलमा निर्माण गर्छन् । जसमा एकै प्रकारका अटो पाट्स् लगाइएको हुन्छ । तिनमा खराबी आउने सम्भावना धेरै हुन्छ । त्यसैले उत्पादकहरु गाडी फिर्ता बोलाउन पर्नेे अवस्थामा पुग्छन्,” दिवानले भने ।
होन्डा कम्पनी स्मूथ र पावरफुल इन्जिनका लागि परिचित छ । कम्पनीले गत जनवरीमा २२ हजार ८ सय ३४ युनिट मोडल फिर्ता लिएको थियो । ती मोडलको एकर्ड, सिटी र एयरब्यागमा समस्या आएको थियो । त्यस्तै, जुलाईमा कम्प्याक्ट सेडान अमेजको ईपीएस प्रणालीमा समस्या आएपछि ७ हजार २ सय ९० युनिट मोडल फिर्ता लिइएको थियो । यस्तै, मर्सिडिज इन्डियाले स्टेयरिङ कोलम र एयरब्यागमा समस्या आएपछि २२ हजार ५ सय ७९ गाडी फिर्ता लिएको हो । जर्मनीको लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले समेत १६ हजार ३ सय ५० वटा गाडी फिर्ता लिएको थियो ।
फक्सवागन ग्रुपले अडी–एफोर, क्यू–फाइभलगायतका मोडलको एसिमा समस्या आएपछि १६ हजार १ सय १३ गाडी फिर्ता ग¥यो । जापानी कम्पनी मारुतीले समेत यो वर्ष २ हजार ७ सय ९९ कार फिर्ता लिएको हो । जसमध्ये सियाजको फेसलिफ्ट भर्सन ८८० युनिट, सुजुकी स्वीफ्ट ५६६ युनिट, डिजायर ७ सय १३ वटा गाडी फिर्ता लिएको हो । त्यस्तै ६ सय ४० युनिट सुपर–क्याम्प्री कारसमेत फिर्ता लिइएको छ ।
सवारी उत्पादकहरुले समस्या देखिएका सवारी फिर्ता लिने नीति बनाएयता यस्तो सुविधा दिँदै आएका छन् । उत्पादकहरुले सवारीको सुरक्षा विशेषतामा समस्या देखिएमा त्यसलाई फिर्ता गरिने नीतिमा समावेश हुने गरी व्याख्या गरेका छन् । भारतमा सवारी उत्पादकहरुले सवारी फिर्ता गर्ने नीति लिएयता २८ लाख सवारी फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्