Logo

आन्तरिक उडान बन्द भने यथावत्

थप तीन देशमा उडान खोल्ने तयारी


सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ ।
थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान अनुमति दिने देशमा कोभिड–१९को संक्रमण दर हेरर उडान गर्ने गरी मन्त्रालयले प्रस्ताव गरेको हो,” उनले भने, “जापान, मलेसिया र युनाइटेड अबर इमिरेट्समा व्यावसायिक उडान गर्ने गरी तयारी थालिएको छ ।” कतारको पनि थप गन्तव्यमा उडान खोल्ने तयारी मन्त्रालयले अघि बढाएको जनाएको छ ।
यसअघि सरकारले टर्की, कतार र चीनमा साप्तामा १ उडान गर्ने गरी अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोलेको भएपनि चीनमा भने उडान हुन सकेको छैन । जेठ १३ बसेको मन्त्रिपरिषद्ले जेठ १८ बाट लागू हुने गरी टर्की, कतार र चीनमा दुईतर्फी व्यावसायिक उडान खोलेको थियो । यता नेपाल–भारतमा भने एयर बबल सम्झौता अनुसार सातामा २ उडान हुँदै आएको छ । हाल टर्की, कतारमा सातामा २ उडान हुँदै आएको छ । हाल भारतमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले एयर बबल सम्झौतामा उडान गर्दै आएको छ । टर्कीमा टर्किस एयरलायन्स, कतारमा नेपाल वायुसेवा निगम र कतार एयरवेजले सातामा दुईतर्फी नियमित उडान भर्दै आएका छन् ।
आन्तरिक उडान खोल्ने विषयमा भने केही औपचारिक निर्णय नभएको सचिव कोइरालाको भनाइ छ । उनका अनुसार, तराई लगायतमा जिल्लामा कोरोना संक्रमण दर कायमै रहेकाले हाल आन्तरिक उडान खुल्ला गर्ने विषयमा कुनै आन्तरिक तयारी भएको छैन ।
भारतमा कोरोनको संक्रमण जोखिम कायमै रहेकाले गर्दा आन्तरिक उडान खुल्ला गर्दा नेपालमा पनि थप जोखिम बढ्ने भएकाले गर्दा आन्तरिक हवाई सेवा खुल्ला गर्ने विषयमा केही तयारी नभएको मन्त्रालयको भनाइ छ । सरकारले वैशाख २३ गते राति १२ बजे देखि भारत–नेपाल बाहेक अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो भने आन्तरिकमा भने वैशाख २० गते राति १२ बजे उडान बन्द गरेको थियो । सरकारले कोभिड–१९को दोश्रो लहरको संक्रमण जोखिम नियन्त्रण गर्न वैशाख १६ देखि उपत्यका ३ जिल्लामा निशेधाज्ञा लागू गरेको छ ।

आन्तरिक उडान खोल्न माग
यथाशिघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्नका लागि निजी वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पुनः सरकारसँग माग गरेको छ । मंगलबार संघले विज्ञप्ति जारी गर्दै आन्तरिक हवाई सेवा सुचारु गर्न सम्पूर्ण सरोकारवाला निकायहरु सहित सरकारलाई अपिल गरेको छ ।
संघले अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेकोले र कोभिड विरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडान पूर्व विमानको संक्रमण रहित सरसफाई, मास्क तथा फेश शिल्डको अनिवार्य प्रयोगले हवाई उडान सहज र सम्भव भएकाले व्यवसायिक आन्तरिक हवाई सेवा खोल्नुपर्ने माग गरेको छ ।
एक साता अगाडि कोभिड विरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको भएपनि सरकारले पुनः एकपक्षीय निर्णय गरी एक साताको लकडाउन थपिएको संघले गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्