भारतलाई बिजुली बेच्ने प्रक्रिया सुरु हुन्छ : ऊर्जामन्त्री «

भारतलाई बिजुली बेच्ने प्रक्रिया सुरु हुन्छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतलाई बिजुली बेच्ने प्रक्रिया सुरु हुने बताएका छन् ।
भारत सरकारले विद्युत् व्यापारका लागि सहज हुने गरी ल्याएको नयाँ ‘विद्युत् आयात–निर्यात (अन्तरदेशीय) निर्देशिकाबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले विद्युत् किन्नका लागि प्रस्ताव गरेकोले अब प्रक्रिया अघि बढ्ने बताए । “निर्देशिकाले भारतसहित क्षेत्रीय रूपमा बिजुली व्यापारका लागि बाटो खुलेको छ,” उनले भने, “भारतीय एनएनभीएनले १ हजार ५ सय मेगावाट विद्युत् किन्नका लागि प्रस्ताव गरेकोले अब यसको प्रक्रिया अघि बढ्छ ।”
नयाँ निर्देशिकाले सर्तरहित रूपमा विद्युत् व्यापारका लागि बाटो खुलेको बताउँदै आगामी २० वर्षभित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट किन्ने योजना गराएकोमा थप सहज हुने बताए । “देशभित्र पनि थप बजार सिर्जना गर्छौं र बाँकी विद्युत् क्षेत्रीय बजारमा पनि पु-याउँछौ,” उनले भने । उनले बिजुली व्यापारका लागि न्यूबुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणकार्य पनि अघि बढाउन लागेको बताउँदै यसका लागि नेपाल विद्युत् प्राधिकरणको टोली भारत गई छलफल गर्न लागेको जानकारी दिए ।
निजी क्षेत्रको लगानीलाई सहजीकरण गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले लिऊ वा तिर (टेक अर पे) विद्युत् खरिद सम्झौता (पीपीए) खुल्ला गरेको बताउँदै नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाले अब अर्ध जलाशय (पीआरओआर) मा जान पनि खुल्ला गरेको बताए ।
पत्रकार सम्मेलनमा मन्त्री पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिनेबारे द्विपक्षीय छलफल भइरहेको र टुंगो लागेपछि यसबारे सार्वजनिक हुने बताए । उनले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माणमा भइरहेको ढिलाई प्रति ठेकेदार कम्पनीसँग वार्ता गरी एउटा खण्डको काम अर्को कम्पनीलाई दिने गरी समझदारी बनेको र यसबाट तोकिएकै समयमा आयोजना आउन सक्ने गरी अघि बढेको बताए ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले पीआरओआर आयोजना बनाउने प्रवद्र्धकलाई सरकारले सुविधा दिएको बताउँदै टेकअरपे पीपीएको सीमाबारे पुनर्विचार गर्न सकिने बताए । बूढीगण्डकीबारेको वार्ता कमिटीको संयोजकसमेत रहेका घिमिरेले आयोजनाका सर्त र प्रावधानसहित प्राविधिक पक्षबारे छलफल भइरहेको र हालसम्म टुंगोमा नपुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्