कोरोना भाइरसबीच मेडिकल सामग्रीहरूको तत्काल आवश्यकता : एम्नेस्टी «

कोरोना भाइरसबीच मेडिकल सामग्रीहरूको तत्काल आवश्यकता : एम्नेस्टी

कोभिड–१९ को घातक दोस्रो लहरलाई सामना गर्नु परिरहेको यस अवस्थामा नेपालका राजनीतिज्ञहरूले हजारौंको जीवन रक्षाका लागि आफ्ना मतभेदहरूलाई अलग राखेर आगामी साताहरूमा निर्णायक कदमहरू चाल्नुपर्छ भनी एम्नेस्टी इन्टरनेसनलले सोमबार प्रकाशित नयाँ ब्रिफिङमा उल्लेख गरेको छ ।

उक्त ब्रिफिङ्ले अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउनका लागि पनि आह्वान गरेको छ । 
गत पाँच महिनामा दुईपटकसम्म देशको संसद विघटन गर्ने गरी नेपालका नेताहरू आन्तरिक कलहमा सामेल भइरहेको बेला कोभिड–१९ भने व्यापक फैलिएको छ। हाल नेपालमा विश्वकै सबैभन्दा उच्च संक्रमण दर रहेको छ र गत अप्रिल महिनामा नेपालको स्वास्थ्य मन्त्रालयले जुलाईसम्ममा थप ३ लाख संक्रमित थपिने प्रक्षेपण गरेको थियो । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचनाहरू अहिलकै संक्रमण भारले कमजोर बन्न पुगेका छन् ।


संयुक्त राष्ट्रसङ्घले वैशाख ३१ गते जारी गरेको एक प्रतिवेदनअनुसार विश्वका अन्य देशमा भन्दा नेपालमा भाइरसको सबैभन्दा उच्च ‘प्रभावकारी प्रजनन दर’ र सबैभन्दा उच्च सङ्क्रमण दर रहेको थियो। हालको सङ्कट उत्परिवर्तित भाइरसको कारण थप गम्भीर हुन पुगेको छ जसले मृत्यु दरलाई उच्च स्तरमा पु¥याउने तथा निमोनिया जस्ता थप जटिलताहरू पैदा गराउने गरेको छ जसका कारण अक्सिजनको मागमा वृद्धि भइरहेको छ। स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुर्याएको छ ।


‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौं त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौं । अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून स्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैनन्’, एम्नेस्टी  इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी  मिश्रले भनिन्।


‘नेपालका अधिकारीहरूले अहिले नै हजारौंको ज्यान बचाउन हालसम्मको निष्क्रियता र प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद् र आपूर्तिलाई प्राथमिकता दिनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्छ ।’
सास फेर्न सङ्घर्ष गर्दैः नेपालमा कोभिड–१९को दोस्रो लहर शीर्षकको ब्रिफिङ्ले नेपालको न्यून श्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि भाइरसले पारेको विनाशकारी प्रभाव र औषधी तथा उपकरणको अभावको कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीहरूले भोग्नुपरेको नतिजाको विश्लेषण गरेको छ । नेपालका अधिकारीहरूद्वारा भएको अहिलेसम्मको अपर्याप्त प्रतिकार्य तथा विशेषगरी देशका सबैभन्दा सीमान्तकृत समूहहरूमाथि महामारीले पारेको गम्भीर प्रभावहरूलाई पनि ब्रिफिङ्ले सम्बोधन गरको छ ।


हालैका महिनाहरूमा कोभिड–१९ द्रूत गतिमा नेपालभर फैलिएको छ र अहिले सातवटै प्रदेशमा व्यापक हुन पुगेको छ । सार्वजनिक स्वास्थ्य विज्ञहरूले मृत्युको सङ्ख्या कम आङ्कलन गरिएको विश्वास गरेकै अवस्थामा समेत सरकारी तथ्याङ्कअनुसार २४ जेठ सम्ममा कोभिड–१९ का कारण ७,९९० जनाको मृत्यु भएको अभिलेख गरिएको थियो जबकी इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले भाद्र १६ गतेसम्ममा मृत्यु हुनेको सङ्ख्या ३४,८८७ पुग्ने प्रक्षेपण गरेको छ । 
एम्नेस्टीले कुराकानी गरेका एक जना स्वास्थ्यकर्मीले उनको अस्पतालको अवस्था ‘युद्धभूमि जस्तो’ रहेको बताएका थिए । अर्का एजनाले भने यो सङ्कट सन् २०१५ अप्रिलमा नौ हजारको मृत्यु र झन्डै २२ हजार घाइते हुनेगरी नेपालमा गएको विनाशकारी भूकम्पभन्दा अझ खराब रहेको बताए । 
दक्षिण एसियाका अन्य देशहरू जस्तै नेपालले पनि खोपको चरम अभावको सामना गरिरहेको छ । २०७८ साल वैशाख २७ गतेसम्ममा नेपालको तीन करोड जनसंख्यामा २५ लाख भन्दा कमले त्यो पनि एक डोज मात्र खोप लगाएका छन् । यो १० जनामा एक जना भन्दा कम हो। कम र मध्यम आय भएका देशहरूलाई खोपको पहुँचमा सहयोग गर्नका लागि अघि बढाइएको एउटा वैश्विक पहलको रूपमा रहेको कोभ्याक्सले आफ्नो प्रतिबद्धता पुरा गर्न सकेको छैन र धनी राष्ट्रहरूले आफ्नो आवश्यकता भन्दा धेरै खोप सञ्चय गरिरहेका छन् । 


‘कोभिड–१९ को यो घातक दोश्रो लहरविरुद्ध लड्न नेपाललाई तत्काल थप खोपको आवश्यकता रहेको छ। चीन र संयुक्त राज्य अमेरिकाले अहिले खोप दिने वाचा गरेका भएपनि यो मात्रै पर्याप्त हुन्न। अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनु पर्दछ र खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि श्रोत साधन र प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नु पर्दछ“, यमिनी मिश्रले भनिन् ।’

यस ब्रिफिङ्गमा २०७८ साल वैशाख १६ देखि जेठ ७ सम्मको अवधिलाई समीक्षा गरिएको छ । कोभिड–१९ को अवस्था नेपालमा दैनिक रूपमा परिवर्तन भइरहेको छ र जेठ पहिलो सातादेखि अभिलेख गरिएको सङ्क्रमण सङ्ख्या जेठ २४ मा आइपुग्दा केही कम हुँदै गइरहेको देखिन्छ। यद्यपि, यस ब्रिफिङ्गमाउल्लेख गरिएका अत्यन्त जरुरी आवश्यकताका कुराहरू नेपालका लागि सान्दर्भिक नै रहने छन् किनभने देशैभर फैलिएको उच्च सङ्क्रमणको भारलाई नेपालले अहिले पनि उसैगरी सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्