श्रमिक आपूर्तिकर्ता दिवस मनाइयो «

श्रमिक आपूर्तिकर्ता दिवस मनाइयो

नेपाल श्रमिक आपूर्तिकर्ता संघले सोमबार आफ्नो प्रथम स्थापना दिवसलाई ‘श्रमिक आपूर्तिकर्ता दिवस’’ को रूपमा मनाएको छ । संघले अबदेखि हरेक वर्ष पुस ९ गतेलाई ‘श्रमिक आपूर्तिकर्ता दिवस’ का रूपमा मनाउने घोषणासमेत गरेको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरी प्रथम स्थापना दिवस मनाएको जानकारी दिएको हो । संघका संस्थापक अध्यक्ष रामेश्वर शाहले नेपालको श्रमबजारबाट विदेशिने नेपालीलाई लक्षित गरेर आफूहरूले यो संस्थालाई सञ्चालनमा ल्याएको जिकिर गरे । “सरकारले व्यवस्था गरेको श्रम ऐनअनुसार नै हामीले सेवा प्रवाह गरिरहेका छौं,” उनले भने ।
संघको तर्फबाट अध्यक्ष शाहको नाममा जारी विज्ञप्तिमा श्रमिक आपूर्तिकर्तामार्फत रोजगारदाताले आफ्नो व्यवसायको मुख्य कामबाहेक अन्य काममा मात्र लगाउन सकिने तथा एउटा ‘कम्पनीले दुई भन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न नपाउने व्यवस्था नागरिकको निर्वाध रूपमा पेशा र व्यवसाय गर्न पाउने संविधानप्रदत मौलिक हक र कर्तव्य प्रतिकूल रहेको सम्बन्धमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहे पनि ऐन र नियमबमोजिम सरकारले आह्वान गरेको इजाजत प्रक्रियामा व्यवसायीहरू एक ढिक्का भएर सहभागी भएको उल्लेख छ ।
सरकार आफूहरूलाई अब श्रमिक आपूर्तिकर्ताको इजाजत दिने तयारीमा रहेको भन्दै उनले अहिले १ सय २४ जना व्यवसायीले इजाजतका लागि निवेदन दिएको बताए । संघको स्थापनाको यो एक वर्षमा आफूहरूले १३ वटा जिल्लामा शाखा सञ्चालनमा ल्याएको पनि अध्यक्ष शाहले जनाए ।
कार्यक्रममा संघका उपाध्यक्ष अजयराज जोशीले आफूहरूले यो एक वर्षको अवधिमा उल्लेख्य काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि संघले आफ्नो स्तरोन्नति र विस्तार गर्नेमा विश्वास दिलाए । महिला व्यवसायी पुष्पाकुमारी कोइरालाले समृद्ध नेपाल निर्माणका लागि व्यवसायी र रोजगारदाताबीच सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
अखिल नेपाल सेक्युरिटी संघका अध्यक्ष घनश्याम ठकुरीले पनि केन्द्रीय संगठनहरू आधिकारिक रूपमा सँगै जान चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्