किसानले तरकारीको उचित मूल्य पाएनन् «

किसानले तरकारीको उचित मूल्य पाएनन्

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिचपुरीका अधिकांश महिला तरकारी खेतीमा व्यस्त छन् । अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि केही वर्ष यता यहाँका महिलाले तरकारी लगाउन थालेका हुन् । अग्र्यानिक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पु-याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानहरूको गुनासो छ । आफूले मेहनत गरेर पनि उचित मूल्य नपाउँदा निकै मर्कामा परेको उनीहरूको भनाइ छ ।
भीमदत्त नगरपालिका बिचपुरीका सिसाली चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी लिएर बेच्न पुग्छिन् । उनी बिहानै करिब ४ किलोमिटर हिँडेर तरकारी बेच्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुग्छिन् । तर, अग्र्यानिक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पु-याउँदासमेत आफूहरूले उचित मूल्य नपाएको उनको भनाइ छ ।
कुनैबेला घरको काम र खेतीपातीमा समय बिताउने चौधरी गाउँमा दातृ निकायबाट तरकारी खेतीको तालिम पाएपछि अन्नखेती छाडेर व्यवसायिक तरकारी खेतीमा व्यस्त छिन् । चौधरीले भनिन्, “बेलुकीतर्फ तरकारी खेतीमा गएर गोडमेल र स्याहारामा बिताउँछु, चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न बजार जान्छु ।”
गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताइन् । “रातभर छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन्,” उनले भनिन्, “तरकारी बचाउन रातभरी जाग्राराम बस्नुपर्ने बाध्यता छ ।” उनले तरकारी खेतीमा महिलाको आकर्षण बढिरहे पनि तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो गरिन् ।
पाँच कठ्ठा जमिनमा तरकारी खेती गरिरहेकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहिँबाट प्रोत्साहन नभएको बताइन् । “गत वर्ष भन्टा बेचेर मात्रै ६० हजार रूपैयाँ आम्दानी गरेँ, तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ,” उनले भनिन्, “तरकारी बिक्रीबाट दैनिक ९ सयदेखि १२ सय रूपैयाँसम्म कमाइ हुने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्