लाहुरेको चिया मोहले बदलियो गाउँ «

लाहुरेको चिया मोहले बदलियो गाउँ

इलाम-बेलायती सेनामा भर्ना भएर लाहुरे भएकाहरू अक्सर नेपाल फर्किदैनन् । फर्के पनि गाउँमा विरलै बस्छन् । तर, देउमाई नगरपालिकाको जितपुरगाउँका सुरेश लिम्बू (लाउरे दाई) दशकदेखि चिया सुम्सुम्याएर बसिरहेका मात्र छैनन् चिया किसानलाई उद्यमको पाठ पनि सिकाइरेहका छन् ।
उनी लक्का जवानीमा बेलायती सेनामा भर्ना भए । २० वर्षको उमेरमा आर्मीमा भर्ना भएका उनले करिब छ वर्ष मात्र त्यहाँ काम गरे । छुट्टीको समयमा घर आउँदा जितपुरमा चियाको सम्भावनाका विषयमा बहस चल्दै थियो । उस बेला बेलायत सेनाको जागिर खाँदा राम्रै कमाई र इज्जत पनि थियो । तर नेपालमा नै केही काम गर्ने सोच बनेपछि उनले जागिर छोडेर चिया सुम्सुम्याउने निर्णय गरे ।
दार्जिलिङमा अध्ययन गरेपछि उनी सोझै बेलायती सेनामा भर्ती भएका थिए । उनले छ वर्ष जागिर खाएर छोडे । अनि जन्मथलो जितपुरमा आएर चिया रोप्न थाले । एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा चिया रोपेका उनले चिया हरियो पत्तिबाट रामै्र आम्दानी लिन थालेका थिए ।
हरियो पत्ति भन्दा पनि चिया नै प्रशोधन गरेर बेच्दा राम्रो कमाई हुने थाहा पाएपछि उनले जितपुरमा नै चिया कारखाना खोल्ने सोच बनाए । कृषि विकास बैंकबाट कर्जा लिएर करिव दुई करोडको लगानीमा कारखाना सुरु गरे । २०५७ सालमा उनले चिया कारखाना सुरु भयो । गाउँलेले चिया लगाउन थाले । मिष्टभ्याली चिया कारखाना खोलेका उनले तीन वर्षपछि कारखानाबाट चिया प्रशोधन गर्न तयार भयो पनि । अनि २०६१ साल वैशाखदेखि नयाँ कारखानामा नयाँ सिजनको चिया प्रशोधन गर्न सुरु पनि गरे ।
सुरुमा चिया प्रशोधन गर्न कारखानाको क्षमता पनि कम थियो । धेरै प्रकारका चिया पनि उत्पादन हुँदैनथ्यो । विजुली गइरहने समस्या उत्तिकै थियो । कारखानालाई थप मजबुत बनाउने सोच भइरहेका वेला करिव पाँच वर्ष अघि उन्नती समावेशी बृद्धि कार्यक्रमले चिया उद्यमीलाई सहयोग गर्ने खवर सुने र कारखाना सञ्चालन गरिरहेकै अवस्थामा उन्नतीमा प्रस्ताव पेश गरे ।
उन्नतीले उनको चाहना र काम गर्ने जाँगर बुझेपछि साझेदारीमा चिया कारखानालाई थप मजबुत बनाउन काम अगाडि बढायो । हार्डवेर र सफ्टवयरको कामका लागि संयुक्त कार्यक्रम २ करोड ५९ लाख रूपैयाँको काम सुरु भयो । कार्यक्रमअन्तर्गत भवन निर्माण र आवश्यक अत्याधुनिक उपकरण खरिद गर्नु थियो । सफ्टवयरअन्तर्गत किसानलाई तालिम दिने, गोठ सुधार गर्नेलगायतका कार्यक्रम थिए । तयारी चिया बन्न थालेको लामो समय पछि भए पनि उनले धेरै प्रकारका चिया निर्माण गर्न सफल भए ।
उन्नतीसँगको सहकार्यपछि उनले हरियो चियापत्ती सुकाउन इन्जाइमर, लिफ्ट कन्भटर, आरनट पक्का सटर, टि ब्रेकर, टि ब्याक प्याकेजिङ, डिप प्युरिङ मेसिन, चिया संकलनका लागि ट्रक, १२५ केभीए र ४० केभीए का दुईवटा जेनेटरलगायतका १८ प्रकारका सामग्री गरिद गरिएको सञ्चालक लिम्बूले बताए । उन्नतीकै सहयोगमा लिम्बूले ग्रीन टि निर्माण गर्न एउटा भवनसमेत निर्माण गरेका छन् । चियालाई आइएसओ मापदण्डअनुसारको सरसफाइको व्यवस्थासमेत गरिएको छ ।
चिया उत्पादन भए पनि गाउँका भित्रि सडकमा सवारी पुग्न नसक्दा चिया संकलन गर्न समस्या भइरहेको वेला उन्नती समावेसी परियोजनाले गाग्रेभन्ज्याङ, जितपुर, सोयाक चिसापानी सडकले थप टेवा पुगेको उनले बताए । हाल उन्नतीसँगै सहकार्य गरेर खरिद गरेको ट्रकमा नै चिया संकलन भइरहेको छ । कारखानाले जितपुरभित्र रहेका चार वटा सहकारीका किसान कारखानामा आवद्ध रहेका चिया उत्पादन गरिरहेको उनले बताए । किसानको उत्पादन अग्र्यानिक प्रमाणीकरणको काम पनि अघि बढेको उनले बताए ।
गोठ सुधार कार्यक्रमअन्तर्गत ४३ किसानले पशुको मल मूत्र व्यवस्थापनमा सहयोग पाए । उनीहरूले कार्यक्रमअन्तर्गतको प्रतिगोठ १० हजार रूपैयाँ पाए ।
गोठ सुधार कार्यक्रमले अग्र्यानिक बाटोमा हिँड्नसमेत सहयोग पुगेको किसानहरूले बताएका छन् । ३ सय ५३ जना किसानले हाल लिम्बूले सञ्चालन गरेको कारखानामा चिया बिक्री गर्दछन् । ती मध्ये हाल एक सय किसानले उत्पादन गरेको चियाले अग्र्यानिक प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आवश्यक ग्रीन टी निर्माण गर्न र प्याकेजिङका लागि उन्नती समावेसी परियोजना आफ्ना लागि निकै फलदायी बनेको सुरेशले बताए । “दुई वर्षपछि गर्ने सोच बनाएको काम एकै वर्षमा पुरा गरियो,” उनले भने, “ग्रीन टी हाल भारतसहित डेनमार्क, अस्ट्रेलिया, युरोपलगायतका देशमा जान थालेको छ ।”
गत वर्ष प्रतिकिलो ५२ रूपयाँमा बिक्री भएको चिया यस वर्ष ६० रूपैयाँ प्रतिकिलोमा बिक्री भएको किसानहरू बताउँछन् । चियाको प्रतिकिलो ८ रूपैयाँ भाउ बढ्नु पनि ठूलै उपलब्धिका रूपमा लिइएको छ । अग्र्यानिक प्रमाणीकरण, कारखानाको क्षमता विस्तार, मूल्यवृद्धि, धेरै प्रकारका चिया उत्पादनमा उन्नतीको सहयोग आफ्ना लागि ठुलो अवसर भएको सञ्चालक सुरेश बताउँछन् ।

टिका खतिवडा

प्रतिक्रिया दिनुहोस्