कोरोना संक्रमित नागरिकलाई सेवा दिँदै स्थानीय सरकार

कोरोना भाइरस (कोभिड–१९) दोस्रो भेरियन्ट तीव्र रूपमा फैलिरहँदा तेह्रथुमका स्थानीय तहले नागरिकलाई विभिन्न सेवादिँदै नियन्त्रणमा जुटेका छन् । दुई नगरपालिका र चार गाउँपालिकाले आफ्ना नागरिकलाई निषेधाज्ञाको समयमा विभिन्न सेवादिँदै आएको जनाएका छन ।
लालिगुराँस नगरपालिकाले नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवाप्रवाह गर्दै आएको नगरपालिकाका उपप्रमुख तिला पोख्रेलले बताइन् । गाउँ टोलसम्म संक्रमण फैलिन नदिनका लागि नगरप्रमुख अर्जुन माबोहाङसहित स्वास्थ्यकर्मीको टोलीले टोलटोलमा पुगेरै एन्टिजेन परीक्षण गर्दै आएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकामा १२ बेडको अक्सिजनसहितको आइसोलेसन बेड तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराजन श्रेष्ठले बताए । त्यस्तै छथर गाउँपालिकाले स्वास्थ्य, खानेपानी, खाद्यान्न र उपचारका लागि सवारी साधनलगायतका आफ्ना नागरिकलाई निषेधाज्ञाको समयमा घरघरमा सेवा दिँदै आएको जनाएको छ । पालिकाले नागरिकको समस्यालाई मध्यनजर गर्दै घरघरमा सेवादिने भएको हो । भाइरसको संक्रमण देशैभरि तीव्ररूपमा फैलिरहेकाले निषेधाज्ञाको पालना गर्न आग्रह गर्र्दै आफ्ना नागरिकलाई घरघरमै सेवादिँदै आएको गाउँपालिकाका सन्तोष तिगेलाले बताए । संक्रमण नियन्त्रणका लागि मेन्छ्यायेम गाउँपालिकाको सीमा इलाकामा सुरक्षाको व्यवस्था कडाई गर्दै बाहिरबाट आएका मानिसलाई निग्रानीमा राखी होम आइसोलेनमा सुरक्षित राख्दै आएको र अन्य बाहिरबाट आउने मानिसलाई बाहिर नै बस्न आग्रह गर्दै स्थानीय पनि बाहिरी क्षेत्रमा नजान आग्रह गरेकाले नियन्त्रणमा आएको अध्यक्ष यादव खापुङले बताए । गाउँपालिकाले संक्रमणको बेला सुरक्षा कडाई गरेका कारण अहिले कोरोना संक्रमित शून्य भएको जनाएको छ । म्याङ्लुङ नगरपालिकाले नगरप्रमुख सवार गाडीसहित तीनवटा गाडी नागरिकलाई निःशुल्क रूपमा सेवादिँदै आएको नगरप्रमुख सन्जय तुम्बाहाङफेले बताए ।
नगरपालिकाको वडा वडारुमा नगरप्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गर्दै आएका छन् । आर्थिक रूपमा विपन्न नागरिकलाई आर्थिक सहयोगसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ । त्यस्तै आठराई गाउँपालिकाले गाउँपालिकाको केन्द्रमा रहेको संक्रान्ती सामुदायिक भवनमा १० बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गरेको छ । स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन एन्टिजेन जाँचको दयरा बढाइएको छ । संक्रमितहरू आइसोलेनमा राखी उपचार गर्दै आएको गाउँपालिकाका प्रमुख विष्णुविक्रम कन्दङ्वाले जानकारी दिएका छन् । फेदापगाउँपालिकाले नागरिकलाई टोलटोलमा एन्टिजेन जाँचगर्दै आएको प्रवक्ता नविनचन्द्र चोङबाङले बताए । संक्रमितलाई सुरक्षित रूपमा होम आइसोलेन रहनआग्रहगर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १० बेडको आइसोलेन बेड तयारी गरी र दुई बेडको अक्सिजनसहितको बेड रहेको प्रवक्ता चोङबाङले जानकारी दिए । लालिगुराँस नगरपालिकामा दुई ना, म्याङलुङ नगरपालिकामा १ सय ४८ जना छथर गाउँपालिकामा ३१ जना फेदापमा ९१ आठराई गाउँपालिकमा ४७ जना गरी जिल्लामा ३ सय १९ जना सकृय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लामा ८ जनाको कोरोनाका कारण मृत्यृ भइसकेको छ । जिल्लामा कोरोना भाइरसलाई समुदायस्तरमा फैलिन नदिनका लागि गत जेठ ७ गतेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । प्रशासनले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै असार ७ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिएका छन । जिल्ला अस्पतालमा १० बेडको अक्सिजनसहितको आइसोलेन बेडको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।