सुदूरपश्चिमको बजेट २८/२९ अर्बको आउने «

सुदूरपश्चिमको बजेट २८/२९ अर्बको आउने


चालु आर्थिक वर्षका लागि झण्डै साढे ३३ अर्बको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट २८ अर्बमा सीमित हुने भएको छ ।
संघीय सरकारबाट पाउने समानिकरण अनुदान र विशेष अनुदान घट्नुका साथै चालु आर्थिक वर्षको बजेटमा बचत कम हुने भएकाले सुदूरपश्चिमको बजेट घट्ने भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ बजेट २८ देखि २९ अर्बको बीचमा आउने छ ।
मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले चालु आर्थिक वर्षको बजेट डेढदेखि दुई अर्ब मात्रै बच्ने देखिएको छ । गत वर्ष लकडाउन हुँदा विकास निर्माण पनि रोखिएको हुनाले करिब १० अर्ब ५७ करोड रुपैयाँ बचत भएको थियो । तर यस वर्ष लकडाउनमा पनि विकास निर्माणको काम जारी रहेकाले बजेट खर्च ९० प्रतिशतभन्दा बढी हुने साउदले बताए ।
उनका अनुसार सबै भन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजन हुनेछ । सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई आठ अर्ब ४३ करोडको बजेट सिलिङ पठाए पनि चालु आर्थिक वर्षको बजेट भन्दा निकै कम हो । चालु वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा साढे ११ अर्ब रुपैयाँको बजेट छ ।
पहिलो प्राथमिकता स्वास्थ्यले पाएको हुनाले त्यसपछि ठूलो बजेट स्वास्थ्यमा हुने छ । स्वास्थ्यको बजेट बढेको ह्ुनाले सामाजिक विकास मन्त्रालयले पाउने बजेट गत वर्षको भन्दा बढ्ने साउदले बताए । यस वर्ष सामाजिक विकास मन्त्रालयलाई चार अर्ब ४५ करोडको बजेट सिलिङ पाएको छ । यो चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै डेढ अर्ब कम हो ।
यसैगरी चालु आर्थिक वर्षमा पहिलो प्राथमिकता पाएर बजेट दोब्बर पारिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब ३४ करोडको सिलिङ पाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई एक अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ३१ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन् ।
आर्थिक मामिला मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य इकाइहरु र स्वास्थ्य संस्थाको बजेटबाहेक सबै बजेट चालु वर्षको भन्दा कम हुने भएको छ । संघबाट पाउने अनुदान नबढेको र चालु आर्थिक वर्षमा बजेट थोरै बच्ने भएकाले स्रोत संकुचन भई बजेट घट्न पुगेको सूचना अधिकारी साउदले बताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि आठ अर्ब ५४ करोड ४० लाख रुपैयाँ समानीकरण, चार अर्ब १९ करोड ३३ लाख रुपैयाँ सशर्त, ६१ करोड ३५ लाख रुपैयाँ विशेष र एक अर्ब २२ करोड ९४ लाख रुपैयाँ समपुरक अनुदान दिने भएको छ । नेपाल सरकारबाट सुदूरपश्चिमले १० अर्ब ६३ करोड १७लाख चालु र तीन अर्ब ९४ करोड ८५ लाख पुँजीगत गरी जम्मा १४ अर्ब ५८ करोड दुई लाख रुपैयाँ अनुदान पाउने छ ।
यसैगरी, प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ८० करोड, केही राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँडबाट प्राप्त रकम र चालु वर्षको बजेट वचतलाई समावेश गरी प्रदेश सरकारले बजेट निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्