नयाँ पेट्रोल पम्प खोल्न इजाजत दिइँदै «

नयाँ पेट्रोल पम्प खोल्न इजाजत दिइँदै

नयाँ खुल्ने पम्पमा उपभोक्तालाई सहज ढंगबाट सेवा उपलव्ध गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

नेपाल आयल निगमले अत्याधुनिक प्रविधिसहित सुरक्षा मापदण्ड अपनाइएका नयाँ पेट्रोल पम्प खोल्न इजाजत दिने तयारी गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर आधुनिक प्रविधिसहितका पम्प खोल्ने गृहकार्य अघि बढाएको हो । पेट्रोल पम्पलाई व्यवस्थित समय अनुकूल बनाउन बिक्रेता विनियमाली संशोधन गरी नयाँ पम्प खोल्न लागिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हाल भइरहेका पम्प मापदण्डअनुरूप नभएकाले पनि मापदण्ड अनुरूपका पम्प खोल्ने तयारी गरिएको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्प खोल्न लागिएको जानकारी दिए । नयाँ खुल्ने पेट्रोल पम्पलाई अत्याधुनिक प्रविधिसहित थप सुरक्षाका मापदण्डको व्यवस्था गरिएको उनले बताए । निगमले भइरहेका पम्पलाई स्तरोन्नति गरे पनि २०६८ सालदेखि नयाँ बिक्रेतालाई अनुमति दिएको थिएन । हाल बिक्रेता विनियमालीमा भएको व्यवस्थालाई खुकुलो बनाएर निगमले आधुनिक प्रविधिसहितका नयाँ पम्प खोल्ने प्रक्रिया अगाडि बढाएको छ । नयाँ खुल्ने पम्पमा उपभोक्तालाई सहज ढंगबाट सेवा उपलव्ध गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरिने छ । उनका अनुसार नयाँ पेट्रोल पम्प खोल्नका लागि मुख्य राजमार्गमा १० कट्ठा, सहायक राजमार्गका लागि आठ कट्ठा र गामीण क्षेत्रका लागि ६ कट्ठा जमिन हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी हाल सञ्चालनमा रहेका पम्पलाई सुरक्षामैत्री बनाउन लागिएको छ । पुरानो विनियमावली व्यवहारिक नभएकाले संशोधन गरेर समसामयिक बनाइएको उनले जानकारी दिए । “विनियमावली संशोधन गरेर सञ्चालक समितिमा पेश गरिएको छ,” प्रवक्ता गोइतले भने, “विनियमावली पास भएपछि नयाँ पम्प खोल्ने सूचना सार्वजनिक गर्छौं ।”
यसअघि निगमले चार कट्ठा जग्गामा बिक्रेतालाई अनुमति दिँदै आएको थियो । काठमाडौंमा भने एक रोपनी आठ आना जग्गामा पम्प सञ्चालन गर्न अनुमति दिने गरिएको थियो । इन्धनको मागअनुसार चारदेखि १० कट्ठासम्म जग्गाको क्षेत्रफल गराउन लागिएको निगमले जानकारी दिएको छ । यस्तै राजमार्गलगायतका अन्य ठूला ठाउँमा आधा विघासम्म जग्गामा पम्प स्थापना गर्ने तयारी गरिरहेको छ ।
नयाँ खोल्ने पम्पलाई क्षेत्र, बजार, आवश्यक खपत, सडकको स्तरअनुसार वर्गीकरण गरिने छ । नयाँ खुल्ने पेट्रोल पम्पले अनिवार्यरूपमा अत्याधुनिक प्रविधिसहित युनिट खडा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । २०६५ सालअघि छाना नभएका पम्प कति छन् भनेर अध्ययन गरिरहेको निगमले जानकारी दिएको छ । पहिला भएको सुरक्षाको मापदण्डअनुरूप छन् की छैन भनेर अनुगमन गर्ने काम पनि भइरहेको निगमले जनाएको छ । निगमका अनुसार पछिल्लो समयमा सडक सञ्जाल विस्तारका तुलनामा पेट्रोल पम्पको संख्या निकै कम भएकाले सर्वसाधारणले इन्धन खरिद गर्न १० देखि २० किलोमिटर दूरी तय गर्नुपर्छ । निगमका अनुसार विनियमावलीमा अहिले पम्पलाई चार प्रकारमा बाँडेर वर्गीकरणसम्बन्धी मापदण्ड थप्न लागिएको छ । यसअनुसार पूर्व–पश्चिम राजमार्ग, व्यापारिक सडक, गाउँ तथा नमूना पम्प छन् । निगमका अनुसार पूर्व–पश्चिम राजमार्गमा पम्प सञ्चालन गर्न कम्तिमा १० कट्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा आठ कट्ठा, गाउँमा सञ्चालन गर्न ६ कट्ठा र नमूना पम्पका लागि २० कट्ठा जग्गा हुनुपर्ने मापदण्ड बनाउन लागिएको छ । पम्पमा जडान हुने सफ्टवेयरलाई निगमको सफ्टवेयरसँग जडान गर्न मिल्ने सिस्टम राख्नुपर्ने, पार्किङको सुविधा, फायर फाइटिङ, दक्ष कर्मचारी, शौचालय, विश्रामगृहलगायत अनिवार्य गर्न लागिएको छ ।
यसअघि २०७३ मा विनियावली संशोधन गरेर अत्याधुनिक सुविधासहितको नमूना पेट्रोल पम्प खोल्न मापदण्ड थपिएको थियो । यसअनुसार यो पम्प सञ्चालन गर्न पहाडी क्षेत्रमा पाँच रोपनी र तराईका क्षेत्रमा कम्तिमा एक बिघा जग्गा अनिवार्य हुनुपर्ने अव्यवहारिक नीति थप गरेको थियो । यस्ता पम्पका हकमा बैंकको एटीएम काउन्टर, रेफ्रेसिङ सेन्टरसहित आराम गृह, अपांगमैत्री शौचालय, सपिङ मल, रेस्टुराँ, हरियालीसहित ठूलो पार्किङ, सवारीसाधन मर्मत केन्द्र र बाटोको सुविधा हुनुपर्ने मापदण्ड बनाइएको थियो ।
निगमका अनुसार एउटा पेट्रोल पम्प सञ्चालन गर्न १० करोड रूपैयाँ लाग्छ । पम्पको अनुमति लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले व्यहोर्नुपर्ने व्यवस्था छ । हाल मुलुकभर १ हजार ५ सय ५२ वटा पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्